जनम जनम लिएर आए स्वतन्त्र प्रताप

जनम जनम लिएर आए स्वतन्त्र प्रताप



राजन घिमिरे


शैक्षिक परामर्शको क्षेत्र र कलाकारितासँगै समाजसेवामा समेत लागिपरेका ब्यक्ति हुन् स्वतन्त्रप्रताप शाह । गैरआवासीय नेपाली संघसंग विभिन्न पदमा रहेर प्रवासमा रहनुहुने नेपालीहरूसँग हातेमालो गर्दै अगाडि बढेका शाह नेपाली सिनेमाका नायक हुन् ।

फेसबुक र मेरो भ्यालेन्टाइन नामक चलचित्रका नायक स्वतन्त्रप्रतापलाई सिनेमाको पर्दामा मात्र नभइ सामाजिक कार्यमा सहभागिता र गैरआवासीय नेपाली संघको उठबसले पनि सर्वप्रिय व्यक्तित्व बनाइदिएको छ । सकारात्मक सोच, सहभागिता र सक्रियताका कारण पनि हिरो नै लाग्दछन् उनी ।

लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका स्वतन्त्रप्रतापले प्रवासी जीवनमा पनि नेपाली कलाकारितालाई छाडेका छैनन् । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै उनले आफूसँगै अष्ट्रेलियाका विभिन्न शहरमा हुने नेपाली सांस्कृतिकलगायत कार्यक्रमहरूमा पनि सहभागिता जनाउँदै आइरहेका छन् । एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख शाहलाई अब जनम जनम बोल रहेको गीतको म्यूजिक भिडियोमा देख्न पाइने छ ।

चर्चित गायक कमल खत्रीको आवाज रहेको यो गीतको भिडियोको छायांकन अष्ट्रेलियाको क्विन्सल्याण्डका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ । यो भिडियोको निर्देशन राजु कानले गरेका हुन् । भिडियोमा स्वतन्त्रप्रताप शाह सशक्त रूपमा उभिएका छन् भने महिला मोडलको रूपमा कृतिमा श्रेष्ठ रहेकी छिन् ।

कलाकारितामा लामो यात्रा तय गरेका शाहले जीवनमा नै पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन् । ‘हुन त पहिला पनि अफर आएको थियो तर त्यतिबेला समय अनुकूल नहुँदा काम गर्न पाइएन । अहिले आएर साइत जुऱ्यो’- शाहले भने । अब राम्रा गितहरूबाट प्रस्ताव आएमा म्यूजिक भिडियोहरूमा पनि सक्रियता बढाउँदै लैजाने जानकारी पनि उनले दिए ।

दशैँको अवसर पारेर यो भिडियो गायक कमल खत्रीको यूटुब च्यानलबाट बजारमा आउँदै छ ।