संसारलाई चकित पार्दै बेल्जियमकी पूर्वप्रधानमन्त्री सोफी विदेशमन्त्री बनिन् !

संसारलाई चकित पार्दै बेल्जियमकी पूर्वप्रधानमन्त्री सोफी विदेशमन्त्री बनिन् !


डिल्ली अम्माई, बेल्जियम

नयाँ सरकार बनाउने सहमतिमा वार्ता गरिरहेका बेल्जियमका सात दलहरू अन्ततः सरकार बनाउन सफल भएका छन् ।

फ्लेमिश र फ़्राङ्कोफोन समाजवादीहरू, उदारवादी, हरियाली र फ्लेमिश क्रिश्चियन डेमोक्र्याटहरूले एक गठबन्धन बनाएका छन् जसलाई ‘भिवाल्दी गठबन्धन’ भनिन्छ ।

वार्ताको नेतृत्व गरिरहेका अलेक्ज्याण्डर डे क्रो र समाजवादी नेता म्याग्नेटले २९ सेप्टेम्बर बिहान १० बजे राजा फिलिपसँग भेट गरे । त्यसपछि दरबारमा राजा फिलिपले आफ्नो तात्कालिक कार्यक्रम सँगै सपथग्रहण कार्यक्रम घोषणा गरेका हुन् ।

सत्तामा साझेदारी गर्ने सात दलहरुको समझदारी भएअनुरुप नै बिहीबार बिहान १० बजे राजदरबारमा एक समारोहमा फ्लामिस उदारवादी दलका नेता अलेक्ज्याण्डर डी क्रोको नेतृत्वमा बनेका सबै नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसकेका छन् । मन्त्रीहरूको नाम बुधवार (३० सेप्टेम्बर) साँझ घोषणा भैसकेको थियो ।

सरकार साझेदारी दलहरुमद्धे समाजवादीहरूले समाज कल्याण मन्त्रालयको नेतृत्व गर्ने छन्, उदारवादी दलले आर्थिक नीति निर्माणको लागि अर्थ मन्त्रालय रोजेका छन् भने हरियाली पार्टीले वातावरण मन्त्रालय रोजेको छ ।

बेल्जियमको नयाँ प्रधानमन्त्री, ४४ वर्षका अलेक्ज्याण्डर डी क्रो, बिजनेश इन्जिनियरिङ्ग विज्ञानमा स्नाकोत्तर गरेका राजनीतिज्ञ हुन् । उनी फ्लेमिश उदारवादी दलका अनुभवी राजनीतिज्ञ हर्मन डी क्रोका छोरा हुन् । उनले धेरै पटक बेल्जियमका सरकारहरूमा उपप्रधानमन्त्रीका साथै अन्तर्राष्ट्रिय विकासमन्त्री र डिजिटल एजेन्डा मन्त्री, हुलाक कार्यालय र टेलिकमका लागि समेत सञ्चारमन्त्री भएर काम गरेका थिए । अब उनले फ्लेमिश र समाजवादीहरू, उदारवादी र हरियाली प्लस र फ्लेमिश क्रिश्चियन प्रजातन्त्रबादी गठबन्धनको नेतृत्व गर्नेछन् ।

नयाँ सरकारले विगतमा राम्रो काम गरेका अनुभवी राजनीतिज्ञहरुबाट मन्त्रीमन्डल बनाएको छ । फ्लेमिश समाजवादीहरूले आफ्नो पार्टीबाट सहायक प्रधानमन्त्रीको रूपमा फ्रान्क भान्डेनब्रुकलाई मनोनित गरेका छन् । स्वास्थ्य तथा समाज कल्याणमन्त्री भान्डेन ब्रुकले सार्वजनिक स्वास्थ्य र सामाजिक मामिलासम्बन्धी जिम्मेवारीका साथै दोश्रो महत्त्वपूर्ण पोर्टफोलियो प्राप्त गर्ने छन् । ६४ वर्ष पुगिसकेका ब्रुकले यसअघि पनि उपप्रधानमन्त्रीको साथै संघीय मामला विदेश, रोजगार, सामाजिक मामिला तथा पेन्सनमन्त्री र फ्लेमिश संघीय सरकारको शिक्षामन्त्रीको रूपमा काम गरिसकेका छन् । उनी तेश्रो पटक मन्त्री हुन पाउने भाग्यशाली ब्याक्ति हुन् । सन् १९९६ अगस्टा घूस काण्डमा मुछिएपछि उनले राजनीति छोडेर अक्सफोर्ड विश्वविद्यालय गए । मास्टर्सको पढाइ सकेर लन्डनबाट फर्कीआएपछि सन् २०११ बाट आफ्नो पार्टीमार्फत मुलुकका शैक्षिक अभियानभित्र छिरेर काम गर्न थालेका हुन् ।

यसभन्दा अघिकी बेल्जियमकी महिला प्रधानमन्त्री सोफी विल्म्सको बारेमा संसारलाई नै चकित पार्ने खबर छ । अन्यत्र जे भए पनि विकसित देशको खासगरी बेल्जियमको लामो समयदेखि परम्परा के रहेको छ भने प्रधानमन्त्री भएर काम गरेकाहरु पछि मन्त्री भएर पनि देशको सेवा गर्छन् भने मन्त्रीले मेयर भएर पनि काम गरेका उदाहरण छन् । मुलुकको सेवामा जहाँ आफ्नो आवश्यकता हुन्छ त्यहीँ बसेर आफ्नो मातृभूमिको सेवा गर्दछन् ।

पूर्वप्रधानमन्त्री सोफीले अब उपप्रधान तथा विदेशमन्त्रीको रूपमा सेवा गर्न पाउने छन् । पूर्वप्रधाममन्त्री सोफी विल्म्स मुख्यतया बेल्जियमको नयाँ विदेशमन्त्री हुन् । भर्खर ४५ वर्ष टेकेकी सोफीले आफ्नो उदारवादी पार्टीको लागि उपप्रधानमन्त्रीको रूपमा तेश्रो पोर्टफोलियो प्राप्त गरेकी छन् ।

श्रीमती विल्म्स बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री हुन् । गत वर्ष प्रधानमन्त्री मिशेलले युरोपेली राष्ट्रपतिको भूमिका ग्रहण गरेपछि उनी प्रधानमन्त्रीको रुपमा कार्यालयमा उपस्थित भएर सपथ लिएकी थिइन् र उनकै नेतृत्वमा तीन महिनाको कोरोना सरकारको नेतृत्व गरेकामध्ये अधिकांश पार्टीहरु अहिले सरकारमा सामेल भएका छन् ।

बेल्जियमको नयाँ आन्तरिक गृहमन्त्रीको राजनीतिक इतिहास खासै देखिन्न । ४२ वर्षकी एनेलियस भेर्लिडेन धेरै वर्षदेखि ब्रसेल्समा डीएलए पाइपर (DLA Piper Global Law Firm) नामक वकिलहरुको अन्तराष्ट्रिय सँस्थामा संगठित भएर वकालत गरेकी थिइन् र, अब उनले आफूलाई मन्त्री बनाएको पार्टी फ्लेमिश क्रिश्चियन डेमोक्र्याटको प्रतिनिधित्व गर्दै आफ्नो काम अघि बढाउने छन् । उनीसँग राज्यको काउन्सिल र युरोपियन न्यायिक अदालतमा समेत बेल्जियम राज्यको प्रतिनिधित्व गरेर काम गरेको अनुभव छ । सुश्री भेर्लिडेनले यसभन्दा अघि एन्ट्वर्प प्रान्तको स्कोटेन नगरपालिकामा मेयरको रूपमा सेवा गरिसकेकी हुन् ।

उनको एक मात्र आदर्श वाक्य हो– ‘महान चिजहरू कहिल्यै सान्त्वनाबाट आएका हुँदैनन्’ ! उनको विचारमा अथक संघर्षबाट प्राप्त सुख अनमोल हुन्छ ।

पेट्रा डी सुटर, बेल्जियमका सबैभन्दा परिचित पाको राजनीतिज्ञ हुन् । उनी बेल्जियमको सार्वजनिक सेवा र सार्वजनिक स्वामित्वका व्यवसायहरूको प्रवर्धन र उत्थानको लागि नयाँ बाणिज्य मन्त्री भएकी छन् । यो भर्खरै बनाइएको नयाँ मन्त्रालय हो । उनी फ्लेमिश हरियो पार्टीबाट प्रतिनिधित्व गर्ने उपप्रधानमन्त्री पनि हुन् । ५७ वर्षकी सुश्री दे सुटरले युरोपेली संसद र बेल्जियमका सिनेटमा काम गरिसकेको अनुभव छ । उनी स्त्री रोग तथा प्रजनन विशेषज्ञ समेत हुन् र उनी १० वर्ष भन्दा बढी समय गेन्टको मेडिकल विश्वविद्यालय तथा अस्पतालको प्रजनन औषधि विभागको नेतृत्व गरेकी डाक्टर हुन् ।

फ्लेमिश क्रिश्चियन डेमोक्र्याट्सले ३९ वर्षे युवक भिन्सेन्ट भ्यान पीटेगेमको लागि वित्तमन्त्रीको जिम्मेवारीमा पठाएको छ । दुई मिटर अग्ला श्री भ्यान पीटेगहेम, पूर्वी फ्लान्डरका हुन् र उनि अरुभन्दा फरक राजनैतिक सोच भएका राजनीतिज्ञ हुन् । उनले संघीय र फ्लेमिश संसदमा काम गरिसकेका छन् र सीडी एन्डभी पार्टीको भर्खरको चुनावी हारको छानबिन समितिका सदस्य समेत रहेका थिए।

जलस्रोतमन्त्री भिन्सेन्ट भ्यान क्विक्वेनबोर्न, धेरै मानिसहरूले उनलाई ‘क्विकि’ भनेर चिन्छन्, उनी बेल्जियमको जलको स्रोत उत्तर सागरका लागि मन्त्री बनेका छन् । यसको साथै उनी न्यायमन्त्री र फ्लेमिश उदार पार्टीबाट उपप्रधानमन्त्रीको रूपमा पनि आउँदै छन् । ४७ वर्षका’क्विकि’ अघिल्लो पटक र वर्तमान समयमा समेत कोर्ट्रिक्क नगरपालिकाका मेयर हुन् भने राज्य सचिव र पेन्सनमन्त्रीका रुपमा समेत काम गरिसकेका छन् ।

मरियम कितीर नयाँ अन्तर्राष्ट्रिय विकासमन्त्री हुन्, जसमा उनले ठूला अन्तराष्ट्रिय स्तरका शहरहरूको विकास र सम्बन्धको लागि नीति निर्माण गर्ने छिन् । उनी भर्खर ४० वर्षको उमेरमा टेक्दै गरेकी फ्लेमिश समाजवादी पार्टीमा आबद्ध छन् । सुश्री किट्टिरले २००७ देखि केन्द्रिय एसेम्लीमा सांसदको रूपमा सेवा गरिसकेकी छन् ।

फ्लेमिश हरियाली पार्टीको प्रतिनिधित्व गर्दै टिन्ने भ्यान दर स्ट्रान नयाँ ऊर्जा मन्त्री भएकी छन् । ४२ वर्षको उमेरका उनले ब्रसेल्सको कोकेलवर्ग स्थानीय परिषदमा १४ वर्ष सेवा गरिसकेकी छन् र उनीग्रीन पार्टीको उपाध्यक्ष हुनुको साथै संघिय कानुन निर्माता पनि हुन् । श्रीमती भ्यान देर स्ट्रान जलवायु र उर्जा कानूनमा विशेषज्ञता प्राप्त एक वकिल समेत हुन् । उनीसंग धेरै ठूला कम्पनीहरूमा काम गरेको अनुभव पनि छ र २०१८ मा कोकेलवर्गबाट सांसद बनिसकेकी छन् ।

सबभन्दा उल्लेखनीय र चासोको नियुक्ति हो नयाँ आश्रय र प्रवास सचिव सम्मी महदी, जसले फ्लेमिश क्रिश्चियन डेमोक्र्याट प्रतिनिधित्व गरेका छन् । महदीले क्रिश्चियन डेमोक्र्याटहरूको युवा नेताको रूपमा सेवा गरेका थिए र गत वर्षदेखि फ्लेमिश क्रिश्चियन डेमोक्र्याटको वरिष्ठ नेता बनेका छन् । उनको यो नियुक्तिले पार्टीको छवि युवाहरु माझ लोकप्रिय हुने विश्वास गरिएको छ। यसका साथै नयाँ सरकारले केही दिनभित्र बेल्जियममा ‘राज्यमन्त्री’ भनिने अन्य कनिष्ठ मन्त्रीहरू सामेल गर्ने योजना बनाएको छ ।

बेल्जियममा उग्र दक्षिणपन्थी र कम्युनिष्ट धार फेरि पनि प्रतिपक्षीको भुमिकामा बस्न बाध्य भएका छन् ।