८ कार्तिक २०७७, शनिबार

नेपालका तीन राष्ट्रवादीको प्रसङ्ग

  प्रकाशित मिति
१६ आश्विन २०७७, शुक्रबार ०४:१२


दामोदर गौतम

नेपालको इतिहासलाई विश्लेषण गर्दै आउँदा मैले मुख्य तीन व्यक्तिहरू अत्यन्तै राष्ट्रवादी पाएको छु, जसमा राणाकालका जङ्गबहादुर राणा, प्रजातान्त्रिक कालमा बीपी कोइराला र पञ्चायत कालमा डा. देवेन्द्रराज पाण्डे ।

जङ्गबहादुरलाई मैले किन राष्ट्रवादी मानेको हुँ भने सन् १८५७ को भारतमा सिपाही विद्रोह हुँदा नेपालले अंग्रेजलाई सहयोग गरेवापत केही उपहार दिन पऱ्यो भनेर अंग्रेजले उपहार दिने निर्णय गरेछन् र जङ्गबहादुरसँग ‘तपाइँ हामीसँग के माग्नुहुन्छ माग्नुस्’ भनेछन् । ब्रिटिसहरूलाई के लागेको रहेछ भने यो राणा प्रधानमन्त्री २–४ करोड रुपैयाँ त माग्ला, या रक्सी र तरुणीको सौखिन रे, त्यस्तै त माग्ला नि ! अनि जङ्गबहादुरले पनि ‘दिने भए माग्छु नत्र किन माग्ने ?’ भनेछन् । अंग्रेजहरूले पैसा, रक्सी वा तरुणी त माग्ला नि भनेर, माग्नोस् न दिन्छौँ भनेछन् ।

जङ्गबहादुरले अंग्रेजलाई बाचा गराएपछि भनेछन्– ‘सुगौली सन्धीबाट नेपालले गुमाएको पूर्वको टिष्टादेखि पश्चिममा काँगडासम्मको भू–भाग दिनुस् ।’

जङ्गबहादुरको माग सुनेर ब्रिटिसहरू छक्क परेछन् । सौखिन कुरा माग्ला कि भनेको त देशै पो माग्यो भनेर । तैपनि द्विपक्षीय सम्बन्धमा बोलेको पक्का हुनपर्छ भनेर जङ्गबहादुरलाई सबै भू–भाग त दिन मिल्दैन तैपनि हामीले वचन दिइसकेको हुनाले ४ जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर दिन्छौँ भनेर फिर्ता गरे । यी चार जिल्लालाई नयाँ मुलुक भन्ने चलन अहिलेसम्म पनि छ ।

मैले देखेको अर्का राष्ट्रवादी बीपी कोइराला नै हुनुहुन्छ । नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा राख्न र आम नेपालीलाई आफूसरहको बनाउने उहाँको चिन्तन अत्यन्त राष्ट्रवादी छ । यदि राष्ट्रप्रति कसैले चिन्तन गरेको छ भने त्यो बी.पी. कोइरालाले मात्र गरेको देखियो । बी.पी एक सुझबुझपूर्ण व्यक्तित्व भन्न करै लाग्छ र देशभक्त पनि । २०१६ सालमा चाइनिज सेनाले हमला गरी नेपालका सुवेदारको हिमालय सिमानामा हत्या गरिसकेपछि सो हत्या काण्डको विरोधमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको हिमालयसम्मको कसैले हमला गर्छ भने त्यो हमला भारतले आफूलाई गरेको सम्झने छ भन्दा बीपी कोइरालाले ‘यो नेपालमाथिको हमला हो, भारतमाथिको हमला हैन र यसलाई नेपालले नै सूझबुझपूर्ण तरिकाले सामना गर्नेछ भन्नुभएर नेपालको स्वतन्त्रता र सार्वभौम स्वतन्त्र अस्तित्व कायम राख्न प्रयास गर्नुभयो ।

उता सगरमाथाको उत्तरी क्षेत्रलाई चाउ एनलाई र माओले उत्तरी मोहडा चीनको हो र दक्षिणी मोहडा नेपालको हो भन्दा बीपी कोइरालाले त सगरमाथा हिमाल उत्तरी मोहडा मात्र हैन उत्तरपट्टिको (टिगुली) मैदान समेत हाम्रो हो भन्ने प्रमाण समेत जुटाइदिन सफल हुनुभयो । तर वि.सं २०१७ साल पौष १ गतेको कदमपछि राजा महेन्द्रले पञ्चायत जोगाउनका निम्ति सगरमाथाको उत्तरी मोहडा चीनको र दक्षिणी मोहडा नेपालको हो भनी सन्धी गरे ।

त्यस्तै एकपटक योजना आयोगको बैठकमा राजा महेन्द्रको फोटो देख्दा बीपीले ‘राजाको फोटो त राख्नुस् तर यसको साथै त्यहाँ एउटा भोको नाङ्गो हलो जोतिरहेको किसानको फोटो पनि राख्नुपर्छ’ भन्ने उहाँको धारणा कस्तो दृष्टिकोण, कस्तो चिन्तन थियो उहाँमा ।

मैले तेस्रो राष्ट्रवादी व्यक्तित्व देवेन्द्रराज पाण्डेलाई किन भनेको भने, २०३६ सालको जनमत संग्रहको बेलामा उहाँ अर्थसचिव हुनुहुन्थ्यो । त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले पाण्डेसँग ‘पञ्चायतलाई जिताउन राष्ट्रको ढुकुटीबाट पैसा चाहियो, अन्य भौतिक एवं प्राकृतिक सम्पदाको प्रयोग गरौँ, २/४ करोड तिमी खाउ २/४ करोड म खान्छु’ भनेर भन्दा पनि पाण्डेले तपाइँको पैसा तपाइँ नै खानोस् मलाई चाहिँदैन भनेर सचिव पदबाट राजीनामा दिएर हिँड्नुभयो । अहिलेको अवस्थामा पनि कति इमान्दार कति राष्ट्रवादी ? जबकि अहिले मुलुकमा देखिएको विकृति, विसंगति खाली पैसाको कारण हो ।

प्रजातन्त्रमा इमान्दारिताको प्रसङ्ग :

मलाई के लाग्दछ भने प्रजातन्त्र बलियो हुन शासन गर्ने पार्टी बढी जिम्मेवार र नेता कार्यकर्ताहरू सक्षम एवं इमान्दार हुनुपर्छ । तर, यहाँ प्रमुख विपक्षी पार्टीमा रहेको एमाले २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन भन्नेदेखि राष्ट्रका हरेक संवेदनशील मुद्दामा बारम्बार बोली फेर्ने र जनता झक्याउनमा नै उद्धत देखियो । रा.प्र.पा. का नेताहरू त नाम फेरे पनि पञ्च नै हुन् र ३० वर्षे पञ्चायत कालका भ्रष्ट र गन्हाएकै हुन् । फलस्वरुप आज हाम्रो देश नेपाल सक्षम, सफल र दूरदर्शी नेताविहीन अवस्थामा पुगेको छ ।

चाहे जुनसुकै पार्टीमा किन नहोस्, खाँटी र इमान्दार कार्यकर्ताहरू सबै पछि परेका छन् । प्रजातन्त्र प्राप्त भएको १३ वर्षमा प्रायः पार्टीहरूमा जसले पैसा दिन्छ, जसले रक्सी दिन्छ, जसले तरुणी दिन्छ उनीहरू नै नेताका वरिपरि रहन थाले । पैसा लिएर जिएम बनाउने, पैसा लिएर राष्ट्रिय सभामा पठाउने जस्ता कार्य भए । जनता र कार्यकर्ताबाट नेताहरू टाढा हुँदै गए । तस्कर र कमिशनखोरहरूको घेराले नेताहरूलाई निस्कनै नसक्ने गरी जकड्यो । त्यसैको फलस्वरुप देशमा गम्भीर समस्याको रूपमा माओवादी समस्या उत्पन्न भएको हो । यही समस्याले गर्दा अब त प्रजातन्त्र त परै जावस् देशको अस्तित्व नै रहने कि नरहने भन्ने अवस्थामा मुलुक आइपुगेको छ ।

(वेदादिशास्त्र समाज र कलियुग तथा नेपालमा दलीय राजनीति, दामोदर गौतम)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ कौशिक नवराज अहिले चर्चामा रहेको शब्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले

अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै

■ लामिछाने मातृका गोलागानो भन्नाले भुँडीमा हाइड्रोक्लोरिक अम्लको उत्पादन र उपयोगितामा हुने असन्तुलनबाट आमासयको भित्तामा रहेका कोषहरूको सुजनलाई जनाउँदछ ।