रेल कि झेल ?

रेल कि झेल ?


■ अर्जुनराज पन्त

थन्किएको रेल त्यो जुन चल्थ्यो पहिले
रङ्गिइकन आउँदा पुनः अहिले
लौ आयो भन्दै भए सबै दङ्ग
सेल्फी पनि खिचे त्यही रेलसङ्ग

बोकेर यात्रु चल्न आज छोडी
थन्कियो किन फेरि पाल ओडी ?
मान्छे छन् बरु खुला आकाशमुनि
कटाउँछन् रात बालेर धुनी !

रेलै पो हो कि बरु भाग्यमानी ?
चढ्न पाएनन् ती पान खानी
छोपिन्छ बस्तु कि त लाज छेक्न
कि त जोगाउन चोरबाट देख्न ?

देखाउन नहुने चिजलाइ पो छोप्थे
लाज हुन्छ जस्लाइृ उसले मुख ढोक्थे
खुल्ला छौ तिमी रेल छ मुख छोपी
मुख ढाक्नु पर्ने त तिम्ले पो हो कि ?

यस्तै गरेर कति कुर्चीधान्नी ?
रेलले कि तिम्ले हो लाज मान्नि !
कहाँ गए ती चुनावका बोली
बिर्सियौ सबै ती आजभोलि

दिनेले भन्छ सित्तैमा दिएँ
लेनेले भन्छ किनेर लिएँ
छोपेर पालले गरेउ किन त्यसो ?
रेल हो कि झेल हो पाइएन मेसो ?

नक्शा र रेल त्यो जब आए दुवै
जयजयकार नि गरियो खुबै
लगायौ लोगो छापी चुच्चे चित्र
अटेन त्यही चित्र पाठ्यक्रमभित्र !

रेल पनि आयो पाइएन चढ्न
नक्शा नि छापियो पाइएन पढ्न
त्यो चुच्चे नक्शा यो फुच्चे रेल
कस्तो हो नियत कस्तो हो खेल !!