युट्युबबाट निर्देशित समाज कहाँ पुग्ला ?

युट्युबबाट निर्देशित समाज कहाँ पुग्ला ?


■ बबिता बस्नेत

एक नातेदार छन् बेला–बेलामा ‘कोरोना केही होइन’ भन्ने म्यासेज पठाइरहन्छन् । केही समययता प्रायः यस्तै सन्देश दिने अन्तर्वार्ताहरू सेयर गर्नु र आफन्तहरूलाई फोन गरी ‘कोरोना केही होइन, साधारण रुघाखोकी हो, डराउनु पर्दैन यो सबै साजिस हो’ भन्नु उनको दिनचर्या जस्तै बनेको छ । यसप्रकारका कुरा बडो आत्मविश्वासका साथ प्रचारप्रसार गर्ने उनको ज्ञानको प्रमुख श्रोत युट्युब च्यानलहरू हुन् । युट्युबमा केही कागजपत्र हातमा बोकेर मानिसहरू यो पहिला पनि थियो, अहिले फरक तरिकाले प्रचार भएको मात्र हो भनिदिँदा रहेछन् । त्यसैलाई पत्याएर अहिले कोरोना केही होइन, मास्क लाउनु पर्दैन, डराउनु पर्दैन, यो वाइयात हो भन्नेहरूको जमात नै तयार भइसकेको छ । वास्तविकता भन्दा भ्रम फैलाउने सामाग्रीले मानिसलाई कसरी आकर्षित गर्दोरहेछ भन्ने कुराको उदाहरण पनि हो यो ।

मूलप्रवाहका मिडियाहरू महिनौँदेखि यसको संवेदनशीलताका बारेमा सामग्री दिइरहेका छन् तर मानिसहरू निर्देशितचाहिँ युट्युबबाट भइरहेका छन् । भाइरल बन्ने होडमा मानिसहरू सामाजिक मूल्य मान्यतासँग मात्र होइन जनस्वास्थसँग पनि खेलबाड गरिरहेका छन् । जसलाई अनुगमन गरेर कार्वाही गर्ने निकाय छैन ।

कुनै घटना–सन्दर्भलाई लिएर सम्बन्धित–असम्बन्धित तिनका परिवारका सदस्यहरूलाई समेत बोल्न लगायो अनि ‘रुँदै यसो भनिन्’ भन्ने शीर्षक राख्यो ! एउटाले सुरु गरेपछि सबै त्यसैको पछि लाग्यो ! बेडरुममै बसेर कुराकानी गऱ्यो, कोठाको भित्तामा राखिएका फोटोहरू देखायो, ‘हेर बिचरा.. कठै..’ भन्दै सहानुभूति गरेझैँ गरी प्रश्न सोध्यो । दुईचार दिन आँशुको ब्यापार गऱ्यो, ब्यापार चल्न छाडेपछि अर्को घटनातिर लाग्यो । दुई वटा स–साना बच्चा बोकेर पतिसँग न्याय माग्न युट्युबमा प्रत्येक दिन छाउने भाइरल हेमा श्रेष्ठ अहिले कहाँ छिन् ? भाइरल बन्न छोडेपछि युट्युबरहरूले त उनलाई छोडे तर ती स–साना बच्चाले सानो हुँदा आमाले गरेको त्यो रुवाबासी र मानिसहरूको भीड शायद जिन्दगीभर बिर्सने छैनन् । आफू भाइरल बन्दै गर्दा आफ्ना बच्चाहरूमा पर्न सक्ने मनोवैज्ञानिक असरलाई उनले अलिकति पनि वास्ता गरेको देखिँँदैनथ्यो । ब्यक्तिगत सम्बन्धलाई छरपष्ट बनाउँदै केही समय भाइरल बनेर उनले के पाइन् ? भाइरल हुने भुतले छोडेपछि फर्किएर हेरिन् भने युट्युबरलाई पैसा कमाउने माध्यमबाहेक आफू केही बनेँ भन्ने उनलाई लाग्ने छैन । सहानुभूति राख्नेले केही सहयोग गरे होला तर अर्काको केही दिनको सहानुभूतिले जिन्दगी चल्दैन । जिन्दगी बाँच्न त आफैले सङ्घर्ष गर्नुपर्छ ।

हाम्रो समाज अर्काको ब्यक्तिगत चियोचर्चोमा रमाउने समाज हो । पहिला–पहिला कसैका निजी कुराहरू छिमेकी र आफन्तमा सीमित हुन्थे तर युट्युबरहरूका कारण अहिले देशब्यापी मात्र होइन विश्वब्यापी बनिरहेका छन् ।

अघोरी बाबासँग विवाह गरेकी भनिएकी चितवनकी महिला अहिले कहाँ गइन् होला ? युट्युबमा उनको अन्तर्वार्ता नआएको दिन हुँदैनथ्यो । आफू भाइरल भएकोमा दङ्ग उनलाई त्यतिबेलाका भाइरल भिडियोहरूले जिन्दगीभर पिछा छोड्लान या नछोड्लान् ? एकपछि अर्की महिलालाई युट्युबरहरूले भाइरल बनाए, बनाइरहेका छन् तर ती भाइरलमध्ये कतिलाई आफू किन भाइरल बनेँ या बनाइएँ भन्ने थाहा पनि छैन । भाइरल भनेको के हो या युट्युबमा बोल्दाको प्रभाव या असर के हुन्छ थाहै नपाइ उनीहरू विश्वब्यापी बनिरहेका छन् । युट्युबरहरूले धेरैजसो ब्यक्तिगत सम्बन्धलाई आफ्ना सामाग्रीको आधार बनाएको देखिन्छ । जहाँ प्रयोग गर्ने युट्युबरहरू पुरुष छन् र प्रयोग हुने, आँशुको धारा बगाउनेमा महिला छन् ।

वैदेशिक रोजगारीमा रहेका पति–पत्नीका विवाहेत्तर सम्बन्धहरू, पति–पत्नी साथै रहे पनि तिनका सम्बन्धमा देखिएका तिक्तता, गर्भवती बनेपछि छोडिएका महिलाहरू, हाडनाता सम्बन्धलगायतका सामाग्रीहरू दिने क्रममा महिलाहरू रातारात भाइरल बन्ने गरेका छन् । उनीहरूको आँशु र कथा, ब्यथाको ब्यापार बडो असंवेदनशील तरिकाले भइरहेको छ । हाम्रो समाज अर्काको ब्यक्तिगत चियोचर्चोमा रमाउने समाज हो । पहिला–पहिला कसैका निजी कुराहरू छिमेकी र आफन्तमा सीमित हुन्थे तर युट्युबरहरूका कारण अहिले देशब्यापी मात्र होइन विश्वब्यापी बनिरहेका छन् ।

कसैसँग सम्बन्ध गाँसिएकी महिलाका बच्चाहरूसँग सोधिने प्रश्नले सामान्य मानिसको जीउ सिरिङ्ग बनाउँछ । ती बच्चाहरूलाई त्यसप्रकारका प्रश्न सोध्ने अधिकार उनीहरूलाई कसले दियो ? बयस्क मानिसलाई पटक–पटक सोचेर मात्र गर्नुपर्ने प्रश्नहरू बच्चालाई गर्दा तिनको मनोविज्ञानमा के असर पर्ला ? बच्चाहरूलाई मात्र होइन बाबुआमालाई सोधिने प्रश्न पनि त्यत्तिकै असंवेदनशील हुने गरेका छन् । केही दिनअघि बझाङ्गमा भएको बालिका बलात्कार मुद्दामा बलात्कारका आरोपी युवाका बाबुलाई युट्युबरले गरेका प्रश्नहरू सुन्दा प्रश्नकर्तालाई कसैले तानेर त्यहाँबाट हटाइदिए पनि हुन्थ्यो भन्ने लागेको थियो । छोराले गरेको बलात्कारमा बाबुको के दोष हुन्छ ? उनी यसरी प्रश्न गरिरहेका थिए मानौँ बाबुले नै बलात्कार गर्न लगाएका हुन् । हुँदै हुँदै बलात्कृत बालिका र महिलाहरूलाई पनि युट्युबरहरूले पछ्याइ–पछ्याइ प्रश्न गर्न थालेका छन् । तिनका नाम, थर, गाउँ, आफन्त सबै सार्वजनिक गर्न थालेका छन् ।

युट्युबमा आउने गरेका सामाग्रीले समाजमा के भइरहेको छ र मानिसहरू के कुरा सुन्न या हेर्न चाहन्छन् भन्ने बुझ्न सहज भएको छ । समाजभित्र लुकेका कुरुप दृष्यहरू बाहिर आएका छन् । तर पारदर्शिता र नाङ्गोपनलाई हामीले सधैं छुट्याएर हेर्नुपर्छ ।

सबै युट्युबरहरू एकै खालका छैनन् । कतिले समाजमा भएका राम्रा प्रतिभाहरूलाई बाहिर ल्याएका छन्, पीडितसँगको कुराकानीमा संवेदनशीलता अपनाउनेहरू पनि छन् । तर निश्चित मापदण्ड नतोकिएका कारण जसले जे सामाग्री दिए पनि हुने जस्तो वातावरण बन्दै गएको छ । युट्युबमा आउने गरेका सामाग्रीले समाजमा के भइरहेको छ र मानिसहरू के कुरा सुन्न या हेर्न चाहन्छन् भन्ने बुझ्न सहज भएको छ । समाजभित्र लुकेका कुरुप दृष्यहरू बाहिर आएका छन् । तर पारदर्शिता र नाङ्गोपनलाई हामीले सधैं छुट्याएर हेर्नुपर्छ । मानिसका निजी कुरालाई सार्वजनिक गर्नुअघि त्यसको असर कस–कसलाई कसरी पर्न सक्छ भनेर सोच्नुपर्छ ।

सम्बन्धमा विचलनहरू पहिला पनि थिए, अहिले पनि छन् । गाउँघरमा पति नभएका महिला गर्भवती हुँदा कचहरी राखिन्थ्यो र कसैलाई जिम्मा लगाइन्थ्यो । अहिले ती सबै युट्युबमा आउँँछन् । गाउँका कचहरीमा मुखियाहरूले तिनका नालीबेली सोध्थे, अहिले युट्युबरले सोध्छन् । कुनै पनि नेपाली नागरिकलाई आफ्ना निजी कुराहरू सार्वजनिक नगर्ने हक कानूनले दिएको छ । वैयक्तिक गोपनियताका सम्बन्धमा ब्यवस्था गर्न बनेको कानूनले हरेक नेपाली नागरिकको ब्यक्तिगत गोपनियतालाई सुरक्षित गरेको छ । तर यो कानूनको बारेमा जानकारी नहुँदा मानिसहरूले बोल्न मन नलाग्दा नलाग्दै पनि मिडियाले सोधेको कुरा बताउनु पर्छ होला भनेर आफ्ना निजी मामिलामा सोधिएका प्रश्नको जवाफ दिने गरेका छन् । धेरैलाई मूल प्रवाहका मिडिया र युट्युबबीचको फरक थाहा पनि छैन । सहज पहुँचका कारण युट्युबबाट मानिसहरू निर्देशित हुँदै गएका छन् ।

सम्बन्धमा विचलनहरू पहिला पनि थिए, अहिले पनि छन् । गाउँघरमा पति नभएका महिला गर्भवती हुँदा कचहरी राखिन्थ्यो र कसैलाई जिम्मा लगाइन्थ्यो । अहिले ती सबै युट्युबमा आउँँछन् । गाउँका कचहरीमा मुखियाहरूले तिनका नालीबेली सोध्थे, अहिले युट्युबरले सोध्छन् ।

भिडियो सञ्चालन गर्ने विश्वको सबैभन्दा ठूलो वेबसाइट युट्युब आफैमा नराम्रो माध्यम होइन । कस्ता मानिसले के अपलोड गर्छन् युट्युबको छवी त्यसमा भर पर्छ । कुनै विषयमा मानिसका धारणा राख्ने कार्यक्रम ‘टेड टक’ युट्युबकै कारण विश्वचर्चित बनेको हो । नेपालमा बालबालिकादेखि युवा, अधबैंशे हुँदै वृद्धवृद्धासम्म युट्युबका दर्शक छन् । युट्युबमा जे आयो त्यसैलाई पत्याउने ठुलो जमात छ । हिजो गाउँघरमा अरुका झगडा सुनेर रमाउनेहरूलाई आज युट्युबरहरूले देशभरिका ब्यक्तिगत तथा सार्वजनिक झगडा देखाएर मनोरञ्जन दिइरहेका छन् । खोजी–खोजी नकारात्मक र असंवेदनशील कुराहरू दिँदा मानिसको दिमागमा सकरात्मक कुराहरू हट्दै जाँदैछन् । मानिसको सोचबाट उसले गर्ने काम र ब्यवहार निर्देशित हुन्छ ।

सोच बदल्ने क्षमता मिडियासँग हुन्छ । धेरै मानिसको ‘माइण्ड’ अहिले सोसियल मिडियाको पकडमा छ । सोसियल मिडियामा के राख्न हुने के नहुने, के सोध्न हुने, के बोल्न नहुने कुनै आचारसंहिता या निर्देशिका छैन । कोभिड–१९ देखि मानिसलाई हेर्ने दृष्टिकोणसम्म यसभित्र पर्छन् । सहज पहुँच, भ्रमपूर्ण सूचना र ब्यक्तिगत चर्चाका कारण युट्युब मानिसहरूको आदत बन्दैछ । युट्युबबाट निर्देशित समाज कहाँ पुग्ला यसै भन्न सक्ने अवस्था छैन ।