‘बली दिन’ भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार

‘बली दिन’ भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार


सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारतको सीमाबाट दुई किशोरीलाई बुधबार (१४ असोज) प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमाक्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताउनुभयो । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका दुई पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरीसमक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमतिअनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानुपूर्व उनीहरुको उचाईसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो ।

बताइएअनुसार सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

अलपत्र महिलाको उद्धार

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गर्नुभएको हो ।

स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहनु भएका उहाँ एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो । सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उहाँको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्धबृद्धाको उद्धार गर्दै आएको राससले जनाएको छ ।