आयातीत मरेको माछामा विषाक्त रसायनको प्रयोग बढेपछि…

आयातीत मरेको माछामा विषाक्त रसायनको प्रयोग बढेपछि…


झापाको विर्तामोड नगरपालिकाले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको बिहीबार बसेको बैठकले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको प्रयोगले मानव स्वास्थ्यलाई प्रतिकूल असर पुऱ्याउने हुँदा यसको बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको नगरका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिए।

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामक विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पुऱ्याउन सक्छ । माछा र कुखुराको अण्डामा विर्तामोड नगरपालिका आत्मनिर्भर रहेको हुँदा त्यस्ता विषाक्त रसायन प्रयोग भएको भारतीय माछाको विक्री गर्नुपर्ने आवश्यकता नै नभएको उनको भनाइ छ ।

झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला समेत नगरपालिकाले सञ्चालन गर्दै आएको छ । विर्तामोड नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले विभिन्न अभियान पनि सञ्चालन गर्दै आएको छ । नगरप्रमुख ध्रुव शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले भारतबाट आयातीत विषाक्त रसायनको प्रयोग भएको माछाको बिक्री गरेको पाइएमा त्यस्ता व्यवसायीलाई कडा कानूनी कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झण्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरुले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।

फर्मालिनको वास्तविक नाम फर्मलडिहाइड्रेड हो । यो एक प्रकारको विषाक्त रसायन हो । शवहरु सड्न नदिन मूर्दाघरमा फर्मालिन प्रयोग गरिन्छ । मरेका माछालाई यसमा डुबाएपछि ताजा जस्तै देखिन्छ । तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानीकारक हुन्छ ।

तत्काल कुनै असर नगरे पनि यसले दीर्घकालीन रोगहरु निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले विशेषगरी मुटु र मृगौलालाई असर गर्ने, पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्ने चिकित्सहरुको भनाइ छ । विश्वभरि नै फर्मालिनको प्रयोग प्रतिबन्धित छ । विश्व स्वास्थ्य सङ्गठनले खानेकुरामा फर्मालिन शून्य हुनुपर्ने भनेको छ ।