मान-पदवी : सुरक्षा क्षेत्रमा झन् ज्यादा अन्याय !

मान-पदवी : सुरक्षा क्षेत्रमा झन् ज्यादा अन्याय !


हामी बबिता बस्नेतको लेखको नियमित पाठक हौँ । हरेक हप्ताको बुधबार झैँ यही असोज ७ गते बुधबार पनि घटना र विचारमा उहाँको लेख पढियो । ‘मान पदवी : सम्मानको अपमान’ शीर्षक देखेर खुशी लाग्यो । तर पढ्दै जाँदा ‘मान–पदवी पाएपछि सुरक्षा अधिकारी तथा कर्मचारीहरूको बढुवामा २ नम्बर थपिने भएकाले ती क्षेत्रमा पदकको चार्म फरक छ ।

तक्मालाई लिएर सुरक्षा क्षेत्रमा खासै विवाद नभए पनि कर्मचारीहरूमा भने गृहमन्त्रालयको सम्बन्धित शाखामा आफ्नो मान्छे हुनेहरूले प्रायः तक्मा प्राप्त गर्ने गरेका छन्’ भन्ने बाक्यमा पुगेपछि लेख अगाडी नपढुँ जस्तो लाग्यो । किनभने, तक्मासँग हासिल हुने त्यो २ नम्बरका कारण पीडित हुनेको संख्या सुरक्षा क्षेत्रमा ब्यापक छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा तक्माको चकचकी वर्षैपिच्छे हुन्छ र हरेक वर्ष इमान्दार प्रहरीहरूले चरम पीडा र हीनताबोध गर्नुपर्ने हुन्छ ।

तक्मा, मान पदवीका लागि सुरक्षा क्षेत्रमा नेपाल आर्मीका लागि २५ जना, नेपाल प्रहरीमा १८ र सशस्त्र प्रहरीमा ६ जनाको लागि कोटा निर्धारण गरिएको छ । यी निकायले प्रत्येक वर्ष वैकल्पिक नामहरूसहित राखेर सिफारिश गर्ने गर्छन् । तर सम्बन्धित निकायबाट गरिएका सिफारिशहरूको बेवास्ता गर्दै गृहमन्त्रालय आफैले खल्तीबाट नामहरू सिफारिस गर्छ । प्रहरीका हाकिमको नाम अगाडि राखेपछि कसैले पनि किन हामीले पठाएका नामहरूले पदक पाएनन् ? भनेर प्रश्न गर्दैनन् ।

उदाहरणका लागि यो वर्ष सशस्त्र प्रहरीबाट १२ जनाले पाउने ठाउँमा २४ जनाको नाम सिफारिश गरिएको थियो । जसमा जम्मा २ जना मात्रै सिफारिश गरिएका नामहरू परे । अरु सबै गृहमन्त्रालयमा पहुँचवाला आफैले नाम टिपाए या भनौँ गृहले नै आफूखुशी नामहरू सिफारिश गऱ्यो । आफूले पठाएका नामहरू अस्वीकृत गरेकोमा नेतृत्वले गृहसँग असन्तुष्टि प्रकट गर्नुपर्ने हो तर नेतृत्वकै नाम अग्रपङ्क्तिमा राखिदिएपछि असन्तुष्टि रहने कुरै भएन । कसैले प्रश्न उठाएन तर जसको नाम वर्षौंदेखि सिफारिश हुँदै तक्मा नपाउँदै भएको छ उनीहरूमा भने चरम निराशा छायो ।

रसुवामा हुँदा आफ्नै गाडीमा सुन तस्करी गरेर कार्वाहीमा पर्नेदेखि सीमामा भन्सार छली मोटरका पार्टपुर्जा र लुगाफाटा तस्करी गर्नेहरूले सम्म तक्मा पाए । नेपाल प्रहरीमा पनि पहुँच हुने एसपी श्रीमान् र डीएसपी श्रीमतीले एकैपल्ट गृह मन्त्रालयमार्फत सिफारिश गराएर पाए । मन्त्री र सचिवलाई भनसुन गरेर तक्मा पाउनेका अगाडि इमान्दार अफिसरहरू सधै निरीह बन्दै आएका छन् । प्रेम राई गृहमन्त्रालयको सचिव हुँदा नेपाल प्रहरी र सशस्त्र दुवै निकायमा सबै राई अफिसरहरूले मान, पदवी पाए ।

मन्त्रालयबाट हस्तक्षेपपूर्ण प्रत्यक्ष सिफारिशमा कसकसले तक्मा पाए भन्ने थाहा हुन्छ तर उनीहरूको पहुँचको अगाडि हाकिमहरू सधै मौन बस्ने गरेका छन् । नेपाल प्रहरीमा उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा भने त्यसरी मन्त्रालयबाट डाइरेक्ट पदक पाउनेको ३ नम्बर घटुवा गरि दिएका थिए । त्यसपछिको वर्ष निकायको सिफारिशबाहिर गएर तक्मा लिन डराए पनि फेरि यो क्रमले निरन्तरता पायो ।

विभुषण सिफारिश कार्यविधि एवम् प्रदानसम्बन्धी मापदण्ड २०७५ मा सुरक्षा निकायका राष्ट्र सेवकले पाउने पदकमा सङ्गठनप्रमुखले सिफारिश गर्नुपर्ने उल्लेख छ । तर सङ्गठन प्रमुखहरू प्रायः आफूले आफ्नै नाम सिफारिश गर्ने हुँदा उनीहरूले गरेको सिफारिशले काम गरिरहेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै सङ्गठनमा तक्मा, मान, पदवी घोषणा भएको दिन इमान्दार अफिसरहरूबीच शोक छाएझैँ हुन्छ ।

प्रहरी नियमावलीमा बढुवाका लागि कार्य सम्पादन, शैक्षिक योग्यता, जेष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको, तालिम, चुनौतीपूर्ण काम, बढुवा समितिले दिने नम्बरसँगै विभुषण पनि जोडिएर आउँछ । त्यही दुई नम्बरका कारण पछि पर्ने राम्रा अफिसरहरूको सङ्ख्या ठ्लो छ । बबिता बस्नेतको लेखमा यी कुरा नपरेको हुँदा जानकारी तथा प्रकाशनका लागि पठाएका छौँ । आशा छ, यो कुराले स्थान पाउने नै छ ।
– तक्मा अन्यायमा परेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरू