बेहोश हुनै लागियो सरकार !

बेहोश हुनै लागियो सरकार !


बबिता बस्नेत

२०७७ साल असोज २१ गते बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको अपडेट दिने क्रममा सर्वसाधारणलाई बेहोश हुन लागे या भएपछि मात्रै अस्पताल जान भन्नुभएको थियो । कोभिड–१९का कारण अस्पतालहरू सङ्क्रमितले खचाखच भएको जानकारी दिँदै बेहोस भएपछि अस्पताल आउनका लागि उहाँले गर्नुभएको आह्वानलाई आश्चर्यजनक मानिएको थियो, मानिएको छ । मुलुकमा सामान्य अवस्थामा हुनुपर्ने गतिविधि बन्द भएपछि मानिसले आज कति जनालाई कोरोना भाइरसले आक्रमण गरेछ, कतिको मृत्यु भयो भनी दिउँसो चार बजे नेपाल टेलिभिजन हेर्न थालेको सात महिना भयो । मुलुक ‘लकडाउन’मा हुँदा होस् या नहुँदा नेपाल टेलिभिजनमा आउने स्वास्थ्य मन्त्रालयको ‘प्रेस ब्रिफिङ’ नै नागरिकका लागि सूचनाको एक मात्र माध्यम बन्यो, बनिरहेको छ । विगत २४ घण्टामा कहाँ–कहाँ कति मानिसहरू सङ्क्रमित भए, कतिको मृत्यु भयो लगायत कोभिडसम्बन्धी स्वास्थ्य मन्त्रालयका विभिन्न निर्णयहरू मन्त्रालयका प्रवक्तामार्फत दिने गरिएको छ । केही अघिसम्म मानिसहरू स्वास्थ्य मन्त्रालयको उक्त जानकारी सुन्नका लागि पर्खिएरै बस्थे, तर हिजोआज प्रवक्ताका कुरा सुन्दा सुन्दै बेहोश भइने हो कि भन्ने डरले प्रत्येक्ष प्रेस ब्रिफिङ सुन्ने, हेर्नेहरूको सङ्ख्या घट्दै गएको छ ।

‘सरकारले जनहितमा जारी गर्ने कोरोना विशेष जानकारी आफैंमा गलत होइन तथापि प्रवक्ताज्यूको बोल्ने शैली, लवज र विरोधाभाषपूर्ण प्रस्तुतिले झन्–झन् अवज्ञा गर्ने निम्त्याइरहे जस्तो लाग्छ..’, कृषिविज्ञ तथा अधिकारकर्मी यमुना घलेले केही दिन अघि सामाजिक सञ्जालमा लेखेकी थिइन् । उनले प्रवक्ताले भनेका के–के कुराबाट मानिसमा ‘इरिटेसन’ भएको छ भन्ने फेहरिस्त नै राखेकी छन् । जसमा दक्षिणा पाइन्छ भनेर टीका लगाउन नघुमौँ भन्नेदेखि वृद्धवृद्धासँग टीका लगाउन नजाऔँ हुँदै हामी गुच्छा खेलेर बसेका छौँ र ? भन्ने कुरासम्म छन् । जुन कुरा धेरै मानिसको मनमा खड्किएको थियो ।

केही अघिसम्म मानिसहरू स्वास्थ्य मन्त्रालयको जानकारी सुन्नका लागि पर्खिएरै बस्थे, तर हिजोआज प्रवक्ताका कुरा सुन्दा सुन्दै बेहोश भइने हो कि भन्ने डरले प्रत्येक्ष प्रेस ब्रिफिङ सुन्ने, हेर्नेहरूको सङ्ख्या घट्दै गएको छ ।

सरकारका प्रवक्ताले दिन खोजेको सन्देश आफैमा नराम्रा होइनन् तर प्रयोग गर्ने भाषा, लवज, बडी ल्याङ्ग्वेज जस्ता कुराले मानिसलाई ती कुराहरू लागु गर्ने भन्दा पनि ‘के बोलेको होला यस्तो’ भन्ने बनाइरहेको छ । वृद्धवृद्धासँग टीका लगाउन नजाऔँ भन्नुको अर्थ उहाँहरूलाई सुरक्षित राखौँ भन्न खोजिएको हो तर जुन भाषा प्रयोग गरियो त्यसले वृद्धवृद्धा स्वयम्लाई भने हामी पो रोगको संवाहक हौँ कि भन्ने महसुस गराउँछ । सरकारले सर्वसाधारणलाई आह्वान गर्ने कुनै पनि कुरामा सम्बन्धित पक्षलाई के–कस्तो असर या प्रभाव पार्ला, उनीहरूले यो कुरालाई कसरी लेलान् ? भनी सोच्नुपर्ने हुन्छ । उक्त आह्वानले वृद्धवृद्धाको मनमा के पर्छ ? राष्ट्रिय टेलिभिजनमा सरकारको यस्तो कुरा सुन्दा उनीहरूको मनोविज्ञान कस्तो होला ? भन्ने संवेदनशीलता अपनाएको पाइएन । यस्ता धेरै सन्दर्भहरू छन् जहाँ सम्बन्धित पक्षले कसरी लेला भनेर ध्यान दिएको पाइँदैन ।

कोभिड–१९ को प्रवेशसँगै मानिसले धेरै कुरा गुमाएका छन् । कतिको जागिर गएको छ, कतिको ब्यापार ब्यवसाय ठप्प भएको छ । कतिमा ऋणको बोझ थपिएको छ त कतिले आफ्ना निकटवर्ती गुमाएका छन् । हेर्दा ठिकै जस्तो देखिए पनि मानिसहरूमा ब्यापक निराशा छाएको छ । के गरुँ कसो गरुँ, कहाँ जाउँ कसलाई भनुँ भन्ने छटपटीमा मानिसहरू रहेका बेला सरकारबाट हुने आह्वानहरू कम्तिमा सर्वसाधारणलाई आशा जगाउने खालका हुनुपर्छ । हाम्रो सन्दर्भमा सरकारमा रहेका पदाधिकारीहरूको बोली यति रुखो हुने गरेको छ कि मानौँ उनीहरू शासक हुन र शासितहरूलाई आदेश दिइरहेका छन् ।

मुलतः पद र विषयगत ज्ञानको हिसाबले सरकारका विभिन्न निकायमा प्रवक्ताहरू तोक्ने गरिन्छ । कुनै पनि प्रवक्तामा विषयगत ज्ञानसँगै भाषा प्रयोगमा संवेदनशीलता र मिजासिलोपन हुन आवश्यक मानिन्छ । कोरोनाको राष्ट्रिय अध्यावधिक विवरणका कारण अहिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता चर्चित बनेपनि प्रवक्ता सबै मन्त्रालय तथा महत्वपूर्ण निकायहरूमा हुन्छन् । सूचना तथा सञ्चारमन्त्रीले सरकारको प्रवक्ताका रूपमा मन्त्रिपरिषद्को ‘अपडेट’ दिने गरेकाले सर्वसाधारण कतिलाई प्रवक्ता सरकारले तोकेका निश्चित ठाउँमा मात्रै हुन्छन् कि भन्ने लागेको पनि हुन सक्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट पछिल्लो समयमा आउने गरेका आदेशात्मक मन्तब्यहरू सुनेर कतिले यो पङ्क्तिकारसँग पनि प्रवक्ताको पद र कामका बारेमा सोधेका थिए ।

प्रवक्ताहरूले प्रायः मिडियासँग सम्पर्क गर्नुपर्ने र पत्रकार सम्मेलनहरू ‘फेस’ गर्नुपर्ने भएकाले अनुभवी र मिडियामैत्री, मिडियाले कुनै पनि कुरा सोध्न सक्ने हुँदा ‘इरिटेट’ नभइकन ती प्रश्नका जवाफ दिन सक्ने, कमाण्डिङ र मिजासिलो मानिसलाई प्रवक्तामा नियुक्त गर्ने गरिन्छ । अहिले स्वास्थ्य मन्त्रालयले दिने गरेकोे कार्यक्रम ‘प्रेस ब्रिफिङ’ भनिए पनि ढाँचा पत्रकारले प्रत्येक्ष प्रश्न उत्तर नगरी प्रस्तोताले आफ्ना कुरा राखेर सकिन्छ । प्रेसका लागि मात्रै आयोजना गरिएको नभई सबैका लागि सूचना तथा जानकारी दिने भएकाले यसलाई प्रेस ब्रिफिङ नभनेर ‘कोभिड–१९ को बारेमा जानकारी’ मात्रै भने पनि हुन्छ ।

हेर्दा ठिकै जस्तो देखिए पनि मानिसहरूमा ब्यापक निराशा छाएको छ । के गरुँ कसो गरुँ, कहाँ जाउँ कसलाई भनुँ भन्ने छटपटीमा मानिसहरू रहेका बेला सरकारबाट हुने आह्वानहरू कम्तिमा सर्वसाधारणलाई आशा जगाउने खालका हुनुपर्छ ।

सामान्यतया प्रवक्ताको काम जानकारी दिने हो निर्देशन होइन । तर स्वास्थ्य मन्त्रालयको ब्रिफिङमा निर्देशनको भाषा प्रयोग गर्ने गरिएको छ । जसले सर्वसाधारणमा ‘यो मान्छे को हो हामीलाई यसो भन्ने ?’ भन्ने भाव पैदा गराइदिन्छ । अहिलेका प्रवक्ता आफ्नो पेशामा असाध्यै राम्रो ब्यवसायिक ब्यक्तित्व हुनुहुन्छ होला तर बाहिरबाट हेर्दा उहाँको विज्ञता र स्थान मेल खाएजस्तो देखिन्न । उहाँ प्रवक्तामा आएपछिको पहिलो दिन पत्रकार यशोदा अधिकारीले बोलीको कुरा गर्दै सामाजिक सञ्जालमा ‘स्टेटस’ लेखेकी थिइन् । जवाफमा यो पङ्क्तिकारले डाक्टरसा’बहरूको सार्वजनिक रूपमा बोल्ने बानी कम हुन्छ, यति चाँडै टिप्पणी नगरौँ भनेकी थिएँ । खासमा सरकारमा बस्नेहरूको बोलीलाई अनुगमन गर्ने हो भने माहो नै यस्तो छ कि उहाँलाई मात्र दोष दिनुको अर्थ पनि देखिँदैन । आफू सत्तापक्ष र नागरिक प्रतिपक्ष झैँ गरी उहाँहरूका भनाइहरू आउने गरेका छन् । प्रधानमन्त्री (कहिलेकाहीँ), मन्त्रीहरू, सल्लाहकारहरू सबैको भाषा, लवज, बडी ल्याङ्ग्वेज उस्तै लाग्छ । त्यसमा अहिले मन्त्रालयका प्रवक्ता थपिएका मात्रै हुन् ।

गृहमन्त्रीले बलात्कारको सवालमा हामीकहाँ सङ्ख्या कम छ, अन्यत्र हेरी स्थिति राम्रो छ भन्न मिल्थ्यो ? सरकारका प्रवक्ता रहेका बेला डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गऱ्यो होला मलाई थाहा छैन भन्न हुन्थ्यो ? कोरोनासङ्क्रमतिले लोकसेवा दिन नपाउने निर्णय सरकारले गर्न हुन्छ ? अहिले यतिका धेरै सङ्क्रमितहरू थपिएर बिरामीले अस्पतालमा बेड नपाइरहेको बेला सरकारमा बस्नेहरूबाट नागरिक सहयोगको अपिलसहित सबैलाई होशपूर्वक पाइला चाल्नका लागि आह्वान गर्नुपर्ने होइन र ?

यो मुलुकमा सरकार छ भन्ने कुराको महसुस जनताले के आधारमा गर्ने ? स्वास्थ्य प्रवक्ताले बेहोश हुन लागेपछि अस्पताल जानु भन्नुभएको छ तर हामीले हेर्दा त सरकारले गरेका कामहरू र बोलीको प्रयोग होशमा गरिएका छैनन् । पछिल्लो चरणमा सरकारले होशमा गरेका दुइ वटा काम हुन्– एउटा एसिड अपराधमा उपचारसहित कडा कानूनको ब्यवस्था र अर्को आयुर्वेदिक उपचारमा संलग्नलाई बोलाएर प्रधानमन्त्रीबाट प्रोत्साहन । यद्यपि कतिपय आयुर्वेदवालालाई मेडिकल माफियासँग मिलेर स्वास्थ्य मन्त्रालय मातहतकै निकायले दुःख दिइरहेको अवस्था पनि छ । बेहोशीको अर्थ अचेत हुनु मात्र होइन कुनै पनि काम होशपूर्वक गरिएन भने त्यो बेहोशी हो । कोरोनाले भन्दा बढि जनता ठाउँको ठाउँ बेहोश हुने काम र बोलिबचन सरकारका तर्फबाट आइरहेका छन्, जुन बेहोशीको उपचार अस्पतालले गर्न सक्दैन ।