नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे भएन छलफल

नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे भएन छलफल


मन्त्रिपरिषद हेरफेरलगायतका महत्वपूर्ण विषयमा छलफल गर्ने उद्देश्यका साथ मंगलबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सबैले चासो राखेको मन्त्रिमण्डल गठनबारे खास छलफल नभएको बुझिएको छ ।

मन्त्रिपरिपषदमा रिक्त तीन सदस्यको पूर्ति, अन्य हेरफेर र संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच गृहकार्य जारी रहेकाले आजकोे बैठकमा त्यसबारे सामान्य मात्रै छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बताइएअनुसार चिकित्सा क्षेत्रको सुधारका मुद्दा उठाएर अनसनमा बसेका चिकित्सक गोविन्द केसीको जारी अनशनका विषयमा नेकपाको सचिवालय बैठकमा ज्यादा चर्चा भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चिकित्सक केसीको जीवनरक्षाका लागि सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसहेको जनाएका थिए ।

बैठकमा कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न अनसनरत केसीलाई आग्रह गर्ने निष्कर्ष निकालिएको छ । ज्ञातव्य छ, चिकित्सक केसी गत २३ दिनदेखि अनशनमा रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोली मंगलबार नै अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी चिकित्सक केसीलाई भेटेको थियो । सरकारले उनका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ । तर, अभियन्ता केसीले औपचारिक वार्ता टोली गठन हुनुपर्ने माग गरेका छन् ।

यसअघि यही असोज ६ गतेको बैठकले संवैधानिक निकायका रिक्त पदमा संविधान र कानूनबमोजिम छिटो नियुक्ति प्रक्रिया अघि बढाउनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको थियो । ती नियुक्तिका लागि पहल गर्न र सम्बन्धित पक्षलाई पनि सहयोग गर्न आग्रह गरेको सचिवालय बैठकले आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सङ्कल्प गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

यस्तै, यही असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो । सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र दाहालले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय पनि गरेकामा यसबीचमा तय भई दुई पटकसम्म सचिवालयका बैठक स्थगन भएका छन् ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । स्थायी कमिटीको सो बैठकले अध्यक्ष ओली सरकारका काममा केन्द्रित हुने र प्रचण्डचाहिँ पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षका भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक पनि तय गरेको छ ।