अति उपेक्षा वर्जयते !

अति उपेक्षा वर्जयते !


■ राजबाबु शंकर

सरकारले राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने सर्वव्यापी सिद्धान्त हो । तर, जब सरकारको नीति र बोली व्यवहारमा मेल खाँदैन, सरकारप्रतिको विश्वासमा धमिरा लाग्न थाल्छ । बोली र व्यवहारमा मेल नहुने बित्तिकै स्थापित नीति–नियमको कुनै माने रहँँदैन । र, जबसम्म कुरा र काम गराईमा तालमेल नराख्ने नेता वा शासकको बोलबाला रहिरहन्छ, तबसम्म देश र जनताको भलो हुनसक्ने सबै द्वारहरू बन्द हुन्छन् । हाम्रो मुलुकमा आजसम्म भइआएको यस्तै छ, भन्छन् एउटा र गर्छन् अर्को !

एउटा राजनेता भए देशको प्रगति हुन सक्छ भन्ने उदाहरण आजसम्म कैयौैँ मुलुकका नेताहरूले पेश गरिसकेका छन् । छिमेकी चीन हाम्रासामू गतिलो उदाहरण छ । अझ छेउकै कुरा गर्दा नेपालसित सीमा जोडिएको भारतीय प्रान्त बिहारमा एउटा नीतिश कुमारले बिहारको बदनाम पहिचानलाई बदलिदिएको र क्रमशः उन्नत गर्दै लगेको उदाहरणीय नजीर छ । तर, हाम्रा नेता भनाउँदाहरूले त्यही बिहारबाट पनि सिक्न जानेन वा चाहेन ! भालुलाई पुराण नभनिहाले पनि अन्य देशका सफल राजनेताका त कुरै नगरौं ।

बरु दैनन्दिन हाम्रो देशमा भ्रष्टाचार, कमिशनखोरी, तस्करी र माफियागिरीको श्रृङ्खला अटुट छ । एउटा कुशल शासक वा प्रशासकले तन–मन र वचनमा तादात्मय राखेर जिम्मेवारीपूर्वक जनताप्रति जवाफदेही बन्दै काम गर्दा कुनै पनि हालतमा अवनति हुनै सक्दैन । बेथिति र भ्रष्टाचारमा डुबेर निरन्तर घाटामा गएको संस्थाको व्यवस्थापन सुधार्दै, भ्रष्टहरूको जंजाल तोड्दै, इमानी काम गरेर नाफामा लैजान सकिन्छ भन्ने अति उत्तम उदाहरण त नेपाल विद्युत प्राधिकरणको कार्यकारी–निर्देशक रहँदा कुलमान घिसिङले नै दिएका छँदैछन् । घिसिङले आफ्नो ४ वर्षे कार्यकालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ मात्र हटाएनन्, ९ अर्ब घाटामा गएको र बारम्बार सरकारसित अनुदान लिँदै थिग्रिरहेको प्राधिकरणलाई उल्लेख्य नाफामा लैजान सक्नुको अन्तर्य आजसम्म कसले खोज्यो र त्यसलाई रोलमोडल बनाएर अघि बढ्न कुन चैं नामका दलका कुन शासकले फर्मान जारी गरे ? देखेर पनि नसिक्ने, बरु डाहा गर्ने बडो उदेकलाग्दो कुप्रवृत्ति छ, हाम्रा कुनै पनि शासक (सरकार) र प्रशासकहरूको !

सरकारले जनमतको अपमान गर्नुभन्दा आम नागरिकको आवाजलाई सम्बोधन गर्न पनि घिसिङलाई निरन्तरता दिनु सरकार आफै विवेकी रहेको ठहर गराउने एउटा असल काम हुनेछ । अन्यथा, शासक/प्रशासक भ्रष्ट र जनविरोधी कार्यका सूत्रधार हुँदाको दुष्परिणामको मूल्य त तिनैले एक न एक दिन चुकाउनै पर्दछ– जनताको यो श्रापले तिनलाई अधोगतिउन्मुख बनाउने नै छ । अति सर्वत्र वर्जयते !

केवल एउटा कुशल प्रशासकले कुन हदसम्म सुधार गर्न सक्छ भन्ने सर्वोत्तम उदाहरण हुन्– कुलमान, त्यसैले उनको बहिर्गमन पश्चात् पनि आम नेपालीको मनमनमा उनीप्रतिको लगाव छताछुल्ल भएर सडकहरूमा प्रदर्शित भइरहेको हो । कुलमान जतिकै सरकारका मान्छेहरू वा कर्मचारीतन्त्रले इमान्दार भएर आ–आफ्नो जिम्मेवारी मात्र पूरा गर्ने हो भने परिणाम सुखद आउनेमा रत्तिभर शंका रहन्न । कानूनी राजमा जनमतको सम्मान हुनु पर्छ । तर, हाम्रा सरकार भने राम्रो काम गरेर जनताको मन जितेका घिसिङबाट पुनः अपेक्षा गर्नुभन्दा कार्यकाल नथपेर सजाय दिने निर्लज्ज कृतघ्नता गरिरहेको छ । यो सीमाहीन विडम्बनाको विषय हो ।

चुनावमा हारेकालाई धमाधम सांसद बनाउन कानूनले नछेके पनि राम्रो काम गर्ने घिसिङलाई निरन्तरता दिन कानूनले छेक्यो भन्ने तर्क गर्ने सरकारी तर्क हास्यापद मात्र छैन, घोर निन्दनीय र खेदजन्य पनि छ । सरकारले जनमतको अपमान गर्नुभन्दा आम नागरिकको आवाजलाई सम्बोधन गर्न पनि घिसिङलाई निरन्तरता दिनु सरकार आफै विवेकी रहेको ठहर गराउने एउटा असल काम हुनेछ । अन्यथा, शासक/प्रशासक भ्रष्ट र जनविरोधी कार्यका सूत्रधार हुँदाको दुष्परिणामको मूल्य त तिनैले एक न एक दिन चुकाउनै पर्दछ– जनताको यो श्रापले तिनलाई अधोगतिउन्मुख बनाउने नै छ । अति सर्वत्र वर्जयते ! चेतना भया ।