नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९,७२८

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९,७२८


नेपालमा बिहीबार (१५ असोज) थप १,९११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९,७२८ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । एक महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
बताइएअनुसार सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौंका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, ललितपुरका ४८ वर्षीय पुरुष, बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ५०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२,४४४ जनाको पीसीआर परीक्षण गरिएको र सक्रिय संक्रमितको संख्या २१,८३० रहेको छ भने ५,०७७ जना क्वारेन्टिनमा छन् ।

यसै क्रममा कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको आज दिउँसो मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत सापकोटाको मृत्यु भएको हो ।

वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ डा. सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका थिए भने उनलाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा सापकोटाको मृत्युसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।