त्यो के थियो ?

त्यो के थियो ?


■ यश घिमिरे

घटना २०५६ सालको फाल्गुन महिनाको हो । तराईतिर गर्मीको सुरुवात भैसकेको हुनाले आँगनमा खाट राखेर सुत्ने गर्दथेँ । घरबाहिर सुत्दा गर्मीबाट केही राहत हुन्थ्यो । अमावस्याका दिनहरू चल्दै गरेको थियो । निस्पट अँध्यारो रातमा चिजहरूको धमिलो आकृति मात्र देखिन्थ्यो । आफ्नै हात ठम्याउन मुस्किल त्यहीमाथि गाउँतिर प्रायः ७–८ बजे नै सुनसान हुन्छ । झ्याँउकिरीको किरकिर एकनासको आवाज र कहिलेकाहीँ कतै टाढा कुकुर भुकेको आवाजबाहेक पात खसेको सुनिने गरी चकमन्न थियो । म त्यस्तै ९ बजेतिर सुतेँ हुँला ।

समय यकिनसँग भन्न त सक्दिनँ तर मेरो अनुमानमा १२–१ बजेको हुँदो हो । मस्त निन्द्रामै पनि खुट्टामा कसैको हिउँजस्तो चिसो हातले बिस्तारै समाएको महशुस भयो । हत्त न पत्त आँखा खोलेंँ । अगाडि जुन दृश्य देखेँ, छाती ढक्क फुलेर आयो । शरीरभरी बिजुलीको रफ्तारमा चिसो लहर दौडियो । मुटु आफैंले सुनिनेगरी धड्किन थल्यो । एउटी सर्वाङ्ग सेतो कपडा लगाएकी स्त्री मेरो गोडामुनि बसेर आफ्ना बरफजस्ता चिसा हातहरूले खुट्टा सुम्सुम्याउदै थिई । त्यस्तो निष्पट्ट अँध्यारोमा पनि टाउकोमा सेतो पछ्यौराको सप्को ओढेको सेतो न सेतो अनुहार र चम्किलो हरियो आँखा भने प्रष्ट देखिरहेको थिएँ । उनी मलाई यसरी हेर्दै थिइन् कि मानौँ कुनै बाघले एक्लो हरिण हेरेको होस्– एक टक, ठिक्क झम्टनुपूर्व जसरी !

बेस्सरी आत्तिएँ । चिच्याउन खोजेँ– सकिनँ । उठ्न खोजेँ– सकिनँ । आँखाको गेडीभन्दा अरु केही हलचल गर्न सकिरहेको थिइनँ । सपना पो हो कि भनेर आँखालाई यताउता नचाएँ । आकाशमा कालो बादलको छाया देखिएकै छ, खाटनजिकैको ठूलो बकैनाको बोट देखिएकै छ । मेरो आफ्नै घर उसैगरी ठडिएकै छ । जब आफूले ओढेको पातलो सिरकको खोल सोहोरिएर कम्मरमाथि ल्याइएको महशुस गरेँ तब म पूर्ण विश्वस्त भएँ– यो सपना होइन । उनको बरफजस्तो चिसो हात अब नलीखुट्टाबाट घुँडामाथिसम्म सल्बलाउन थालिसकेको थियो । चाहेर पनि न कराउन सकेँ, न उठेर भाग्न, न ती हातहरू झट्कार्न नै सकिरहेको थिएँ ।

किचकन्या हो भन्ने कुरामा अब शङ्का रहेन । शरीरका सम्पूर्ण रौँ ठाडो भयो । जोडसँग चिच्याएर भाइलाई र छिमेकीहरूलाई बोलाउन भएभरको शक्ति लगाएँ । एक शब्द निकाल्न सकिनँ । यस्तो लाग्यो– जिब्रो माथि तालुमा टाँस्सीया’ छ र दाँतहरू छुट्याउन नसकिने गरी एकआपसमा अड्किएका छन् । एकैछिनमा भनन्न रिँगटा चल्यो । चेतन मस्तिष्कमा घुप्प अँध्यारोले ढाक्यो । त्यसपछि के भयो ? केही थाहा पाइनँ ।

सधैं बिहान ५ बजे उठ्ने मान्छे त्योदिन घाम झलमल्ल हुँदा पनि नउठेपछि आमाले ‘कति सुतिराखेको, उठ अब’ भनेर बोलाउनुभयो । वहाँको आवाजले आँखा खुल्यो । आमा, खौरेटोले आँगन बढार्दै हुनुहुँदो रहेछ । उठ्न खोजेँ, सकिनँ । हातखुट्टा त के कुरा औँलाधरी चलाउन सकिरहेको थिइनँ । शरीर पुर्णतया प्यारालाइसिस भएझैँ भयो । ‘म उठ्न सकिनँ’ भनेर भन्न खोज्छु, एक शब्द निकाल्न सक्दिनँ । दाँत उसैगरी एकापसमा सुपर ग्लुले टाँसिएको जसरी टाँस्सिरह्यो । खल्खली पसिना छुट्यो । आमाले पसिना काढेर आँखा मात्र टुलुटुलु हेरिरहेको देख्नुभएछ, आत्तिएर रुँदै–कराउँदै उठाउन आउनुभयो । एकैछिनमा घरपरिवार लगायतका छिमेकीहरूले चारैतिरबाट घेरिएँ । कोही हस्पिटल लानुप¥यो भनेर गाडीको जोहो गर्न दौडिए त कोही गाउँकै एउटा तान्त्रिक बाबालाई लिन दौडिए । त्यहाँ हडकम्प मच्चिएको आफ्नै आँखाले देख्दैछु, सुन्दैछु, महशुस पनि गर्दैछु तर शरीर र जिब्रोले साथ दिइरहेको थिएन । म सास चल्दै गरेको निर्जिव मुढोजसरी पल्टिरहेँ ।

‘लौ ! बाबुलाई त बाणले हानेछ, खोइ कुचो र अलिकती खरानी ल्याउनु त भाउजू !’ – तान्त्रिकले भनेको सुनेँ । एकैछिनमा आमाले खरानी र कुचो ल्याइदिनुभयो । उसले के–के भट्भट्याउँदै कुचोले शीरदेखि पैतलासम्म छुवाउँदै गर्न थाल्यो र फुकेर खरानीको टीका लगाइदियो । आश्चर्य ! त्यसको केही समयमै मेरो बन्द भएको बोली फुट्यो । अनि करिव दश मिनेटमा त उठेर हिँड्न सक्ने भएँ । हस्पीटल ला’नलाई ल्याइएको गाडी पनि त्यत्तिकै फिर्ता पठाइदिएँ ।

प्रिय पाठकहरू !

यो कथा पूर्णतः काल्पनिक हो । तपाइँ–हामी शिक्षित छौँ । फेसबुक ट्वीटर चलाउन सक्छौँ । पढ्न–लेख्न जानेका छौँ र त तपाइँलाई यो कथा पढिरहँदा कतिलाई साँच्चिकै डर लाग्यो । कतिलाई वास्तविक जस्तो लाग्यो । कतिलाई कथाको किचकन्यासँगै बगायो । कल्पना गरी हेरौँ त, यस्तै–यस्तै कथा हालेर ठगी खाने तान्त्रिकहरू, ढोँगी बाबाहरू, जोगीहरूले दूरदराज गाउँका सोझासिधा नारीहरूलाई कति सजिलै पागल बनाउन सक्छन् होला ?! नारीको त के कुरा र ! पढेलेखेका कयौँ पुरुष पनि तान्त्रिक ढोँगी बाबाहरूको चक्करमा परेर जन्तर, रत्नजडित औँठी आदि पहिरेर हिँडेको देखेका छौँ ।

कालो बस्त्र, अनुहारमा अजीबको खरानी–चन्दनको लेपन, आँखामा मोटो कालो गाजल, रङ्गीबिरङ्गी रङ्ग, ध्वजापताका र अधेरो गुम्म परेको कोठा देखेरै सामान्य मान्छेको अवचेतन मन यसै तर्सिइसकेको हुन्छ । त्यसमाथि यस्तै–यस्तै काल्पनिक कथालाई यथार्थको जामा पहिऱ्याएपछि कमजोर शारीरिक मानसिक अवस्थाको मान्छेलाई आफ्नो वशमा पारेर आर्थिक र शारीरिक शोषण गर्न कुन ठूलो कुरो भयो र ?’

यति लेखेर मानव त्रिपाठीले फेसबुक लगआउट गऱ्यो । स्ट्याटसमा आउने लाइक कमेन्ट हेर्नतिर लागेन किनकि लेख्दालेख्दै रातको १२ बज्न लागिसकेको रहेछ । श्रीमती अघि नै अर्को पलङमा सानो छोरा लिएर सुतिसकेकी थिइन् । बत्ती निभायो । कोठा, घुप्प अँध्यारोको च्यादरले छोपियो ।

सधैँ पाँच बजे उठेर ध्यान, योग गर्ने र नित्यकर्ममा लाग्ने श्रीमान् सात बजेसम्म सुतिरहेको देखेर श्रीमतीले बोलाइन्– ‘उठ्ने बेला भएन अझै ?’

आवाज सुनेर मानवको आँखा खुल्यो । श्रीमती, कोठा बढार्दै थिइन् । ओछ्यानबाट उठ्न खोज्यो– सकेन । बोल्न खोज्यो– जिब्रो तालुमा टाँस्सियो । दाँतहरू एकापसमा अल्झेर बसेको झैँ भयो । औंलाधरी चलाउन नसक्नेगरी शरीर जड भएको थियो । होसहवास हराएको अनुहारबाट चिटचिट पसिना निस्किँदै थियो ।

मानवको आत्तिएको आँखाहरू भने इयरफोन कानमा घुसारेर गीत सुन्दै बढार्दै गरेकी श्रीमतीतिर बारबार तन्किँदै थिए ।