गान्धीवादी कहाँ छन् ?

गान्धीवादी कहाँ छन् ?


शेखर ढुङ्गेल

… सायद गान्धीवादी कहाँ छन् भनेर सोच्दै म सुतेको थिएँ, त्यसैले मैले यो सपना देखेको होला…

मैले देखेँ सपनामा राजधानीको एउटा ठूलो बगैँचामा गान्धीको प्रतिमा रखिएको थियो । म त्यही ढुङ्गाको मुर्तिमुनि रहेको कुर्सीमा बसेको थिएँ । दिउँसोको समय छ र बगैँचामा सन्नाटा छ, कोही पनि छैनन् । मैले सोचेँ– होइन..! गान्धीलाई नै किन नसोध्ने गान्धीवादी कहाँ छन् भनेर ? तर मैले सोध्नुभन्दा पहिले मैले देखेँ गान्धीको मूर्तिले नै केही कुरो भनिरहेको थियो । म चुपचाप सुनी रहेँ । गान्धीको मूर्तिले भनिरहेको थियो– ‘दुष्टहरूले मलाई गर्मीमा, झरीमा र ठण्डीमा ल्याएर राखीदिए, एउटा घाम र झरी छेक्ने छतसमेत बनाइदिएनन् । राणा प्रताप सिंहलाई घोडा दिइयो, शिवाजीलाई पनि घोडामा राखीदिए, रानी लक्ष्मीबाइलाई पनि घोडामै चढाएर राखे, तर मलाई खुट्टामा उभ्याएर ठड्याइदिए । म हैरान भएको छु । कतिन्जेल थेगुँ म ?’ गान्धी झोक्किँदै थिए । मैले गान्धी पनि रिसाउँछन् भन्ने सोचेको थिइनँ, मलाई केही गर्ने सोच पलायो । दौडिएर राजधानीमा रहेका ठूला नेताहरूलाई यो कुरो सुनाएँ ।

ती नेताहरूले भने– अहँ.. त्यस्तो हुनै सक्दैन, गान्धीले गाली गर्न सक्दैनन् । मैले ती नेताहरूलाई गान्धीको मुर्तिअगाडि पुर्‍याएर उभ्याएँ । त्यो मूर्तिले भन्यो– ‘मैले त तिमीलाई घोडा लिएर आउन भनेको थिएँ, तिमीले किन गधा लिएर आयौ ?’ गान्धी झन् रिसाउनुभयो । उनी छक्क परेर भने– मैले त यस्तो हुन्छ भनेर सोचेको पनि थिएन.. !

पछि नेताहरूलाई के भयो थाहा भएन, तर मेरो निंद्रा भने खुल्यो । राति मैले विचार गरेर हेर्दा मलाई केही कुराको सोच आयो । मैले सोचेँ यसमा गधाको त केही दोष छैन, महात्मासँग गधा भेला त भइ नै रहन्छ । साँच्ची भन्नुपर्दा महात्मा त पहिलो कोटीका व्यक्ति हुन् । प्रथम कोटीका व्यक्तिसँग प्रथम कोटीका मानिसको भेला हुनै सक्दैन, दोस्रो र तेस्रो कोटीका व्यक्तिहरू मात्र भेला हुन्छन्, प्रथम कोटीका व्यक्तिले त कहिले पनि अनुयायी बनाउन सक्दैन, अनुयायी त दोस्रो र तेस्रो कोटीका व्यक्तिहरू मात्र हुन्छन् । जोसँग आफ्नो बुद्धि हुन्छ त्यो व्यक्ति त आफ्नै खुट्टामा उभिन्छन्, कसैको अनुयायी बन्दैनन् । यसकारण अनुयायी त अनिवार्य रूपले खतरनाक हुन्छन्, किनभने बुद्धिहीनताले मात्रै कसैलाई अनुयायी बनाउने गर्छन् ।

गान्धीसँग जो मानिस भेला भए ती सबै यो देशका दोस्रो र तेस्रो दर्जाका बुद्धि भएका मानिस थिए । प्रथम श्रेणीका मानिस उनसँग आएका थिएनन् । प्रथम कोटीका मानिस कसैका पछिल्तिर हिँड्ने गर्दैनन् । न बुद्ध न महावीर न जिसस न महम्मद कोही कसैको पछाडि हिँडेनन्, न गान्धी नै कसैको पछाडी हिँडे । अनुयायीहरू कहिले पनि प्रथम कोटीका बुद्धिमानीहरू हुँदैनन्, प्रथम कोटीको व्यक्तिको बुद्धिलाई बेचेर खाने मात्र हुन्छन् । जब महात्मा वा प्रथम कोटीका व्यक्तित्वहरू मर्छन्, त्यसपछि तिनै दोस्रो र तेस्रो श्रेणीका मानिसहरूको हातमा उनीहरूको नीति पर्छ । गान्धी मरेपछि भारतको सत्ता दोस्रो र तेस्रो श्रेणीको बुद्धि भएकाहरूको हातमा गयो । दोस्रो दर्जाकाको पनि केही मुल्य रहन्छ तर अब तिनीहरू पनि समाप्त भइसके र, तेस्रो वा चौथो श्रेणीका मानिसहरूले आज गान्धीको नीतिलाई पछ्याएका छन् ।

केही कुरो बुझ्नलायकको छ । प्रथम कोटीका मानिस जबसम्म जिउँदा रहन्छन्, उनीहरूले दोस्रो र तेस्रो दर्जाको बुद्धि भएकालाई आफ्नो प्रभावमा परेर राख्न सक्छन् । तर, प्रथम श्रेणीको व्यक्ति मरेपछि तिनै दोस्रो वा तेस्रो श्रेणीको व्यक्ति प्रथम बन्न चाहन्छ । त्यो देखेर बाँकी दोस्रो र तेस्रो दर्जाका बुद्धि भएकाहरू सबै रिसाउने गर्छन्, उनीहरू विस्तारै पछाडि हट्न थाल्छन् । प्रथम श्रेणीको व्यक्ति नरहनेबित्तिकै दोस्रो र तेस्रो दर्जाका व्यक्तिहरूको बीचमा आपसी झगडा र उपद्रो सुरु हुन्छ, किनभने ती दोस्रो र तेस्रो दर्जाका बुद्धि भएकाहरू सबै एकैकोटीका हुन्छन् र तीमध्ये कोही पनि एकलाई नेताको सम्मान दिन चाहँदैनन् ।

गान्धी मरेपछि उनका परिवारका सदस्यहरू नै एकअर्काका दुश्मन बने, जब उनीहरूमध्येका एकजना प्रथम बने बाँकी दर्जाका अरुले छोडेर हिँडे, यो प्रवृत्ति जिजस मरेपछि भयो (स्मरणीय छ, बुद्धको महाप्रस्थानपश्चात त्यही भयो आज इशाइहरूको १५ भन्दा बढी समुदाय छ, महम्मदको त्यही हाल छ ।) आज बुद्ध र गान्धीका अनुयायीहरूका बीचमा त्यही भएको छ उनीहरू आलोचना गर्नलायक समेत छैनन् ।

मैले सुनेको छु एउटा मानिसले ८–१० पटकसम्म बिहे गर्‍यो, हरेक पटक जब उसले पत्नी बदल्यो तब मनभित्र निर्णय गर्‍यो कि त्यस्ती पत्नी अब म बिहे गर्ने छैन ! तर मान्छे त त्यही थियो, उसको बुद्धिको श्रेणी त्यही थियो, संगत (सम्पर्क ) त्यही स्तरमा हुनै नै भयो, यसरी आठौँ पत्नी बिहे गरिसकेपछि उसलाई लाग्यो– संसारका सबै महिला उस्तै हुने रहेछन्, किनभने जुन महिलालाई बिहे गरी ल्याए पनि उही पाइयो । (ओशोको विचार क्रान्ति पुस्तकको ‘गान्धीवादी कहाँ छन्’बाट) ।

यो लेखको सन्दर्भ आजको नेपालको राजनीतिमा हुबहु मिलेको छ । गहन र तितो प्रश्न के भने किन नेपाली नागरिकले राणाको एकतन्त्रीय शासनलाई विस्थापित गरेपछि राणाझैँ कट्टर राष्ट्रवादी नेतृत्व निर्वाचन गर्न सकेनौँ ? ७० वर्षमा ४० वर्षको जश–अपजशको त्यो भारी तत्कालीन राजाहरूको टाउकोमा बोकाइदिए पनि पछिल्लो ३० वर्ष किन हामीले हरेक पटक त्यही अनुहार निर्वाचित गरेर पठायौँ ? के त्यही हाम्रो स्तरविहीन बुद्धि र सोचको कारण होइन ? हामी त्यही हौँ, हाम्रो बुद्धि त्यही हो, त्यसैले बारम्बार त्यही अनुहारलाई निर्वाचित गराइ पठाइरहेछौँ । के त्यो ८–१० पटक बिहे गर्नेले सबै महिलालाई उस्तै ठानेझैँ सधैं त्यही अनुहारलाई निर्वाचित गर्नु बुद्धिमानी हो त ? हरेकपटकको निर्वाचनमा हाम्रो रोजाइ एकै किन ? नेपालमा हरेक पटक निरन्तर त्यही गल्ती किन भइरहेको छ ? जब हामी बुद्धि र विवेकहीन हुन्छौँ तब हामीलाई परचक्रीले घोडा बनाउने छ । हाम्रो स्वाभिमान स्वाधीनता र स्वतन्त्र अस्तित्वसमेत बन्धक हुन पुग्छ । हामीले एकपटक फेरि प्रथम दर्जाको बुद्धि भएको व्यक्तिलाइ नेतृत्वमा पुर्‍याउने प्रतिबद्धता गर्ने समय आइसकेको छ जसको लागि हामीले अमुक ‘वाद’को दासत्वलाई अस्वीकार गरी स्वतन्त्र भएर देश र नागरिकलाई प्राथमिकतामा राखेर परिवर्तनको लागि विद्रोह गर्नु अनिवार्य भएको छ ।

नेपालको पछिल्लो आधुनिक राजनीतिमा राजा महेन्द्र, विश्वेश्वर कोइराला, पुष्पलालहरू प्रथम श्रेणीका व्यक्ति थिए जो आफ्नो नीति र सिद्धान्तमा प्रतिबद्ध थिए । उनीहरूको लक्ष्य देश र नागरिकको हितमा मात्र प्रक्षेपण भएको थियो । राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकतामा राख्थे । उनीहरूको अवशानपछि त्यस्तै दोस्रो र तेस्रो दर्जाका बुद्धि भएका राजा र व्यक्तिहरू राजनीतिमा आए । अझै भन्नुपर्दा बुद्धि–विवेकहीन व्यक्तिहरूले राजनीतिमा कब्जा जमाए ।

आजको पछिल्लो राजनीतिले त झन् न बुद्ध न त गान्धी, न महेन्द्र न त विश्वेश्वर, न पुष्पलाल न त लेनिन या मार्क्स, न स्टालिन न त माओलाई पछ्याउन सके । मात्र उनीहरूको नाममा आफ्नो राजनैतिक दुनो सोझ्याएर राष्ट्र दोहन गर्ने र परिवार र आफन्तलाई प्राथमिकतामा राख्ने काम भयो । यसरी देश र नागरिक छायामा पारिएको दुःखदावस्था छ ।

अन्तमा, भलै हामी नेपाली नागरिक प्रथम श्रेणीको बुद्धिमानीको दर्जामा छैनौँ, हाम्रो सामाजिक आर्थिक भौगोलिक विविधताको कारण योग्यता क्षमता दक्षता पनि कमजोर छ । के यो ३–४ दशक अगाडिदेखि तपाईं–हामी जो सार्वभौम सर्वोच्चता अधिकार प्राप्त नागरिकले यो विकृति र विसंगतिको दुर्गन्धित थुप्राहरूले दिएको पीडा ब्यहोरिहेका छौँ, सहिरहेका छौँ । अब यसलाई सफा गर्ने समय आयो भन्ने सोच्नुपर्ने र तदनुरुप प्रतिबद्ध भएर यी असफल नालायक सबै अनुहारलाई विस्थापित गर्न एकजुट हुनु पर्छ भन्ने लाग्दैन ?

हामीसँग सोच्ने क्षमता र विवेक छ भने अब हामी कुनै अमुक ‘वाद’को पछाडि दाश भएर हिँड्ने होइन अब समस्याको समाधान मेरो काँधमा आइपरेको छ भन्ने सोच प्रत्येक मतदाता नागरिकमा आउनु अनिवार्य छ, अनि मात्र समयसापेक्ष हामीले खोजेको परिवर्तनको लागि हामी स्वयम् र हामीले निर्वाचित गर्ने नेतृत्वलाई राष्ट्रको लागि सदुपयोग गर्न–गराउन सफल हुनेछौँ । समाजमा आदर्श सोच र विवेकशील नागरिकहरू पछि हट्दै जाने हो भने अहिलेभन्दा झनै खतरनाक अपराधिक राजनैतिक प्रवृत्ति बढ्दै जाने छ, घर समाज र राष्ट्रलाई नै यसरी गिजोल्छ कि असल नागरिक या त अपराधिक झुण्डसँग सम्झौता गरेर बस्न बाध्य हुन्छन् वा शरणार्थी भएर पलायन ! दुईमा एक रोज्नेबाहेक विकल्प रहँदैन । तसर्थ, अब समय आयो कि आउने निर्वाचनको तयारी गर्दैगर्दा ३–४ दशक नेतृत्वमा देखिएका सबै पुराना अनुहारलाई फ्याँक्ने मानसिकता र राष्ट्रिय एकता निर्माण गर्न आजैबाट सोचौँ ।

०००

र, यो पनि–

सृष्टिकर्ताले मानिसलाई दया–करुणा सेवा र संवेदनसील प्राणी वा आफ्नो प्रतिनिधिको रूपमा बनाएका हुन् । तसर्थ, जहाँ आवश्यकता देखिन्छ र जहिले सम्भावना हुन्छ, त्यस्तोमा बिनातर्क–वितर्क, बिना आफ्नो–पराइको परिचय, बिना फाइदा–बेफाइदाको हिसाब, बिना सुविधा–असुविधाको बहाना दयाभाव देखाइहाल्नुपर्छ । सहयोगको हात बढाइहाल्नु पर्छ, जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशील आदर्श नागरिकको उदाहरण हुनु हो ।