दशैँलगत्तै खुल्दै ‘नेचर सुपरमार्केट’, उपत्यकाभर शाखा विस्तार हुने

दशैँलगत्तै खुल्दै ‘नेचर सुपरमार्केट’, उपत्यकाभर शाखा विस्तार हुने


व्यावसायिक क्षेत्रमा तीन दशक लामो अनुभव सँगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दशैँलगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।

बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरू उपलब्ध गराइने धामीले बताए । स्थापनाको एक वर्षभित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने उनले जानकारी दिए । ‘आगामी ५ वर्षभित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा विस्तार गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरूमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने छौँ ।’

काठमाडौं उपत्यकापछि देशका प्रमुख शहरहरूमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेको धामीले जानकारी दिए । ‘बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने क्रममा नेचर सुपरमार्केट प्रा.लि.को स्थापना भएको हो,’ उनले भने, ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहने छौँ ।’

सर्वसुलभ र गुणस्तरीय सामानहरू उपभोक्तामाझ पुर्याइने प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए । ‘उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुन्छ,’ उनले भने, ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिने छ ।’

मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरू बिक्री वितरण गरिने उनले बताए । सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न प्रा.लि. प्रतिबद्ध रहेको प्रबन्धक सुभेक्षा धामीले बताइन् ।