अग्रिम महसुल तिरेर २५ प्रतिशत छुट प्राप्त गर्न प्राधिकरणको आग्रह

अग्रिम महसुल तिरेर २५ प्रतिशत छुट प्राप्त गर्न प्राधिकरणको आग्रह


नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।

प्राधिकरणले बिहीबार (१५ असोज) एक सार्वजनिक सूचना जारी गर्दै जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ ।

केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको बताइएको छ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार मिटर रिडर मिटर पढ्न नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य भएको जनाएको छ ।

नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइँदै आएको स्मरण गरेको छ । यस्तै ८औंं दिनदेखि १५औं दिनसम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ । निमायनुसार १६औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिनभित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।

प्राधिकरणले आफ्नो सूचनामा भनेको छ– ‘विगतका महिनाको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो बराबरको रकम अनुमान गरी अग्रिम बुझाएमा पछि विद्युत् महशुल अनुसारको विल हिसाब मिलान गर्दा २५ छुट पाइने छ ।’

विद्युत् महशुल भुक्तानी गर्न ढिला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिने, प्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने प्राधिकरणको भनाइ छ ।

यस्तै ग्राहक स्वयंले मिटर पढ्न जान्नु उत्तम रहेको भन्दै आफै मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु राम्रो हुने प्राधिकरणले जनाएको छ ।