राजेश हमाल काण्ड : जात, इसाई लगानी र अभिनेता

राजेश हमाल काण्ड : जात, इसाई लगानी र अभिनेता



भीम उपाध्याय


राजेश हमालको एक पेशेवर अभिनेता हुन् । उनी कायर्क्रम प्रस्तोता पनि हुने गर्छन्, मोडेलिङ पनि गर्छन् । यी सबै उनको पेशा हो, जीविकोर्जनको मेसो हो । सबैले गरेरै खाने हो । उनले पनि अरूले जसरी आफ्नो काम गरेर खाएका छन् । हामीले पैसा तिरेर मनोरञ्जन बदलामा पाएका छौँ । उनको अभिनय लाखौँलाई मन पर्छ । जनताले उनको कार्यक्रम हेरेर मान सम्मान दिएका छन्। हाम्रो नाता एक कलाकार र दर्शकको मात्र हो । उनको जीवन समाज सेवा, समाज परिवर्तनका अभियान वा अन्य समाज परिवर्तनमा आफै लागेका पाटाहरू केही छन् कि छैनन् त्यो चर्चामा त्यति आएको देखिँदैन ।

अहिले विवादास्पद चर्चा उनबाट प्रस्तुत गराइएको जातको प्रश्न टिभी कार्यक्रम बन्न पुगेको छ। उनले त्यसमा काम गरेका हुन्, करार गरेर पैसा लिएका हुन्, अभिनय गरेका छन् र त्यो अभिनयले मनोरञ्जन पनि दिएको होला ।

तर प्रश्न मनोरञ्जनमा हैन, विषय, प्रायोजन र प्रस्तोताप्रतिको उच्च सम्मान दाउमा लागेकोमा देखिन्छ।

जात के हो ? कार्यक्रममा लगानी कसको ? प्रस्तुतिमा उनले रोजगार गरेका हुन् कि उनले विश्वास वा मिशन हो ? यसमा चर्चा गरिनुपर्ने देखिन्छ । त्यो उनले राम्ररी बुझेर गरेका हुन् कि प्रायोजकका लागि रोल खेलिदिएका हुन् ? यसको उत्तर उनका शुभचिन्तकहरूले खोजिरहेका पनि देखिन्छन् ।

रामायणमा सीताको भूमिका खेल्ने अभिनेत्रीलाई कतै कुनै पार्टीमा लगाएको भड्किलो देखिने लुगामा देखेर उनलाई सीता माता ठान्नेहरूले नै खेदो गरेका थिए । अभिनय भनेको नाटकमा भूमिका खेलेको हो, रियल हैन भन्ने नबुझ्ने को हुन्छन् र ? तर पनि मानिसले कसैलाई कसरी आदर्श मानेर मनमा गढ्दो रहेछ, सीताको भूमिका गर्ने अभिनेत्रीले भोग्नु परेको थियो । पेट पाल्न गरेको कामलाई आदर्श मान्न थाल्यो भने त्यसले समाजमा नैतिक समस्या खडागरिदिन्छ भन्ने यो एक नमूना हो ।

समाजमा ब्राह्मण भनेको पढ्ने पढाउने, अध्यात्म चिन्तन गर्ने, बैज्ञानिक खोज गर्ने समूह हो जसले बौद्धिक काम गर्छ ।

क्षत्रीय भनेको राजकाज, प्रशासन, मुलुकको रक्षा, शान्ति सुरक्षा, अमनचय कायम गर्ने वर्ग हो ।

वैश्य भनेको ब्यापार गर्ने, उद्योग चलाउने, वितरण गर्ने, गाउँगाउँ घुमेर, लामो यात्रा गरेर उपभोक्ता र उत्पादकबीचको सेतुको काम गर्ने वर्ग हो।

शुद्र भनेको शारीरिक परिश्रम गर्ने, खेती गर्ने, औजार बनाउने, कलात्मक चिजहरू बनाउने वर्ग हो ।

समाजमा यी चारै वर्ण आफ्नो पेशामा आधारित हुन् । कसैलाई अर्को पेशा गर्न मन भए, गर्न जानेको भए गर्न पाउने स्वतन्त्रता छ र थियो । विश्वमा अहिले पनि यिनै ४ वर्ण छन् ।

तर, यहँ कतै कुनै जातपातको प्रश्न नै थिएन र अहिले पनि छैन। कार्यक्रममा जातको प्रश्नको प्रश्न रहनु नै अर्थहीन हो ।

सनातन पद्दतिमा सबै वर्णलाई समाजमा महत्व दिइएको छ । जातको कुनै कुरै थिएन र छैन । काम आफ्नो रूचिअनुसार गर्न पाइन्थ्यो र अहिले पनि पाइन्छ।

जात के हो ? यो प्रश्न नै हैन । जात पहिचान हो । सबै आफ्नो पहिचानका लागि संघर्ष गरिरहेका हुन्छन्। जातमा कसैले प्रश्न गर्ने विषय नै हैन । जे–जे छ, छ । त्यही उसको समाज नाताकुटुम्ब र वंशको पहिचान हो, आत्मसम्मान हो। सबै जातमा अनेक उपजात रहेको पाइन्छन् । त्यो पहिचानकै खोज हो । पहाडी जनजातिमा झन् धेरै उपजात पाइन्छन् । दलितमा सयभन्दा बढी थर वा टाइटल वा उपजात पाइन्छन् । नेवारी समुदायमा सयौँ जातीय पहिचानका थरहरू छन् । के यी समस्या हुन् ? ठाउँ, पूर्खा, जराको खोज मानवजातिका अध्यात्मिक खोज हुन्, बौद्धिक हैन ।

कोही पनि पहिचानविहीन भएर समाजमा रहन चाहन्न, खोज्दैन । आफ्नो पहिचानको जगेर्ना आफैले गर्ने हो । हिन्दू वर्ण ब्यवस्थामा गोत्र प्रणाली हुन्छ। चारै वर्णमा उही गोत्र हुन्छन् । गोत्र हाम्रा सुरूवाती पुर्खा को थिए भन्ने पहिचान हो ।

जातको प्रश्न पराया परिभाषा वा ब्याख्या हो । हाम्रो सभ्य, सुब्यवस्थित, समृद्ध समाजलाई होडल्ने दुष्प्रयास हो। पहिचान छाड्न सकिन्न अर्थात जात त्याग्न सकिन्न । आफ्नो पहिचानमा गर्व गर्ने कसरी ? त्यसमा सोचिन्छ । म म हुनुमा नै गर्व छ। यसको सम्बर्धन प्रमुख कुरा हो र हुनुपर्छ।

हामीलाई हाम्रो पहिचान सिकाउन के पराया धर्मप्रचारक संस्था र तिनको पैसा लिनैपर्ने भएको हो ? इसाई मिशिनरी समता फाण्डेशन र क्रिष्चियन एडको पाउ मल्न परेको किन ?

राजेशलाई राजेश बनाएर यत्रो सम्मान दिएको जनताले हो कि हिन्दू मास्न जन्मेका पराया धर्मप्रचारकले हो ? राजेशले यी सबै बुझेर गरेका हुन् कि पेशा मात्र गरेका वा नाटक खेलेका हुन् ?

विस २०२० मा लागू भएको नयँ मुलुकी ऐनले छुवाछुत प्रथा हटाएको हो । आज ६ दशकपछि किन यही कुरालाई उचालिन्छ ? प्रष्ट छ, विभिन्न आवरणमा इसाईकरणको एजेन्डाले जरा गाड्न खोजेको छ । नायक राजेशलाई यसमा ‘निमित्त नायक’ बनाउन खोजिएको देखिन्छ ।

अनर्गल वादविवाद गरेर, आरोप प्रत्यारोप गरेर, कसैलाई दोष देखाएर, विगतलाई कोसेर, पहिलेका तत्कालको उत्तम समाज एवं अर्थ ब्यवस्थालाई धारे हात लगाएर वा बाहुनक्षेत्रीउपर फोहरी वचन बोलेर, विश्वका डेढ अर्ब हिन्दुहरूलाई होच्याएर समाधान हैन, समस्या झन् बल्झिने मात्र हुन्छ । समाजका सबै जातजाति, वर्गको सहयोगबिना समाजमा जरा गाडेको सयकडौँ वर्षदेखिका खराब रितीरिवाजमा कुनै सिन्को भँच्न सकिँदैन । त्यसका लागि समाजका चौतर्फी वर्ग र कथित उच्च जात र धार्मिक समुदायका अगुवाहरूको साथ उत्तिकै अपरिहार्य हुन्छ। समाज सुधारका अभियान सडकमा थाल ठटाएर वा मिडियामा गफ हानेर कहिल्यै संभव हुदैन। फिल्डमा सबैको मन छुँदै, मन जित्दै खट्नुपर्छ। जबरजस्ती हुने भएको भए जातीय लिंगीय विभेदविरूद्ध सुरू गरिएको १० वर्षे जनयुद्धले भइसकेको हुने थियो, तर खोई त ?

कलाकार राजेश हमालले जातको कुरा कार्यक्रम गर्न पारिश्रमिक लिएर करार गरेका हुन् । करार गरिसकेर पछि हट्दा वा करार तोड्दा क्षतिपूर्ति दिनुपर्छ । ठेक्का लिएका हुन् । छुवाछुत हटाउन फिल्डमा उत्रेका पात्र हैनन् । उनी नेपालीले सम्मान दिँदै माया पाएका एक सफल अभिनेता हुन् ।

त्यसैले उनले पनि बुझ्नुपर्ने हो, कुनै पनि साध्य सही भएर साधन सही भएन भने त्यसको विकृति झन चर्को हुन्छ, बुमेराङ हुन्छ । यो हाम्रो शास्त्रीय मान्यता हो। मेरो विनम्र सुझाव छ, अब राजेश हमाल त्यो विवादास्पद प्रायोजित धार्मिकता र जातीय सद्भावलाई विगार्नमा लक्षनिहित जस्तो कार्यक्रमबाट पछि हट्नु ठिक हुनेछ। सबै जनताको मनमा रहिरहने यो राम्रो विकल्प हो। उनको मानमा कुनै कमी नआओस्, मेरो त कामना मात्र हो ।

चाहे अमिताभ बच्चन होस् वा नेपाली अमिताभ राजेश हमाल- ती कलाकार मात्र हुन्, अभिनयकर्ता हुन्, ती पैसा लिएर नै कार्यक्रम गर्छन् । तिनका जीविकोपार्जन गर्ने खेति अभिनय हो । तिनका नाटकमंचन वा अभिनयबाट दर्शकले भरपूर मनोरंजन लिने हो। त्यो भन्दा बढी महत्व दिएर पेशेवर कलाकारसँग आदर्शको अपेक्षा गर्नु तिनीहरूमाथि अन्याय हुन जान्छ । कलाकारको रोजीरोटी दर्शक वा स्रोताको आकर्षण र मायाले चल्ने हो। जनताको माया पाउनुभन्दा त्यसलाई निरन्तर कायम राखिराख्नु सक्नु कठिन काम हुन्छ ।


(सामाजिक सञ्जालमा उपाध्यायको पोष्ट)