जन समर्थन एकातिर अवसरजति माओवादीतिर !

जन समर्थन एकातिर अवसरजति माओवादीतिर !


जनताको समर्थन एकातिर र अवसर जति अर्कोतिर भएपछि चितवन जिल्लाको नेकपाभित्र कुनै पनि बेला विद्रोहको सम्भावना देखापरेको छ । शेरबहादुर देउवालाई मिलाएर भरतपुर महानगरको मेयर पद प्रचण्डले आफ्नी सुपुत्री रेणुको नाममा हात पार्न सफल भए पनि जनमतका दृष्टिले चितवन ‘माओवादी’का निमित्त कमजोर भूमि मानिन्छ ।

‘एमाले’को साथ–सहयोगमा प्रचण्डले चितवनबाट सांसद पद हात पार्नुभएको छ । पार्टीको जिल्ला अध्यक्ष माओवादी पट्टिकालाई बनाइएको छ भने प्रेस सङ्गठनको जिल्ला अध्यक्ष पनि माओवादीलाई नै दिइएको छ । त्यस्तै पार्टीको युवा सङ्घको जिल्ला अध्यक्ष र भरतपुर अस्पतालको अध्यक्ष पनि माओवादीसमर्थकलाई जिम्मा लगाइएको छ ।

यस्तै, नेपालको प्रतिष्ठित कृषि विश्वविद्यालय (रामपुर)को भीसीसमेत माओवादी समर्थकलाई बनाइएको छ । जबकि स्थानीय निर्वाचनमा काङ्ग्रेससँग सहकार्य गर्दा पनि माओवादीलाई निकै कम मात्र स्थानमा विजय हासिल भएको थियो ।

भरतपुर महानगरको २९ मध्ये १४ वटा वडामा एमाले विजयी बन्दा माओवादीले तीन वटा मात्र वडा हात पारेको थियो । माडीका नौ वटा वडामध्ये एमाले ५ र माओवादी ३ वटामा विजयी बनेको थियो । रत्ननगरको १५ मध्ये एमालेको विजय नौवटा वडामा भएको थियो भने उक्त नगरपालिकाको एउटै वडामा पनि माओवादी विजयी बन्न सकेको थिएन । रत्ननगर मात्र होइन, राप्ती, खैरहनी र कालिकामा पनि माओवादी शुन्यमा रहेको छ । राप्तीमा एमालेले १३ मध्ये ११ वटा वडामा, खैरहनीका १३ वडा मध्ये ७ वटामा, कालिकाको ११ वडामध्ये ६ वटामा विजय हात पारेको थियो । इच्छाकामनाको ७ मध्ये एउटा वडामा माओवादी विजयी भएको थियो, जहाँ एमालेले ३ वटा वडा हात पारेको छ ।

भनिन्छ, भरतपुरको टिकौली जङ्गलपूर्व माओवादीले एउटै वडामा पनि आफ्नो वडाअध्यक्ष बनाउन सकेको छैन । यसरी जनमत कम भए पनि महत्वपूर्ण जिम्मेवारी र अवसर भने माओवादीलाई मात्र उपलब्ध गराइएको छ । त्यसैले त्यहाँ कुनै पनि बेला विद्रोहको सम्भावना देखिएको छ ।