यस वर्षको नोबेल शान्ति पुरस्कारबाट विश्व खाद्य कार्यक्रम सम्मानित

यस वर्षको नोबेल शान्ति पुरस्कारबाट विश्व खाद्य कार्यक्रम सम्मानित


प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समस्यामा परेको समुदाय वा व्यक्तिको खाद्यान्न सङ्कट टार्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गरेको महत्वपूर्ण भूमिकाका लागि यस वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बताएको छ ।

उक्त पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ । विश्व खाद्य कार्यक्रमले जनाएअनुसार उसले प्रत्येक वर्ष विश्वभरि ९.७ करोड मानिसलाई सहायता पुऱ्याउने गरेको छ ।

समितिले भनेको छ, ‘डब्लुएफपीको भोकमरीसँग जुझ्ने प्रयास, द्वन्द्वरत क्षेत्रमा शान्ति स्थापनार्थ गरिएका काम अर्थात् भोकमरीलाई युद्ध र द्वन्द्व अन्त्यको अस्त्रको रूपमा प्रयोग गर्न गरिएको योगदानका लागि उक्त संस्थालाई पुरस्कृत गरिएको हो ।’

गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ ।

पुरस्कृत भएपछि डब्लुएफपीको ट्वीटरमा लेखिएको छ, ‘यो विश्वका लागि एक शक्तिशाली स्मरण हो कि शान्ति र भोकमरीको अन्त्य सँगसँगै हुनसक्छ ।’

पुरस्कार घोषणापछि नियमित प्रेस वार्तालापमा जेनेभास्थित संयुक्त राष्ट्र संघको पोडियमबाट प्रवक्ता टोमसन फिरीले उक्त जीतलाई संयुक्त राष्ट्र संघको लागि थप जिम्मेवार र गौरवपूर्ण बनाउने थप जिम्मेवारी थपिएको बताए । फिरीको भनाइ उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार डब्ल्यूएफपी गतिविधिका एक सुन्दरता भनेको आज र भोलिको लागि खाना मात्र उपलब्ध गराउनु नभएर मानिसहरूलाई ज्ञानसहित भविष्यलाई धान्नको लागि सुसज्जित पनि गर्नु हो ।

जेनेभामा भर्खरै डब्ल्यूएफपीका प्रवक्ता बनेका र दक्षिण सुडानमा हालसालै नौ वर्षसम्म संगठनको लागि काम गरिसकेका फिरीले भनेका छन्, ‘थप हजारौँ किलोमिटर यात्रा गर्न विश्वभरि कति मानिसहरू समर्पित छन् डब्लुएफपी र यसको नेतृत्वले स्पस्ट बुझेको कुरा हो ।’ आगामी दिनमा डब्लुएफपीले थप जिम्मेवार बन्दै विश्व शान्तिका लागि काम गर्ने उनको भनाइ थियो ।

ज्ञातव्य छ, उत्तरी युरोपिय मुलुक स्विडेनका इन्जिनियर, केमिस्ट तथा उद्योगपति अल्फ्रेड नोबेलको नामबाट राखिएको यो पुरस्कारलाई हाल नोबेल कमिटी नामक एक फाउण्डेशनमार्फत प्रदान गरिँदै आएको छ भने नोबेल पुरस्कारलाई विश्वभरबाट विशेष महत्वका साथ हेरिने गरिन्छ ।

यस वर्षको पुरस्का आगामी डिसेम्बर १० तारिकका दिन नर्बेको राजधानी ओस्लोमा एक भब्य कार्यक्रमका बीच वितरण गरिने जनाइएको छ ।