नेपालको आर्थिक पुनरोत्थानमा एनआरएनए र सरकार सँगै हिँड्न सक्लान् ?

नेपालको आर्थिक पुनरोत्थानमा एनआरएनए र सरकार सँगै हिँड्न सक्लान् ?


डिल्ली अम्माई, बेल्जियम

एनआरएनएको १३औँ बैठकको अवसरमा ‘नेपालको अर्थतन्त्रमा कोभिड १९को असर र हामी एनआरएनहरुको भूमिका’ विषयक भर्चुअल वैचारिक सेसन अद्भुत रह्यो । आयोजक संस्थाका पूर्व युरोप संयोजक शिवकुमार बरुवालद्वारा संचालित उक्त सेसन लगभग २ घण्टा चलेको थियो थियो ।

पूर्व अर्थमन्त्री तथा नेकपाका बौद्धिक नेता सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री नवीन्द्रराज जोशी, उद्योगपति राजेन्द्र खेतान, नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी, होटल व्यवसायी टेकबहादुर महत लगायत सहभागी बहसमा कोभिडले पारेको असरबारे मुख्यतया तीन कुराहरु आए ।

जीविकोपार्जन, वित्तीय र पर्यटनमा कोरोनाको प्रभाव प्रलयकारी रहेको कुरामा सबैको एकमत देखियो । त्यसको प्रभावबाट परेको क्षतिको पुनरुत्थान गर्न पनि तीन किसिमकै रणनीति अपनाउनु पर्ने बहसको निचोड थियो । जस्तो कि बाँच्नको लागि अपनाइने रणनीति, पुननिर्माणको लागि अपनाइने रणनीति अल्पकालीन चरित्रका हुन् भने देशमा गुणात्मक विकासको रणनीतिको चरित्र दीर्घकालिक हुन् । यी तिनै किसिमका रणनीति तथा कार्यनीतिहरुमा राज्य र डायस्पोराका नेपालीहरुले असिम भूमिकाको साथै दुवैतर्फका सम्बद्ध ब्यक्ति तथा संस्थाको अथाह त्यागको अपेक्षा देखियो ।

बहसमा कोरोना प्रभावबारे आएका विभिन्न तर्कहरुलाई निम्नानुसार टिपोट हर्न सकिन्छ-

१. कोरोनाको प्रभावबाट शहरी क्षेत्रको जनजीवन गाउँले जीवनभन्दा बढी प्रभावित देखियो । कोरोनाको प्रभावलाई चिर्न गाउँमा श्रम शक्तिलाई केन्द्रित गर्दै आफू आत्मनिर्भर हुने र संकटकालमा शहरहरुलाई गाउँले बचाउन सक्ने आधार तय गर्नुपर्ने अवस्थाबारे समेत तर्कहरु आए । त्यसको लागि एनआरएनहरुले गाउँमा हुन सक्ने कृषि र कृषिमा आधारित उद्योग, मिनरल वाटरलगायत आधुनिक पर्यावरणअनुकुल वन पैदावारमा लगानीको वातावरण हुनुपर्ने आवश्यकताबारे समेत बक्ताहरुले बहस गरे ।

२. नेपालमा अहिलेसम्म एक मिलियन भन्दा बढी पर्यटकले नेपाल भ्रमणबाट वञ्चित भएको, पर्यटन ब्यावसायसँग सम्बद्ध सबै होटललगायत ब्यवसायहरु धरासायी हुँदै गएकोले त्यसको बचाउको लागि नेपाली आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने र एनआरएनहरु पनि नेपालको पर्यटन उद्योग बचाउको लागि एनआरएन नेपालीलाई नेपाल जान प्रोत्साहित गर्नुपर्ने बहसको निचोड निकाल्न सकिने देखियो । सम्बन्धित मजदुरहरु क्रमशः कृषि, खानीलगायत क्षेत्रमा स्थानान्तरण गर्ने नीतिलाई प्राथमिकतामा राख्नुपर्ने तर्कहरु समेत छलफलको क्रममा आए ।

३. संसारको अर्थतन्त्र साइबर नियन्त्रित र आर्थिक विकास नीति डाटा बेस हुँदै गएको सन्दर्भमा नेपालको सम्भावित क्षेत्रमध्ये आयुर्वेदिक औषधि, अर्गानिक कृषिजन्य उत्पादन र मौलिक अन्य उद्योगहरुबाट उत्पादित सामानहरुको अनलाइन विज्ञापन, अन्तर्राष्ट्रिय अनलाइन खरिद बिक्री प्रणालीबारे बहस गर्न विश्वभरिका नेपाली डाटाविदहरुसंग सम्बन्धित निकायले बहस गर्नुपर्ने तर्क सुरेन्द्र पाण्डेले राख्नुभएको थियो । अबको युग डाटा अर्थतन्त्र र अनलाइन ब्यापारको युग भएकोले योबारे एनआरएन तथा नेपाल सरकारले मिलेर काम गर्न समेत बहसले आग्रह गरेको छ ।

४. कोभिड १९ को कारण २५ प्रतिशत नोक्सानी ब्यापारले एक्लै व्यहोरीरहेको वर्तमान अवस्थामा अनलाइन बाहेक होम डेलिभरी ब्यवसाय पनि अर्को विकल्प हुन सक्छ । ब्यवसायीहरु त्यसको लागि पनि गम्भीर हुनुपर्ने हो कि ! केही वक्ताहरुले बहसमा जिज्ञासा राखेका थिए ।

५. नेपालका प्रसिद्ध उद्योगपति राजेन्द्र खेतानले भारत र चीनले आक्रामक ब्यापार नीति अँगालेको सन्दर्भमा नेपालले भारत र चीनलाई विश्वासमा लिएर बेजिङ्ग र ब्याङ्ग्लोर ब्यापार वेभको प्रस्ताव गर्न सक्छ भन्दै त्यसले नेपालको निर्वाहमुखी ब्यापारलाई उत्पादनमुखी बनाउन सक्ने धारणा राखे । खेतानले नेपाललाई एक व्यापारिक तथा वित्तीय हब बनाउन मद्धत पुर्‍याउने धारणा समेत राखेका थिए । एसियाको वित्तीय उपकेन्द्र वा केन्द्र बनाउँदा नेपालले वित्तीय लगानीबाट स्विजरल्याण्डले जस्तै दीर्घकालिन फाइदा लिन सक्ने देखियो । तर त्यो नीति देशको गुणात्मक विकासको दीर्घकालिक नीतिअन्तर्गत राख्नुपर्ने वक्ताहरुको निचोड थियो ।

६. कोभिड-१९ ले शहरिया श्रम शक्तिलाई प्रवास, गाउँको श्रम शक्तिलाई शहरतर्फ केन्द्रीकरण गर्दै प्राथमिकताका क्षेत्रमा स्थानतरण गर्नुपर्ने र त्यो जनशक्तिलाई प्रवासको ज्ञान, सिप र बुद्धियुक्त जनशक्तिमार्फत तालिम दिँदै थप धारिलो बनाउन आवस्यक देखियो । त्यसमा एनआरएनएले आवश्यक नीतिहरु बनाएर एक एनआरएन एक रोजगारमार्फत मुलुकको कठिन अवस्थामा राज्यलाई सघाउनु पर्ने बहसको अर्को निचोड थियो ।

७. अर्का वक्ता नवीन्द्रराज जोशीले ‘एक एनआरएन एक नेपाली उत्पादनको उपहार’ नामक योजनाले विदेशी पर्यटकहरुको मनोविज्ञानलाई सकारात्मक प्रभाव पर्ने र नेपाली उत्पादनको ब्यापार तथा विज्ञापन पनि हुने हुँदा त्यसले पनि नेपालको खस्किँदो आर्थिक प्रभावको सन्दर्भमा थोरै राहत पुग्नेु निष्कर्ष सुनाएका थिए ।

शिव बरुवालले सञ्चालन गरेको कोभिड-१९ को अर्थतन्त्रमा परेको प्रभाव र बचाउने उपाय बारेको उक्त बहस पनि एनआरएन र सरकारको संयुक्त प्रयासमार्फत मुलुकको अर्थतन्त्रलाई पुनर्जीवन दिँदै दुवै शक्तिमार्फत आर्थिक पुननिर्माणको लागि आधार तयार गर्ने र क्रमशः गुणात्मक रुपमा फड्को मार्ने योजनामा लाग्नुको विकल्प नभएको बहसको निष्कर्ष देखियो ।

बहसको अन्त्यमा एनआरएनएका उपाध्यक्ष बद्री केसीले आफ्नो मन्तब्यसहित निकालेका केही संस्थागत निष्कर्षहरु यस प्रकार रहे-

निष्कर्ष नम्बर १. नेपाल पर्यटन बोर्ड र एनआरएनएको संयुक्त प्रयासमा पर्यटन अभियान अगाडी बढाउने र डिजिटल मिडिया प्रयोग गरेर पर्यटकीय स्थलहरुको प्रचार गर्ने नीतिलाई प्राथमिकतामा राख्ने ।

निष्कर्ष नम्बर २. अल्पविकसित देशको आयात प्रोत्साहन नीतिमा टेकेर युरोप तथा अमेरिका जस्ता विकसित देशमा नेपाली सामानको आयात बढाउने । एनआरएनहरुले नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने ।

निष्कर्ष नम्बर ३. सबै प्रवासीहरुले नेपालमा लगानी गरी एक एनआरएन एक रोजगार सृजनाको पहल गर्ने ।

एनआरएनएका उपाध्यक्ष बद्री केसीको सभापतित्वमा भएको छलफल सत्रलाई एनआरएनए सल्लाहकार सोम सापकोटाले स्वागत गरेका थिए ।