प्रवासमा शिशुसँग हजुरबा-हजुरआमाको उपस्थिति कति आवश्यक ?

प्रवासमा शिशुसँग हजुरबा-हजुरआमाको उपस्थिति कति आवश्यक ?


■ आचार्य प्रभा, कोलोराडो (अमेरिका)

हुन त मैले कुनै गहन विषय रोजेको छैन मेरो लेखनीमा । विषय साधारण भए पनि म सधैं ब्यवहारिकतालाई मनन गरेर लेख्ने प्रयास गर्छु, जुन अनुसन्धानको विषय नहुन पनि सक्छ । तर यो अनुभवको विषय भने अवश्य हो । पक्कै पनि यस्ता विषय मानवीय जीवन र ब्यवहारमा अपरिहार्य हुन्छ नै, जुन हामी भोगिरहन्छौँ, भोगिरहेनेछौँ बाँचुन्जेल ।

आजको मेरो विषय छ– ‘विदेशमा बस्ने नेपाली बालबच्चाको निम्ति घरमा पाको उमेरका हजुरबा, हजुरआमा हुनु कति आवश्यक छ ?’

यो मेरो विदेश बसाइको पन्ध्रवर्षे अनुभव हो । जे म देखिरहेछु र बालबच्चाहरूले भोगिरहेछन् त्यही जस्ताकोतस्तै यहाँ प्रस्तुत गर्न गइरहेको छु । जो–केही पनि विदेश अर्थात् अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, हङकङ जहाँसुकै किन नपसुन्, केहीबाहेक धेरैजसोले राम्रो र ठुलो ठाउँमा प्रवेश पाएपछि आफ्नो देश फर्कने इच्छा कमै राख्छन् । उनीहरू उक्त देशकै स्थायित्व पाउने प्रयासमा जुट्दछन् । कतिको प्रयास सफल हुन्छ भने कति असफल पनि हुन सक्छन् । असफलताको अपवादलाई छाडेर धेरैजसो नेपाली विभिन्न देशका विभिन्न राज्यहरूमा स्थापित भएका छन् ।

यस्तै क्रममा धेरै युवा–युवतीहरू बसेको स्थानमै विवाह बन्धनमा बाँधिन्छन् भने कतिले स्वदेशबाट नै आफ्ना जोडी भित्र्याउँछन् । अनि उक्त ठाउँमै आफ्ना सन्तानको जायजन्म गराउँदछन् । प्रायजसो विदेश पसेकाहरू श्रीमान्–श्रीमती नै काम गर्छन् । यसो हुँदा उनीहरूले आफ्ना बाल–बच्चालाई भनेजस्तो समय दिन सक्दैनन् वा समयको पावन्दीले उनीहरूलाई बाँधेको हुन्छ र विदेशको नियमअनुसार १२ वर्षभन्दा मुनि उमेरका बालबालिकालाई घरमा एक्लै छाड्नु गैरकानुनी रुपमा लिइन्छ । यसैले स–साना बालबालिकाको सुरक्षाको लागि पनि घरमा कोही अभिभावकको उपस्थिति हुन जरुरी छ । यस्ता धेरै बाध्यताहरू छन् विदेशमा जीविकोपार्जन गर्ने प्रवासी नेपालीहरूका लागि ।

यी त भए बाध्यता र कर्तब्यका कुरा, अब कुरा गरौँ आफ्नै धर्म–संस्कार, भाषा र चालचलनहरूको बारेमा । प्रवासमा जुन परिवारमा मसिना बालबच्चा हुन्छन् त्यस्ता परिवारमा सम्भव रहेसम्म र परिवारको सहमति भएसम्म आफ्ना बुबा–आमा जो उमेर ढल्के पनि सक्षम हुन्छन् र सकेसम्म अरुको सहारा लिनु नपर्नेसम्म उमेर भएका श्रीमान् वा श्रीमती जुनैतर्फको भए पनि आफ्ना आमा–बुवा ती बालबच्चाहरूसँग साथै भएमा ती बालबच्चाले आफ्नो भाषा, संस्कार र नातागोताको पहिचान ठम्म्याउन सक्छन् । बुढाबुढीबाट केही धर्म–संस्कार सिक्ने अवसर पाउन सक्छन् । तर स्वयम् उनीहरूका मम्मी–बाबाले त्यस्तो इच्छा राख्नु पर्‍यो र आफ्ना बालबच्चाले आफ्नो देशको स्मृति मानसपटलमा राखोस्, देशको संस्कार बुझोस् अनि आफ्ना हजुरबा–हजुरआमालाई चिन्ने प्रयास गरोस् भन्ने चाहना राख्नु पर्दछ । जस्तै भए पनि घरमा बुढाबुढी हुनुको रमणीय क्षण छुट्टै हुन्छ नत्र त विदेशमा सबैजना ब्यस्त कि घरमा ताल्चा मार्नु पर्‍यो र काममा लाग्नु पर्‍यो कि त आफ्ना बालबच्चालाई बेबी कियरमा छाड्नु पर्‍यो । कि बेबी सिटरको जिम्मा लाउँनु पर्‍यो । भरै घरबाट फर्किंदा अँध्यारो उदाङ्गो कोठा खोल्यो खुइय्य स्वास छाड्यो अनि घरको खानापिनमा जुट्यो । न थकाई, न गलाई भन्न पाइयो न आफ्ना बालबच्चालाई मनको माया दिने समय भयो । कमसेकम घरमा आफ्नो अभिभावक भए केही राहत हुन्छ, तर यो सहजता हुनु र कल्पना गर्नुमा पनि फरक छ । भनिन्छ नि– केटाकेटी र बुढाबुढी नभएको घर सुनसान खण्डहर झैँ लाग्छ !

हुन त म पनि विदेश बसाइको अनुभवमा साना स्कुले बालबालिकाहरूको अनुभव बटुलेकी मान्छे त होइन, तर यसोउसो छरछिमेकी, इष्टमित्रको परिवारमा देख्दा, बुझ्दा यस्तो केही देख्ने–बुझ्ने मौका पाएकी हुँ । तर आफ्ना निजी अनुभवचाहिँ साना र २–३ वर्षकी नातिनीहरूबाट भर्खर शुरु हुँदैछ । विदेशमा हुर्केका बालबालिकाहरू डे कियर÷स्कुल नगइन्जेलसम्म र घरमा आमारबुवा नेपाली बोल्ने छन् भने नेपाली बोल्न सक्षम हुन्छन् तर जब शिशुहरू डे केयर र स्कुल जान थाल्दछन् अनि उनीहरूले बिस्तारै नेपाली बोल्न छाड्दै जान्छन्, किनकि उनीहरू त्यहीँकै वातावरण र बोलीचालीमा घुलमिल हुन्छन् । यो समयमा घरमा आमा–बुबासँग थोरै र स्कुलमा धेरै समय बिताउनु पर्ने हुनाले पनि उनीहरूलाई आफ्नो भाषा तथा रहनसहनमा उही देशकै प्रभाव पर्न थाल्छ, अर्थात् अङ्ग्रेजी भाषा र रहनसहनमै भिज्न पुग्दछन् । यस्तो समयमा अझ आफ्ना आमाबुवासँगको सामिप्यता टाढा हुन जान्छ । हो यही समयमा अझ घरमा हजुरबा–हजुरआमा हुन आवश्यक पर्दछ ताकि केही समय भए पनि उनीहरूले आफ्ना हजुरबा–हजुरआमासँग समय बिताउने मौका पाउँछन् । यो थोरै समय पनि उनीहरूका लागि आफ्नो भाषा, खानपिन र घरकै वातावरणसँग भिज्ने मिठो अवसर हुन्छ ।

तर भनेजस्तो सहजता सबैलाई नमिल्न सक्छ । कति प्रवासीका आमा–बाबा अनपढ र गाउँघरकै चलनमा मात्र बानी परेकाहरूलाई भने विदेशमा दुई महिना बिताउन पनि सकस हुन्छ । विदेशी रहनसहन, खानपान, वातावरण र जीवनशैली नै स्वदेश या गाउँघरको जस्तो नभएपछि बुढाबुढी त के जवानहरूलाई पनि शुरुमा त गाह्रो र अनौठो नै हुन्छ । आफ्नो देशको वातावरण, जीवनशैली, दिनचर्या नै भिन्नै हुने हुनाले विदेशमा बस्न असहज पनि लाग्न सक्छ । तर उमेर जे–जस्तो भए पनि विदेश जाने, आउने बानी परेकाहरूलाई भने असहज नलाग्न सक्छ । यही शिलशिलामा भन्नुपर्दा बालबच्चाप्रतिको आकर्षण, मायामोहमा जति नै आकर्षित भए पनि हाम्रो देशमा बुढापाकाहरू स्याहार, सुसारमा समर्पित हुँदैनन् । भनौँ भने आफ्ना जन्मदाता बाबाहरूले पनि बच्चा–बच्चीको स्याहारसुसारमा ध्यान दिँदैनन् ।

भन्ने नै हो भने ‘यो काम बाबुको होइन जन्म दिने आमाकै हो’ भन्ने मान्यता पनि छ । तर विदेश पसेपछि यो भ्रम टुट्दछ । नगरी धर नै हुन्न । यहाँ जति आमाले आफ्ना शिशुहरूको स्याहारसुसारको जिम्मेवारी लिन्छिन् उत्ति नै बाबाले लिने गर्दछन् । यहाँको नियमअनुसार बालअधिकारको दायराभित्र रहेर आफ्ना बालबच्चाको ख्याल गर्न अति जरुरी हुन्छ ।

विदेशमा जन्मिएका बालबच्चाहरूको जन्मदैदेखि नै स्याहारसुसार पुग्नु र उनीहरू अझ सुरक्षित हुनु पनि यहाँको बालअधिकारको कडा कानुन नै भन्नु पर्दछ । १२ वर्षसम्म एक्लै घरमा छाड्न पाइन्न । घरमा कुनै किसिमको असहजता र बच्चाप्रति असावधानी भो भने थाहा पाउनासाथ प्रहरी घरमै आएर हत्कडीसम्म लाउने गर्दछ । आफ्नी श्रीमतीलाई बच्चा जन्मने ब्यथा लागेर हस्पिटल लैजाँदा आफ्नो श्रीमानलाई पनि आफ्नी श्रीमतीको बच्चा नजन्मिउन्जेल सँगै राखेर श्रीमतीको प्रसवपीडा बुझ्नलाई श्रीमानलाई त्यहीँ बस्ने पनि अनुमति छ । विदेशमा आफ्नी श्रीमतीले शिशु जन्माउने बेलामा आफ्नो श्रीमानहरू प्रायः सबै नै श्रीमतीको प्रसवपीडामा सँगै हुन्छन् । उनीहरूलाई थाहा हुन्छ कि महिलाहरूले आमा बन्दा कत्तिको पीडा र सास्ती भोग्नुपर्दो रहेछ भन्ने कुरा पनि महसुस गर्दछन् ।

यतिसम्म कि हस्पिटलबाट डिस्चार्ज गर्दा शिशुलाई कसरी खानपान गराउने ? कसरी स्याहारसुसार गर्ने ? कसरी सुताउने, उठाउने सबै किसिमको अभ्यास गराएर मात्र हस्पिटलबाट बिदा दिन्छन् । त्यसैले विदेशमा बस्ने युवा पिढीका बाउहरू पनि आफ्ना नवजात शिशुहरूलाई स्याहारसुसार गर्न अभ्यस्त हुन्छन् । हाम्रो देशतिर हो भने कत्ति बाउ भनाउँदाहरूलाई आफ्ना श्रीमती कहिले सुत्केरी भइ, कत्तिको पीडा भोगी ? यी सब कुराबाट अन्जान नै रहन्छन् । नहुर्कुन्जेलसम्म त कत्तिले छुँदा पनि छुँदैनन् । किनकि हाम्रो देशमा सबै कुरामा स्वतन्त्रता छ । न बालअधिकार, न कर्तव्यको भार । बस् बाउको संज्ञा पाउँछन् । छोरा जन्मिए हर्कबढाइँसम्म मनाउलान्, छोरी जन्मिए मौनता धारण गर्लान् । तर, अहिले भने समय बदलिइसकेको छ र नयाँ युवाहरूको सोचमा परिवर्तन पनि आएको छ । यस्तो समस्या नहुन पनि सक्छ ।

अन्त्यमा मेरो आशय यही हो कि जो जहाँ रहे पनि आफ्ना बालबालिकाहरूलाई आफ्नो पहिचानबाट बहिष्कृत नगरौँ । आफ्नो परम्परा, रीतिरिवाजबाट अन्जान नबनाउँ । यसको लागि घरमा आफ्ना हजुरबा–हजुरआमाको उपस्थिति जरुरी हुन्छ । तर सबैलाई यो सहजता विभिन्न कारणले नहुन पनि सक्छ । मैले यो अप्ठ्यारोबारे माथि पनि अवगत गराइसकेँ । यसो हुनुमा स्वयं शिशुहरूका जन्म दिने आमाबाबुमा पनि निर्भर हुन्छन् । कोही हुन्छन् आफ्ना छोरारछोरीलाई अंग्रेजीमै बोलुन् भन्ने भावना भएका । कोही बुढाबुढीसँग विश्वासै नगर्ने । कोही आफ्ना बच्चाहरूलाई आफ्ना अभिभावकको नजिक नहोस् भन्ने चाहना राख्ने । यस्ता धेरै कुराहरू पनि हुन्छन् जो विदेशमा जन्मिएका बालबच्चाहरू आफ्नो देश, भाषा, संस्कृतिबाट अन्जान बन्न बाध्य हुने । अनि कोही बुढाबुढी मानिसहरू पनि सा–साना शिशुहरूसँग दिक्क मान्ने, नजिक आएको मन नपराउने, हामीले त पार पाइसकेका भन्नेहरू पनि हुन्छन् । त्यसैले अभिवाकहरूको ब्यवहार र इच्छाअनुसार पनि विदेशमा हुर्किएका मसिना बच्चाहरू आफ्नो परिवारसँगको सामिप्यताबाट टाढा हुन्छन् । नत्र भने नेपाली बोले पनि उनीहरूको भाषा यस्तो हुन्छ– ‘डगले बार्क गर्‍यो’, ‘मेरो हेड दुःखेको हो’, ‘म खायो’ आदि ।

म एक साथीकोमा गएकी थिएँ । उसकी नातिनीलाई उसकी छोरीले अङ्ग्रेजीबाट बोलाएको सुनेर मैले सोधें– ‘किन अंग्रेजीमा बोलेको ? घरमा त नेपाली भाषामै बोल्नु आफू पनि अनि छोरीलाई पनि नेपालीमै बोल्न लगाउनु नि, किन अंग्रेजीमा बानी गरेको ?’ उसकी हजुरआमा (ती साथी)ले हाँस्दै भनिन्– ‘के गर्नु ? मसँग मात्र हुँदा त नेपाली नै बोल्छे, म पनि नेपालीमै बोल्छु, तर उसकी आमाको समय प्रशस्त हुन्न । काममा जानुपर्छ । पढ्न पनि जान्छे । नानीलाई नेपालीमा सम्झाइरहने समय नभएर पनि छिट्टोको लागि अंग्रेजीबाट बोल्छे । नानीले पनि बुझिहाल्छ ।’

अनि उसकी आमाले पनि दिक्क मान्दै भनी– ‘आन्टी, के गर्नु ? यो अमेरिकामा बसेपछि समयले पनि बाँध्दोरहेछ र ! नचाहेर पनि समय जोगाड गर्न बाध्य भएर आफ्ना नानीहरूलाई अंग्रेजी बोलेर नै आफ्नो काम चलाउनु पर्ने रहेछ । यो कुरा हामीले बुझेर पनि गर्न कर लागेको छ ।’ यति भनेर उ हस्पिटलको झोला बोकेर कामतिर दौडिइ । यस्तो समस्या जब बच्चाहरू ‘डे कियर’, ‘स्कुल’ जान थाल्छन् अनि शुरु हुन्छ । घरमा राखेर नेपाली बोल्न लगाएर मात्र पनि त भएन । यस्ता अनेकौँ समस्या भए पनि भरसक आफ्ना बालबच्चाहरूलाई आफ्नो भाषा, संस्कार सिकाउन र अझ सुरक्षा, हेरचाह राम्रोसँग पुर्‍याउन घरमा अभिभावकको रुपमा हजुर बा–आमा साथमा हुन जरुरी छ जो मसिना भुराहरूसँग झन्झट नमानुन् र विदेशको दिनचर्या अनि शैलीलाई पनि पछ्याउन सकुन् ।

त्यस्तै, हामी फेरि अर्का एक परिवारकोमा भेटघाटको क्रममा गयौँ । त्यहाँ पनि दुई छोरा–छोरी थिए । छोरा ६ वर्षजतिका थिए होलान्, छोरी भर्खर जन्मिएकी । छोरोचाहिँ प्रष्ट नेपाली बोल्न सक्ने थिए । उनीहरूका आमा–बाबाले सायद नेपालीबाट नै नानीहरूसँग कुराकानी गर्ने बानी बसाए होलान् सायद । त्यो बाबु स्कुल पनि जान थालिसकेको थियो । तर पनि घरमा उनका बाबाआमाको कुराकानी र ब्यवहारबाट त्यो बालक प्रभावित थियो सायद । हामी जाँदा पनि खुशी भएर, रमाएर नेपालीमै कुरा गरेर गर्दैथ्यो । उसकी मम्मीले हामीलाई भनिन्– ‘सबैकोमा ग्र्याण्ड’मा ग्र्याण्ड’पा हुनुहुन्छ, हाम्रोमा चाहिँ किन नहुनुभा’को ? हामी पनि ल्याउँ न हाम्रो ग्र्याण्ड प्यारेण्ट्स भन्छ । घरमा बुबाआमा भएको खुब मन पराउँछ ।’

यसरी कोही बच्चाबच्चीले घरमा हजुरबा–हजुरआमा भएको मनपराउँछन्, कोही भने वास्ता नै गर्दैनन् । यसो हुनु पनि उनीहरूका आफ्ना आमा–बाबुको व्यवहार र संस्कारअनुसार नै केटाकेटीले सिक्छन् । तर परिस्थिति समयानुकुल नै सबैको सहज हुनु–नहुनमा भर पर्छ ।

अन्त्यमा भन्नुपर्दा अब समय बदलिएको छ । उहिले–उहिले छोराछोरी जन्माएर, ठुला भएपछि बाबु–आमालाई पाल्लान्, बुढेसकालको सहारा बन्लान् भन्ने समय थियो र सार्थक पनि हुन्थ्यो । अबको समय यस्तो आयो कि छोराछोरीबाट यस्तो आशा होइन । छोराछोरीका शिशुहरू (नाति–नातिना)को पो सहारा बन्नुपर्ने समय आयो प्रवासीहरूका निम्ति ! जसले गर्दा आफ्ना सन्ततिहरूले आफ्ना संस्कार, भेषभुषा, भाषा र आफ्नोपन नछाडुन्, नभुलुन् । समग्रमा भन्नुपर्दा समय सधैं एकै रहँदैन । सक्दा सबैले सबैको सहयोगी बनेको राम्रो हो । परिवार भनेकै एकर्कामा पर्दा काम आउनलाई हो । सबै सन्ततिको कल्याण सोच्नु, हेरचाह गर्नु र आफ्नोपन दिन सक्नु पनि बालअधिकारको अर्को सवल पक्ष हो ।