विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पोखरेलबाट खोसियो रक्षा मन्त्रालयको कार्यभार

विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पोखरेलबाट खोसियो रक्षा मन्त्रालयको कार्यभार



लामो समयदेखिको आमचासोलाई चिर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी सुम्पिनुभएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पौडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा पौडेललाई नियुक्त गर्नुभएको हो ।

युवराज खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको थियो भने अर्थका कामकारवाही अवरुद्धजस्तै बन्न पुगेको भनी गुनासो बढेको थियो ।

अर्थमन्त्रीका रुपमा सुरेन्द्र पाण्डेको समेत चर्चा चले पनि प्रधानमन्त्रीले पौडेलप्रति नै लचकता दर्शाउँदै आउनुभएको अनुभूति गरिएको थियो ।

प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर उपप्रधानमन्त्रीमा मात्र सीमित गरिदिनुभएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयमले लिनुभएको छ ।

यसका साथै प्रधानमन्त्रीले शहरी विकास मन्त्रीको जिम्मेवारी नेकपा सांसद कृष्णगोपाल श्रेष्ठलाई प्रदान गर्नुभएको छ ।

आज (२८ असोज) गरिएको मन्त्रिमण्डल पुनर्गठनमा लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ भने हालसम्म सो मन्त्रालय सम्हाल्दै आउनुभएका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।