संक्रमितको सेवा गर्दागर्दै एनआरएनए जापानका अध्यक्ष आफै संक्रमित

संक्रमितको सेवा गर्दागर्दै एनआरएनए जापानका अध्यक्ष आफै संक्रमित


विशेष प्रतिनिधि, टोकियो (जापान)

कोरोना महामारीको प्रकोपमा पनि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर जापानवासी नेपालीहरुको सेवामा खटिएका एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी अन्ततः आफै कोरोनासंक्रमित हुनुभएको छ ।

सामान्य टाउको दुख्नुका साथै शरीरमा केही अस्वस्थता महशुस भएपछि बिहीबार ८ तारिख खानागावा (उहाँकै निवासनजिकै) को एक अस्पतालमा परीक्षणका लागि पुग्नुभएका उहाँमा कोरोना परीक्षण गराउँदा संक्रमण देखिएको हो ।

अध्यक्ष भण्डारीसँग कुरा गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदा हाल सामान्य रहेको जानकारी गराउँदै चिकित्सकको परामर्शअनुसार आजैबाट खानागावाकै एक होटलको आइसोलेसनमा बसेको बताउनुभयो । साथै आफ्नो पिसिआर रिपोर्ट पोजिटिभ आएकाले पछिल्ला केही दिनयता सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई सतर्कता अपनाएर केही शंका लागेमा तुरुन्त कोरोना परीक्षण गराउनका लागि अनुरोध पनि गर्नुभएको छ ।

सपरिवार जापानमा रहँदै आउनुभएका भण्डारीको परिवारका अन्य सदस्यहरुमा संक्रमणको कुनै लक्षण देखिएको छैन । तथापि, शनिबार (अक्टोबर १०) परिवारका सदस्यहरुको पनि पिसिआर गरिँदै छ ।

झण्डै १ लाख नेपालीहरुको बसोबास रहेको जापानमा कोरोना महामारीको बेलामा भण्डारीको सक्रियताको सबैले मुग्धकण्ठले प्रशंसा गर्दै आएका छन् । उनले धेरै संक्रमितहरुलाई आफैले अस्पताल लैजानेदेखि घरमै आइसोलेसनमा बस्दा पनि आवश्यक खाद्यान्न तथा अन्य सबै प्रकारका बन्दोबस्त गर्न निरन्तर खटिनुभएको थियो ।

निरन्तर सामाजिक काममै व्यस्त भण्डारी बिरामीलाई सहयोग गर्न हस्पिटलमा जाने क्रममा नै संक्रमित भएको अनुमान गरिएको छ । भण्डारीसँगै खानागावा नेपाली कम्युनिटीका सचिव यमकान्त कँडेललाई पनि कोरोना संक्रमण भएको बुझिन आएको छ ।

त्यसो त समाचार प्रकाशन नभए पनि जापानमा थुप्रै नेपालीहरु संक्रमित भएका छन् । यसरी संक्रमित सबैले आफ्नो व्यक्तिगत विवरण खुलाउन नचाहे पनि भण्डारीले भने थाहा हुनेवित्तिकै संचारमाध्यम तथा आफ्नो संसर्गमा आएका सबैलाई जानकारी गराई आफ्नो जिम्मेवारी प्रदर्शन गर्नुभएको छ ।