‘एनआरएन अभियानभित्र रुपान्तरणको बहस आफैंमा क्रान्तिको शुरुवात हो’

‘एनआरएन अभियानभित्र रुपान्तरणको बहस आफैंमा क्रान्तिको शुरुवात हो’


  • डिल्ली अम्माई

(अनुभव/अनुभूति)

एनआरएनएको क्षेत्रीय बैठकहरुमा एनआरएन अभियानलाई संस्थागत शक्तिमा रुपान्तरण गर्ने मुद्धाले यसपटक वैधानिकता पायो । खै के सोचेर हो, पंक्तिकारलाई समेत अन्तर्राष्ट्रिय मिडिया समितिको सदस्यमा केही केन्द्रिय पदाधिकारीले ल्याउने प्रस्ताव गरेछन् । गुलामी प्रवृत्तिले मात्र स्थान पाइरहेको परिप्रेक्ष्यमा मलाई प्रस्ताव गरिनु आफैंमा चकित पार्ने कुरा थियो । केहिले विरोध त गरिहाल्ने भए, गरेछन्, तर केहीले डिल्ली जस्ता आलोचनात्मक मान्छेको संगठनमा आवश्यकता देख्नु राम्रो कुरा भयो भनेछन् । कसैकसैले त ‘ऊ ल्याइनु र उसको रुपान्तरण एजेण्डाको मर्मलाई संगठनको एजेण्डा बनाइनु क्रान्ति नै हो’ पनि भनेका रहेछन् । कारण जेसुकै होस् मिडिया समितिमा मलाई ल्याइयो, गज्जब नै लाग्यो । मेरो निष्कर्षमा भन्नुपर्दा एनआरएनए अभियानले भविष्यको बाटो क्लियर गर्नुपूर्व विगतको दासता चुँडाल्न कमसेकम यो समिति सफल भएको छ भन्नैपर्ने हुन्छ । त्यसमा पुरानो प्रभावका केही छिटफुट असर देखिए पनि मूलभुत रुपमा अभियानले रुपान्तरणको तयारि कोर्ष पूरा गर्दै छ भन्दा अत्युक्ति नहोला ।

अझै पनि आलोचनात्मक चेतसहितको सुझाव वा प्रतिक्रियाबाट साथीहरु तर्सिन्छन् । झन् एनआरएनएका अभियन्ताहरु बढी नै तर्सिन्छन् । सबैले फेवर खोज्ने चलन छ तर मेरो विचारमा त्यो राम्रो प्रवृति हैन । अब संगठनभित्र क्रमशः आलोचना सुन्ने बानी पर्दैछ कि भन्ने आभस हुन थालेको छ । शुरुशुरुमा त कुटपिटमै उत्रिन खोजेझैँ गरेर थर्काउँथे, अचेल त्यस्तो अचाक्ली छैन ।

एक आइसीसी मित्रले बताएअनुसार नियुक्तिको विषयमा साथीहरुलाई मेरो एउटा अनुभव बाँड्न खोजेँ । रोचक कुरो छ । एनआरएनए आइसीसी मिडियाको युरोप कोअर्डिनेटरमा नेतृत्वका केही मित्रहरुले मेरो नाम प्रस्ताव गरेछन् । तीन जनाबाट ‘डिल्लीलाई कुनै हालतमा आइसीसीको मिडियामा ल्याउनु हुन्न’ भन्ने कुरा आएछ । खुबै रस्साकस्सी मच्चिएछ । जे होस् केन्द्रले त्यति ठुलो अवरोध हुँदा पनि मलाई ल्यायो । अझै केही मान्छेहरुले मलाई केन्द्रमा ल्याएकोमा प्रसन्नता ब्याक्त गर्न सकिरहेका छैनन् ।

त्यस्तै युरोपियन मिटिङमा समेत मेरोबारे गाइँगुइँ कुरा भएको सुनेँ । बहसभित्रको बहस हुँदा सेसनहरुमा समेत यसलाई सहभागी गराउनुहुन्न भन्नेकै बहुमत भएछ । केही साथीले अनौपचारिक छलफलमा समेत ‘यसले हुर्मत लिन्छ कुनै पनि समितिमा छिर्न दिन हुन्न’ भन्ने नै रहेको साथीहरुले सूचना दिएका थिए । तर शिव सरले संचालन गरेको बहसमा मलाई ल्याइयो । नत्र खासै रुचिचाहिँ थिएन ।

एनआरएनएमा रुपान्तरण अभियानबारे बहस गर्न यो निर्वाचनको लगत्तै निर्वाचित अध्यक्ष कुमारजीलाई पत्र लेखेरै मैले अनुरोध गरेको थिएँ । यो भनिरहँदा केहिले भन्न सक्छन्, यो त अघिल्लो कार्यकालदेखि आएको मुद्धा हो । हो, शेष घलेको कार्यकालमा सुधार गर्ने (भिजन २०२० एन्ड बियोन्ड) कुरा पास भएको हो, तर ठ्याक्कै रुपान्तरणकै मुद्धा आएको हैन । पत्रकारहरुमध्ये धेरैले नेतृत्वको चाकरी गरिरहे र हरेक सम्मेलन र बैठकको अगाडी ‘महान’ र ‘भब्य’ शब्द राखेर समाचार बनाइरहे। मैले त्यो परम्परालाई रोकेर रुपान्तरणको बहस चलाएकै हो । बेलाबेला सुझाव माग्दा मनमा लागेको कुरा खुलेर राख्ने गर्छु । त्यसैले आँफूसँगै आएको रुपान्तरणसँग ठोक्किँदा मैले आफूलाई कहीँ न कहीँ अपनत्व जस्तो महसुस गरेको पनि छु ।

अहिले नेतृत्वमा भएका केही अग्रजहरुले ‘आलोचना गर्न नडराउने पत्रकार चाहियो तपाईं आउनुस’ भनेर मलाई भनेकै हुन् । घाँटी जोडेर गाला चाट्ने भन्दा खाना र काम दिएर गाला चड्काउने मान्छे खोज्नु कनकमणिलाई बीपीले खोजेझैँ हो भन्ने लागेर अन्तर्राष्ट्रिय मिडियामा रही आलोचनात्मक सुझाव दिने हैसियत बनाएको छु ।

यो हैन कि मैले कुमारजीलगायत बहालवाला नेतृत्वलाई सम्मान नै गर्दिनँ । गजबले हृदयदेखि श्रद्धा गर्छु र त यो कालमा एनआरएन अभियानबारे मैले सबैभन्दा बढि आलोचनात्मक समीक्षा लेखेँ। उहाँमद्ध्ये कसैको शर्तको पालना गर्न गुलामीको तेल घसेर यो अभियानमा आएको पनि हैन। प्रस्ताव राखेर शर्तहरुको पुलमा टेक्दै आएको पनि हैन । रुपान्तरणको अभियानमा जोड्न नेतृत्वले मलाई निःशर्त ल्याएको हो ।

यो हैन कि कुमारजीको टिमले रुपान्तरण अभियान बेगर ल्याएको भए बसिरहन्थेँ । सायद म अभियानबाट निस्की सकेको हुन्थेँ । म हेर्दा सोझो भए पनि स्वाभिमानी छु। यहाँ प्रमाणको लागि चुनावताकाको एउटा उदाहरण बताउँदा पर्याप्त होला कि जस्तो लाग्छ । मलाई चुनावताका नेपाल जान कुमारजीले निकै अनुरोध गर्नुभएको थियो । कुलजी, राम दाइ, लोकजी र शिवजीलगायतले पनि ‘जाउँ’ भन्नुभएको हो । मैले त्यो बेला दिएको एउटै जवाफले उहाँहरुले दोहोर्‍याएर मलाई एनआरएनए अधिवेशनमा जान अनुरोध गर्नुभएन। ‘मित्र, जुन स्थानमा मानिसको स्वाभिमानलाई बस्तुलाई झैँ मूल्य तोकेर खरिद बिक्री गरिन्छ, त्यो स्वाभिमानलाई बली दिने कसाइ घरमा म कदापि जान्न ।’ मैले साथीहरुलाई भनेको वाक्य नै यही थियो । त्यसैले म कसैको स्वाभिमानको बली दिइने स्थानमा जाँदिनँ र झुक्किएर गएपछि पनि फर्कन बेर लगाउँदिनँ ।

अझै केही साथीहरुले तपाईं एनआरएन मिडिया समितिमा नजानुपर्ने, एनआरएन अभियानमा नजोडिनुपर्ने पनि भन्दैछन् । तर त्यसो भन्ने मित्रहरुले किन त्यसो भन्दैछन्, मलाई राम्रोसँग थाहा छ। उनीहरुमध्ये धेरैले एनआरएनएको स्थानीय चुनावमा हारेका थिए । साथीहरुका कुनै पद पाए भुइँको टिप्नसमेत पछि नपरेका धेरै उदाहरण छन् हामीसँग । भोट हाल्दा पद र पैसाको शर्त राखेर भोट हालेका छन् । अहिले पद नपाएकोले नै अभियानले संस्थागत रुपान्तरणमा फड्को मार्दै गर्दा एकोहोरो विरोध गरिरहेका छन् । अभियानले संगठनमा रुपान्तरण गर्दै गर्दा के गर्नु पर्थ्यो भन्दा बोल्दैनन् तर नीतिगत, संरचनागत, प्रक्रियागत र आर्थिक पद्धतिलाई रुपान्तरण गर्ने सबै कुरामा उनीहरुको रुन्चे विरोध देखिन्छ । त्यो प्रवृत्ति गलत यस मानेमा हो कि उनीहरुले यस अभियानलाई संगठित शक्ति हुन दिन चाहन्नन् । विरोध गरेपछि त्यसको विकल्प दिन सक्नुपर्छ । त्यो खासै भेटिएको छैन ।

भोलिको निष्कर्षमा भन्नुपर्दा समेत मेरो राय एजेण्डाप्रधान नै हुने छ । नेतृत्वमा कुलजी, बद्रीजी वा अन्य कोही आए पनि एजेन्डा हेरेर समर्थन, सहयोग वा विरोध हुने छ । ब्यक्तिप्रति पूर्वाग्रही हुने प्रवृत्तिले संस्था वा अभियानलाई नोक्सान पुर्‍याउँछ। अहिले आएका रुपान्तरणका एजेन्डाले केही अभियन्ता तर्सेका हुन् कि जस्तो देखिँदै छ । केही साथीहरु हड्बडाएका हुन् कि डराएका हुन् मुख फुङ्ग उडेको जस्तो देखिँदै छ । रुपान्तरण भनेको संगठनको अधिरचनाभित्र हुने समग्र क्रान्ति भएकोले कोही पनि त्यसरी डराउनु भएन ।

मैले यो एजेन्डाबारे छलफल गर्दा ‘तपाईं सफल हुनुभयो’ भनेर अध्यक्षलाई भनेको थिएँ । अझै भन्दैछु- ‘रुपान्तरणको एजेण्डागत प्रवेशलाई हेर्दा तपाईंको कार्यकाल सफल भैसक्यो जस्तो लाग्छ कुमारजी ।’ केही आस्थाकर्मीहरुले झण्डाको रंग हेरेर समर्थन र विरोध गर्ने जुन स्वभाव देखाउँदै छन्, त्यो काइदा विरोध वा समर्थनको लागि त्यति राम्रो हैन कि ? अब कसैले तपाईंको आशुरिकरण वा देवत्वकरण गर्न जरुरी छैन । किनभने यो कार्यकालमा ल्याइएको रुपान्तरणका मुलभुत मुद्धाभित्र शेष घलेको कार्यकालमा ल्याइएको संस्थागत सुधारको योजना समेत छिरेको छ । अब यो अभियान संगठनको रुपमा रुपान्तरण हुने तरखरमा छ ।

एउटा कुरो के ठोकेर भन्न सकिन्छ भने अब चाहेर पनि कसैले रुपान्तरणको एजेन्डाबाट पछाडी फर्कने आँट गर्न सक्दैन । यो तपाईंको कार्यकालको महत्वपुर्ण सम्पत्ति हो। पुर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२० एन्ड बियोन्ड’को सुधार एजेन्डामा टेकेर यो एजेन्डा आयो । त्यो एजेन्डा केवल संरचनाप्रधान थियो भने अहिलेको एजेण्डा समग्र संगठनात्मक गतिको रुपान्तरणमा आधारित छ । नेतृत्वमा रहेकाहरु निरन्तर यही अभियानमा हिँड्ने यात्री भएकोले उहाँहरुका अत्याधिक गल्तिहरु हुन सक्छन् । त्यो स्वाभिक कुरा ह, तर पनि निर्णायक आँटले सबै गल्तीहरुलाई निषेध गर्ने छ।

तर कसैले उहाँहरुको राजिनामा मागेका कुराहरु पनि सुन्नमा आए । अध्यक्ष वा महासचिवको राजीनामा मागिएको छ रे भन्ने हल्ला चलाइयो ! आरोपमा ‘चुनावहरुमा भोटरको किनबेच स्वीकारियो’ भन्ने कुरा आयो । गल्तिको ढाकछोप गर्ने भन्दा गल्तीबारे पश्चाताप गर्ने मान्छे महान हो । त्यो गल्ती स्वीकारेर चुनावी पद्धतिमा रुपान्तरण गर्न खोज्दा नेतृत्वलाई स्याबासी दिनुपर्ने थियो । तर खै गल्ति स्वीकार नगर्नेलाई राम्रो र गल्ती स्वीकार गरेर विकल्पसहित आउनेलाई खेद्ने प्रवृत्ति सहज निकासको लागि सहयोगी हुन्न होला ।

अर्को डिल्लीले संगठनको निर्मम समीक्षामा ‘कैँची हैन बन्चरो चलाउँछ, त्यसैले संगठनमा ल्याउनु हुन्न’ भन्ने प्रवृत्ति पनि त्यहीमध्येको हो भन्ने सुनेको छु । म त कसैको विवादित अभियानहरुमा जान्न भनेको हो । तर तपाईंहरु मिलेर मलाई ल्याउनुभयो । खै ! त्यसले मलाई सकारात्मक रुपमा हेर्ने केहीलाई राम्रै लाग्यो होला तर केहीलाई राम्रो नलागेको बुझेको छु । मैले केन्द्रका केही अग्रजहरुलाई भनेको पनि थिएँ, ‘अझै एनआरएनएभित्र हाम्रो स्रोत, साधन र संरचना बदलिएन । समयानुकुल संरचना बदलिएन भने संस्थाले काम गर्न सक्दैन । साथसाथै हामी कहाँ जाने हो, संस्थालाई कसरी लैजाने हो भन्ने प्रष्ट दृष्टिकोण पनि चाहिन्छ । ती लक्ष्य पूरा गर्न संरचना र कार्यक्रम पनि फेर्नुपर्ने भएकाले रुपान्तरणको प्रस्ताव सँगै तपाइलाई ल्याउनुपरेको हो ।’ उत्तर यहि थियो, र मैले सहमति जनाएको पनि सत्य हो ।

अहिले कुमार सरलगायतको नेतृत्व डायस्पोराको सत्तापक्ष जस्तै हो, त्यसैले समर्थन भन्दा आलोचना बढि हुनु स्वाभाविकै होला । तर रुपान्तरणको एजेन्डा ल्याएर विरोधको लागि कुरि बसेकाहरुको निद हराम गर्ने तपाईंमाथि अस्वाभाविक आक्रमण हुनु हुँदैन भन्ने लाग्छ । एजेन्डा तपाईंले कसैको प्रभावबाट ल्याए पनि आफैं ल्याए पनि रुपान्तरणको यो एजेन्डा संगठनमा अति आवश्यक थियो । यो लागु गर्न सबैको निःशर्त सहयोग आवश्यक छ । अहिले ल्याएका एजेन्डाले एनआरएन अभियानलाई संगठनमा रुपान्तरण गर्ने हुँदा एनआरएनएभित्र हुने सबैले केही कार्यभार पूरा गर्नुपर्ने हुन्छ । त्यसका केही कार्यभार बुँदागत राख्ने प्रयास गरिएको छ-

१. रुपान्तरणको मर्म र कार्यभारबारेको बहसलाई केन्द्रदेखि तलसम्म तीव्र बनाउने ।

२. मिडियासँगको अन्तरसम्बन्ध र अन्तरविरोधलाई समाधान गर्न प्रत्येक समन्वय परिषदको अनियमितता र अपारदर्शिताकाबारे मिडियाकर्मीलाई वार्षिक रिपोर्ट तयार पारी क्षेत्रीय सम्मेलनमा पेश गर्न लगाउने । यसले मिडियाकर्मीको अनुसन्धान गर्ने क्षमताको विकास हुनुको साथै एनआरएनसँगको सम्बन्ध स्थापित हुन्छ । यसले संगठन र प्रेशद्वारा दोहोरो सुचनाको प्रभावकारी प्रवाह हुन्छ र केन्द्रले हरेक राष्ट्रिय समन्वय परिषदबारे यथार्थ ज्ञान हासिल गर्दछ । अनुसन्धान गरेर लेख्न नसक्ने पत्रकार साहित्यतिर बियाँलिञ्छन् ।

३. समन्वय परिषदमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहनको नीति बनाउने ।

४. रुपान्तरणपूर्व र रुपान्तरणपछिका कार्यभारबारे नीति निर्माण गर्दै जाने ।

५. अनियमितता हुने स्थानमा निर्मम प्रहार गर्ने । उम्मेदवारले उधारोमा सदस्यता आफै बनाएर चुनावमा प्रयोग गर्ने पद्धतिले स्थानीय स्तरको आर्थिक अनियमितता मौलाएको थियो । बेल्जियमको सवालमा सदस्यताको रकम बहालवाला टिमले प्राप्त गरेको छैन र केन्द्रले पाउने पैसा अझै नपुगेकोले ताकेता पत्रहरु आइरहेको वर्तमान अवस्थामा यसको विकल्प खोजिनु अन्यथा हैन । यसले भ्रष्ट्राचार हुने स्थानमा होस् उड्ने गरी हिर्काए पनि स्थानीय आर्थिक श्रोतको विकल्प दिन सकेको छैन ।

अन्तमा गल्ती अभियानको क्रममा पनि हुन्छन् र संगठन निर्माणको क्रममा पनि हुन्छन् । त्यसैले गल्तीबाट डराएर अभियानबाट तर्कने वा तर्सने काइदा पनि राम्रो हैन । सिक्दै अघि बढ्नुको विकल्प छैन । अन्जान गल्तीबाट हुने सिकाइले सुधार र सुधारहरूको गुणात्मक जोडले संस्था वा ब्याक्तिको रुपान्तरण हुने हो । तर के कुरा सत्य हो भने गल्तिको आभाष हुँदाहुँदै सुधार्ने प्रयत्न गरिएन भने त्यो गल्ति नभएर नियत बन्न पुग्छ । नियत कदापि सुधार्न सकिँदैन र त्यसले अन्ततः संस्थालाई धरासायी बनाउदै लाग्छ। त्यसैले नेतृत्वले रुपान्तरणको अभियानलाई परिणाममुखी बनाउन इमान्दारिताका साथ लागोस् र एनआरएनएको अभियानलाई डायस्पोराको एक विश्वासिलो र शक्तिशाली संगठन बनाउन कुनै कसर बाँकी नराखोस् । अस्तु ।

बेल्जियम