निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले बुधबार (२१ असोज)देखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ ।
कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो ।
एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए । उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको थियो भने दोस्रो उडान साँझ ४ः४५ बजे भयो । अब सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिने छ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न प्रवक्ता बर्तौलाले अनुरोध गरे ।
यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।
विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।
प्रतिक्रिया