भारतको नागाल्याण्डका पूर्व राज्यपाल अश्वनीकुमारले गरे आत्महत्या

भारतको नागाल्याण्डका पूर्व राज्यपाल अश्वनीकुमारले गरे आत्महत्या


भारतको पूर्व सीबीआई निर्देशक एवम् नागाल्यान्डका पूर्व राज्यपाल अश्वनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका छन् । उनको शव राजधानी शिमलास्थित निवासमा झुण्डिएको अवस्थामा फेला परेको बीबीसीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको छ । सुसाइड नोटमा उनले शारीरिक रोग र अशक्तताका कारण जीवन बोझ जस्तो लागेपछि यो जीवन समाप्त गरेर नयाँ यात्रातर्फ लागेको लेखेका छन् । सुसाइड नोटमा उनले आफ्नो आत्महत्याको लागि कसैलाई पनि जिम्मेवार वा दोषी ठहर्याएका छैनन् ।

बुधबार साँझ अश्वनीकुमारका छोराबुहारी कतै घुम्न निस्किएका थिए । फर्केर आउँदा भित्रबाट ढोका बन्द थियो । ढोका तोडेर हेदा उनको शव झुण्डिएको अवस्थामा थियो । प्रहरीले ७० वर्षीय अश्वनीकुमारको शव नियन्त्रणमा लिएर घटनाबारे गम्भीर रुपमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

अश्वनीकुमारको जन्म भारतको सिरमौर जिल्लाको सदरमुकाम नाहनमा भएको थियो । उनी सन् २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डीजीपी)को जिम्मेवारीमा पनि रहेका थिए भने सन् २००८ देखि २०१० का बीचमा सीबीआईका निर्देशक समेत भएका थिए ।

अश्वनीकुमार सीबीआईका पहिलो प्रमुख हुन् जो पछि राज्यपाल बनेका थिए । सन् २०१३ मार्चमा उनी नागाल्याण्डका राज्यपाल नियुक्त भएका थिए । सन् २०१४ मा उनले राजीनामा दिएका थिए । त्यसपछि उनी शिमलाका एक निजी विश्वविद्यालयका भिसी भएर काम गर्दै आएका थिए ।