मुसाको कथा र प्रचण्डको हाल !

मुसाको कथा र प्रचण्डको हाल !


मुक्तिनाथ खनाल

द्वन्द्वपीडितको समस्या कहिले समाधान हुने ?

सानो छँदा हामीले एउटा कथा सुनेका थियौँ– ‘मुसाको छोरी मुसालाई नै’ ! कुनै एक मुसाले आफूलाई अत्यन्त ठूलो, शक्तिशाली, कसैले गर्न नसकेको काम गर्न सक्ने, पहरो खोली सुरुङ बनाएर लुक्न र मानिस नै मार्न सक्ने शक्तिशाली नेता सम्झन्थ्यो । एक दिन उसकी छोरीको विवाह गर्ने उमेर भएछ । आफ्नी प्यारी र राम्री छोरी जो–कोहीलाई दिने कुरा भएन, आफूभन्दा शक्तिशाली, चारैतर्फ प्रकाश छर्न सक्ने, आफूले भित्र–भित्र लुकाएको सम्पत्ति र आफ्नै पनि सुरक्षा हुन सक्ने ठान्दै सूर्यका सन्तानलाई दिने अठोट गरी प्रस्ताव राख्न गएछ । सूर्य पनि धेरै चतुरो, जताततै आँखा चम्काउँदै प्रकाश छर्न सक्नेले ‘मित्र ! तपाईं–हामी सम्बन्ध गाँस्न अति राम्रो प्रस्ताव ल्याउनुभयो’ भन्दै मुठ्ठी कसेको हात उठाएछन् ।

सम्बन्ध गाँसियो तर छोरीको विवाह गर्ने कुरा त बाँकी नै थियो । पछि मुसाले उक्त प्रसङ्ग कोट्याएछन् । प्रस्ताव सुनेर तत्काल सूर्यले भनेछन्– ‘हाम्रो सम्बन्ध गाढा भयो, तर छोरी दिनलाई त मेरो छोरा छैनन् र म अहिले अलि कमजोर पनि छु । मलाई बेला मौकामा छेक्ने, मेरो उद्देश्यमा अवरोध पु¥याउने बादल मभन्दा शक्तिशाली जस्ता छन्, उतैतिर सम्पर्क गर्नुपर्ला ।’

विचरो मुसो सूर्यसँग हात मिलाई सम्बन्ध गाँसे मात्र, आफ्नो काम जस्ताको त्यस्तै छ । जे होस् ! बादल भएठाउँ गएछन् । बादलले पनि ‘मित्र, तपाईंसँग सूर्यले छल गरेछन् । म त सूर्यले दिएको प्रकाशमा रमे रमाएको बादल हुँ । सूर्यले हात झिक्नासाथ म पनि अन्धकारमा रङ्मगिन्छु । त्यसमाथि मलाई पहाडले ड्याम्म रोक्ने–छेक्ने गरिदिन्छ । पहाडका कारण हिँडडुल गर्न नसक्ने भई नतमस्तक हुन्छु । त्यसैले तपाईं आफैं हुर्केको र सुरुङ खनि लुक्ने, अरुलाई मार्ने, हतियार एवम् धन सम्पत्ति लुकाउने, आश्रय दिने पहाडकहाँ नै जानुभए राम्रो । तपाईंको छोरीको भविष्य त्यहीँ राम्रो हुन्छ, अन्यत्र गए फेरि पनि दुःख पाउनुहुन्छ’ भन्ने सुझाव दिएछ ।

मुसालाई साँच्चै हो कि क्या हो भन्ने लागेछ र ‘बेकार अन्यत्र दुःख पाउँदै हिँडेछु, अब पहाडतर्फ नै जान्छु’ भनी गएर पहाडसँग छोरीको विवाहको प्रस्ताव राखे । पहाड भन्छन्– ‘आफूलाई काम पर्दा हामीलाई खनी–खनी सुरुङ बनाई हामीलाई छिद्र–छिद्र बनाएर पहिरो जाने पारिदिनुभयो । हाम्रो जग धरातल नै कमजोर भयो । अब हामीभन्दा तपाईंहरूमा नै ताकत छ । त्यसैले अन्यत्र मन नडुलाइकन आफ्नै मुसा जीवभित्र खोजी कुनै योग्य मुसालाई नै छोरी दिनुहोस् ।’ पहाडको कुरा सुनेपछि यिनले ठिकै कुरा भने भन्ने ठान्नै आफ्नो छोरी मुसालाई दिने निचोडमा उक्त मुसा पुगेछ । यो कथा यतिबेला नेपाली राजनीतिक सन्दर्भमा प्रासङ्गिक बनेको अनुभूति भइरहेछ ।

अहिले नेपालको नेतृत्व गर्ने सरकार वा नेताहरू कुनै ठूला राजनीतिज्ञ नभएर मानिस मार्ने काट्ने आन्दोलन (झापा काण्ड, माओवादी विद्रोह) बाट आएकाहरू मध्येकै हुन् । उनीहरू स्वभावैले क्रुर, निर्दयी हुन्छन् । हालका नेता भनिएकाहरूमा न त शैक्षिक ज्ञान न त विवेक, दया होस् ! अनि उनीहरूबाट हामीले कुन ज्ञान र आदर्श खोज्ने ?

हिजो राजनीतिक शक्ति विभाजन र पदस्थापनाको होडबाजी चलिरहेको कुरा सामाजिक सञ्जालमा यत्रतत्र छरिएका छन् । पार्टी भनेको सामूहिक विचारको सँगठन हो । एकल नेतृत्वको हैकमवाद पार्टीभित्र अटाउन सक्दैन र त्यस्तो हुन पनि दिन हुन्न । तर हाम्रो मुलुकको त राजनीतिक सङ्गठनमा राजनीति के हो, त्यसभित्र हुनुपर्ने आदर्श इमानदारी कुटनीतिक भाषा आचरण अनुशासन कस्तो हुनुपर्ने कसैलाई ज्ञान भएजस्तो बुझिँदैन । सङ्गठनमा माथिका नियम कुनै पनि पालना भएको देखिँदैन । एकले अर्कोलाई तथानाम गाली दिने, होच्याउने म मात्र सबै हुँ भन्ने, केही गर्न खोज्नेलाई बाधा विरोध गर्दै खुट्टा तान्ने गतिविधि चल्दै र देखिँदै आएको छ ।

यस्ता व्यवहार माथिदेखि नै सुधार हुँदै आउनुपर्ने थियो तर यो मुलुकमा माथिल्लो तहका नेता नै लाहुरे तालका, निकृष्ट सोचाइ बोकेका, एकले अर्कोविरुद्ध असभ्य तरिकाको गाली गलौज गर्ने प्रवृत्तिका छन् । आ–आफ्ना पार्टीभित्र जे–जस्तो व्यवहार भए पनि राष्ट्रको सम्मानित सदनमा त प्रस्तुति फरक हुनुपर्ने हो । यथार्थमा भन्नुपर्दा देशकै प्रधानमन्त्रीसमेत प्रतिपक्षका सांसदहरूलाई जवाफ दिनुपर्दा छुद्र ढङ्गले कटु शब्द प्रहार गर्न चुक्दैनन् । यो देख्दा विवेकी–बुद्धिजीवीहरू लाजले शीर झुकाउन विवश हुन्छन् । विदेशका नेताहरूले कुन दृष्टिले हेरेका होलान् हाम्रा नेताहरूलाई भन्ने जिज्ञासा जाग्छ । हुन त अहिले नेपालको नेतृत्व गर्ने सरकार वा नेताहरू कुनै ठूला राजनीतिज्ञ नभएर मानिस मार्ने काट्ने आन्दोलन (झापा काण्ड, माओवादी विद्रोह) बाट आएकाहरू मध्येकै हुन् । उनीहरू स्वभावैले क्रुर, निर्दयी हुन्छन् । हालका नेता भनिएकाहरूमा न त शैक्षिक ज्ञान न त विवेक, दया होस् ! अनि उनीहरूबाट हामीले कुन ज्ञान र आदर्श खोज्ने ?

अँ ! हालसालै एउटा रमाइलो उद्गार अथवा आफूभित्र उकुसमुकुस भइ ओकल्न भ्याएको माओवादी नेता प्रचण्डको रुवावासी सुनियो । उनको भनाइअनुसार अलि ठूलो कसैले गर्न नसक्ने काम त्यति धेरै कार्यकर्तालाई शान्ति सम्झौतामा ल्याई त्यति धेरै हतियार बिसाउनु सक्नु सानोतिनो साहस र काम होइन भनी सञ्चारमाध्यममा गर्जेका थिए उनी । आश्र्चय लाग्छ ! हामी आफ्नो कसैको एक सन्तान कालगतिले मर्दा कत्रो आपत्ति, चिन्ताले विह्वल हुन्छौँ, मानसिक विक्षिप्तताको सिकार हुनुपर्छ भने १७ हजार मानिस मार्दा उनका आमाबाबु भाइ, छोरा, श्रीमती कति विक्षिप्त भए होलान् ? अहिलेसम्म उनीहरूको आत्मा कति रोएको छ । के उनीहरूको श्राप लाग्दैन होला तत्कालिक माओवादी आतङ्ककारीहरूलाई ? झापा काण्डका नेता झापालीहरूले केही मानिस मात्र मारेको या बल्ल–बल्ल प्रायश्चित पाएको जस्तो छ भने १७ हजार मानिस मार्नेलाई उनीहरूका परिवार (द्वन्द्वपीडितहरू) को आँशुले कहिल्यै क्षमा गर्ला र प्रायश्चित होलान् खै ?

माथि भनिएजस्तै प्रचण्डजीले बहादुरीका साथ कसैले गर्न नसक्ने शान्तिसम्झौता गरी हतियार बिसाउनु भयो रे ! उहाँले आफूलाई के सम्झनुभएको कुन्नी । अरुले हेर्दा माओवादीप्रति जनताको घृणा अनास्था बढ्दै गएको र सङ्गठन फितलो हुँदै गएको देखिन्छ । १७ हजार मानिसका बाबु, आमा, श्रीमती, छोरा, नाति सबैको श्रापबाट हितयार बिसाउनु बाध्य गराइएकोलाई बहादुरी सम्झनु आफैंमा आत्मसन्तुष्टिबाहेक केही होइन भन्ने सबैको सोचाइ पाइन्छ ।

यो पंक्तिकारलाई एउटा चिन्ता छ । यदि नेकपाको आउँदो अधिवेशनसम्म माओवादी नेताहरूले कुनै ठूलो पद प्रम, अध्यक्ष, मन्त्री, महासचिव आदि पदाधिकारी यही कार्यकालमा पाएनन् भने उहाँहरूको रहर रहरमै सीमित हुने हो कि जस्तो लाग्छ । पूर्वमाओवादी अध्यक्ष भरखरै सत्ताधारी नेकपाको कार्यकारी अध्यक्ष बनेका छन् । प्रचण्डलाई बधाई त छ, तर यसबाट अब प्रष्ट बुझियो कि यो पाँचवर्षे कार्यकाल अकाट्य रूपमा वर्तमान प्रधानमन्त्री केपी ओलीकै पेवा बन्यो । उहाँले सबैलाई पेलेर लगिजानु हुनेछ । निम्छरो र निगाहाबाट प्राप्त पार्टीअध्यक्ष एवम् जिल्ला समितिले केही गर्न सक्ने छैन । त्यो कुरा भोलि–भोलि देखिँदै जान्छ ।

सुनिन्छ– आगामी चैत्रमा नेकपाको अधिवेशन हुँदैछ । हेर्दै जानु– त्यसभन्दा पहिल्यै प्रधानमन्त्रीबाट अब पूर्वमाओवादीका केही टाठाबाठा दोश्रो तहका नेता जनार्दन (प्रभाकर र पम्फा नानी) जस्तालाई मन्त्री बनाइन्छ । किनकि उनीहरूले प्रधानमन्त्रीलाई ठूलो गुन लगाए । माओवादीका अरु मन्त्री यथावत रहलान् पनि । प्रम खड्गप्रसाद ओलीलाई साँच्चै मान्नुपर्छ । यस्ताखाले जालमा उहाँलाई कसैले भेट्दैन । जाल,झेल झुठमुठ जहाँ जस्तो बोल्ने वा जसरी हातमुख चलाउनुपर्ने हो उहाँमा त्यो खुबी छ ।

पूर्वएमालेभित्रै पनि पहिला–पहिला मन्त्री योगेश भट्टराई एवम् घनश्याम भूसाल अलिक ङ्¥यारङुर गर्थे, मन्त्री भएपछि प्रमकै गुनगान गाउँदै उनीहरू नै धेरै नगिच हुन थाले । अब अलिअलि ङ्¥यारङुर गर्ने रावल पनि मन्त्री बन्नेछन्, किनकि अहिले समन्वयन समितिमा बसेर प्रमलाई गुन लगाइदिएका छन् । यसमा समन्वय गर्ने–गराउनेमा धेरै श्रेय महासचिव विष्णु पौडेललाई जान्छ । यसरी केही टाढाबाठा कार्यकर्ता आफ्नो बनाइसकेपछि सिङ्गो पार्टी भोलि केपी ओलीको पोल्टामा जान्छ अरु नेता उहाँकै निगाहामा जे दिएको खाँदै बस्ने प्रष्ट छ ।

नेपाली कांग्रेससँग सहमति गरी छोरीलाई निर्वाचनमा विजय गराइयो । तथापि, पर्लक्कै पल्टिन सक्ने बेसारे स्वभावका कारण पछि काङ्ग्रेससँग पनि सम्बन्ध तोडेर आफ्नै सन्तान ‘मुसाको छोरी मुसालाई नै’ भन्ने दन्त्यकथा जस्तै अब पूर्वमाओवादीको हालत कमजोर हुँदै गएको छ ।

पूर्वमाओवादीका नेताले शान्ति सम्झौता र हतियार बिसाउन गरिएको साहसिलो कदम र बहादुरी जे सम्झे पनि जनताले तत्काल माओवादी शक्तिविहीन भइ कुनै उपाय नपाइ हतियार बिसाएको सम्झिएका छन् । अतः अब हुने अधिवेशनमा अहिले पूर्वमाओवादीको जे जस्तो पोजिसनमा छ त्यस्तो कुनै हातलमा हुँदैन, किनकि उसले १७ हजार मानिसको हत्या प्रायश्चित गर्न धेरै तपस्या गर्नुपर्दछ । हेर्दै जानुहोला आगामी अधिवेशनमा पूर्वएमालेका नेता–कार्यकर्ताले नै कुनै पनि माओवादीलाई भोट दिने छैनन् । यो अभिसापले माओवादीलाई कतिसम्म पछ्याइरहन्छ थाहा छैन ।

अब रह्यो तीन वर्षपछि हुने आमचुनावको कुरा । त्यसमा पनि माथि भनिएजस्तै १७ हजार मानिस मर्ने–मार्नेका पीडित एवम् विक्षिप्त परिवारका सन्तानको मुटुमा विषालु काँडा बिझेको छ, तिनले माओवादीलाई क्षमा देलान् जस्तो लाग्दैन । यसअघि जति जनाले जिते पनि एमालेको भोटबाट जितेको देखिन्छ । हुन त एमाले पनि मानिस मार्ने काट्ने झापा काण्डबाटै आएको हो तर त्यतिबेला थोरै मानिस मरेकाले प्रायश्चित भयो । माओवादीले प्रायश्चित पाउन त्यति सजिलो छैन जति एमालेलाई थियो ।

अन्त्यमा माथि मुसाको कथा भने जस्तै चम्किलो शक्तिशिाली सूर्य देखेर छोरी दिन गएको तर विभिन्न बहाना गरी सूर्यले स्विकार गरेनन् । त्यसपछि बादलरुपी मधेसवादी जनता पार्टीसँग मित्रता गर्न खोजे जस्तो देखिन्थ्यो । उसले पनि स्विकार गरेन क्यार ! तेस्रो पटक पाहाडरुपी नेपाली कांग्रेससँग सहमति गरी छोरीलाई निर्वाचनमा विजय गराइयो । तथापि, पर्लक्कै पल्टिन सक्ने बेसारे स्वभावका कारण पछि काङ्ग्रेससँग पनि सम्बन्ध तोडेर आफ्नै सन्तान ‘मुसाको छोरी मुसालाई नै’ भन्ने दन्त्यकथा जस्तै अब पूर्वमाओवादीको हालत कमजोर हुँदै गएको छ । वैद्यजी, विप्लवजी जस्तै केही कार्यकर्ता आफन्तहरूलाई लिई एक्लै जीवन बिताउनुपर्ने गरी सबै माओवादी मित्रहरूको राजनीति सिद्धिँदै गएको हो त भन्ने जिज्ञाासा पनि जाग्छ । यसले हामीलाई पनि कता–कता निरस लाग्न थालेको छ । तर त्यस्तो नहोस्, शुभकामना छ ।