प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…


बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’को काठमाडौंका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित प्रिन्सको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौंको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको हो ।

गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालकोसमेत सन्देशमूलक अभिनय रहने जनाइएको छ । पोखरेलले नागरिकलाई ट्राफिक सन्देश प्रवाह गर्न श्रव्यदृष्यसहितको गीत उपयुक्त माध्यम भएको जानकारी दिए । महाशाखा प्रमुख ढकालले ट्राफिक सचेतना जागृत गराउन उक्त गीत सहयोगी हुने विश्वास व्यक्त गरे ।

ट्राफिक सन्देशलाई गीतमार्फत यसरी प्रस्तुत गरिएको छ-

सडक बत्ती हेरिहेरी पाइला उचालौँ
परिएला दुर्घटना जीवन नफालौँ

गीतका निर्देशक रमेश पाठकले मुख्यगरी ट्राफिक नियम पालना गरी सवारी चलाउन र बाटोघाटो काट्न गीतमार्फत अनुरोध गरिएको जानकारी दिए । गीतमा जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न अनुरोध गरिएको छ । गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिइएको छ ।

बनेका छन् आकासे पुल हेर बाटामाथि
सहयोगी हुनुपर्छ ट्राफिक हाम्रो साथी

छायाङ्कन र उत्पादनको काम सकेर दशैँअघि नै गीत सार्वजनिक गर्ने तयारी भएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिए । प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्कन रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ । अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल छन् ।

गत वर्ष दशैँका अवसरमा गायक सिलवालले अभिनेता सरोज खनालको अभिनय रहेको श्रव्यदृष्यसहितको गीत (म्युजिक भिडियो) ‘बाबा’ बजारमा ल्याएका थिए । त्यसअघि उनले ‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ बोलको गीत बजारमा ल्याइसकेका छन् ।