विजयादशमीको उपलक्ष्यमा ब्याडमिन्टन प्रतियोगिता

विजयादशमीको उपलक्ष्यमा ब्याडमिन्टन प्रतियोगिता


कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित ओदारी कभर्ड हलमा शनिबार (२४ असोज) गतेबाट खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ । ओदारी ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक बाणगंगा नगरस्तरीय प्रथम वडाकप खुल्ला प्रतियोगिता हुन लागेको हो ।

नेपालीहरुको महान् चाड विजयादशमीको उपलक्ष्यमा आयोजना हुने प्रतियोगितासँगै कभर्ड हलको पनि उद्घाटन हुने अध्यक्ष मनोहर कुमार योगीले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगितामा नगरभित्रका ४० बढी जोडीले भाग लिने अनुमान गरिएको योगीले बताउनुभयो । प्रतियोगिताको लागि शुक्रबार साँझ ६ बजेसम्म नाम दर्ताको समय तोकिएको थियो ।

प्रतियोगितामा भाग लिने टोलीलाई युवा र प्रौढ गरी दुई समुहमा विभाजन गरिएको छ । ४० वर्षमुनिका र माथि गरी विजयी हुने दुवै टोलीले १६ हजार र उपविजेता टोलीले ८ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

वडा नम्बर ११ को सहयोग र समन्वयमा हुने प्रतियोगिताको उद्घाटन सत्रमा पूर्व कृषिमन्त्री चन्द्र प्रकाश खनाल बलदेव, प्रदेश सांसद विष्णु पन्थी लगायतको सहभागिता हुने क्लबले जनाएको छ ।