‘राम्रा खेलाडी नेपालमा टिक्ने अवस्था छैन’ : पुनम श्रेष्ठ

‘राम्रा खेलाडी नेपालमा टिक्ने अवस्था छैन’ : पुनम श्रेष्ठ


■ श्रीविक्रम भण्डारी

दोश्रो विवाह गरेर परिवारलाई अलपत्र पार्दै बुबा बेपत्ता भएपछि उनीहरूका दुःखका दिन शुरु भए । चार जनाको परिवार, घरमा कमाउने कोही थिएन । छोराछोरी नाबालक भएकाले परिवारको पालन पोषण गर्ने सम्पूर्ण जिम्मेवारी आमा मीना श्रेष्ठको काँधमा प¥यो । चितवनमा काम पाउन गाह्रो, त्यसैले १८ वर्षअघि मीना बालबच्चा च्यापेर राजधानी काठमाडौं प्रवेश गरिन् । आमाको साधारण कामबाट हुने आर्जनले तीन जना बच्चालाई शिक्षादीक्षा र पालन पोषण गर्न निकै गाह्रो थियो । साँचो अर्थमा भन्नुपर्दा डेरा भाडा तिरेर दुई छाक खान पनि हम्मे–हम्मे हुन्थ्यो ।

समयको चक्र चल्दै गयो, उनी साथीहरूको लहैलहैमा दशरथ रङ्गशाला पुगिन् । त्यहाँ आफूजस्तै उमेरकाले तेक्वान्दो खेलेको देख्दा उनलाई तेक्वान्दो खेल्न मन लाग्यो । दुई महिना तेक्वान्दो पनि खेलिन् तर त्यसपछि आर्थिक अभावका कारण नचाहँदै नचाहँदै तेक्वान्दो छोड्न वाध्य भइन्, किनकि उनीसँग तेक्वान्दोे खेल्नका लागि तिर्नुपर्ने मासिक शुल्क थिएन ।

भाग्यको खेल ! एक दिन उनको भेट जुडोका प्रशिक्षक चन्द्रकुमार डंगोलसँग भयो । उनले आफ्नो खेल्ने चाहना भएर पनि कमजोर आर्थिक अवस्थाका कारण खेल्नबाट बन्चित भएको इतिवृत्तान्त सुनाइन् । त्यसपछि डंगोलले पैसा तिर्नु पर्दैन, म सहयोग गर्छु, तिमी खेल्न आउ भनेपछि उनी जूडो खेल्न थालिन् । त्यसबेला उनको उमेर मात्र १३ वर्षको थियो । यसरी आर्थिक अभावले गाँजिरहको अवस्थामा जुडो खेलमा होमिएकी र १३औँ सागमा स्वर्ण पदक जितेर चर्चित खेलाडी बन्न सफल भएकी उनी हुन्– पुनम श्रेष्ठ ।

प्रशिक्षक डंगोलको सहयोगमा जुडो खेल्न थाले पनि पुनमसँग जुडो लगाउने ड्रेस (गी) थिएन । अरु साथी खेलाडीले ड्रेस लगाएर प्रशिक्षण गर्दा उनी ट्रयाक सुट लगाएर प्रशिक्षण गर्थिन् । आफूले पनि यसरी ड्रेस लगाएर कहिले खेल्न पाउने हो भनेर उनको मन पोल्थ्यो । समय परिस्थिति नै त्यस्तै थियो उनले चाहेर पनि त्यो पुरा हुने अवस्था थिएन । साँचो अर्थमा भन्नुपर्दा थुक निलेर चित्त बुझाउनु बाहेक पुनमको लागि अर्को विकल्प थिएन । तर, एक दिन यस्तो आयो, उनको झोली खुशीले भरिदियो । प्रशिक्षक डंगोलले आफूसँग भएको ड्रेस उनलाई दिए । पुनमले पहिलो पटक जुडोको ड्रेस लगाउन पाइन् । त्यो दिन उनी निकै खुशी थिइन् ।

पहिलो पटक जुडोको ड्रेस लगाएर प्रशिक्षण गर्दा उनले निकै सन्तोषको अनुभव गरिन् । आफू साँच्चै खेलाडी भएको अनुभूति उनलाई भयो । केहि महिना उक्त ड्रेस लगाएर बडो फुर्तिफार्तिका साथ प्रशिक्षण पनि गरिन् । तर दुर्भाग्य ! उनको गरिबीमा समेत कसैको आँखा लाग्यो, अर्काले दिएको त्यही एउटा ड्रेस पनि चोरी भयो । परिणामतः पुनमले ड्रेस नभएकै कारण ६ महिना प्रशिक्षण गर्न पाइनन् । मनमा खेलाडी बन्ने ठूलो धोको, अब त्यो कसरी पूरा गर्ने ? मनमा यो कुरा मात्रै खेलिरह्यो । एउटा ढोका बन्द भए पनि अर्को खुल्छ भने झै ड्रेस किन्नकै लागि उनले ज्यामी काम गर्न थालिन् । एक महिना निरन्तर इँटा, ढुङ्गा र बालुवा बोकिन् । त्यसपछि जुटेको पैसाले ड्रेस किनेर पुनम प्रशिक्षणमा फर्किइन् । जुन घटना सुनाउँदा पुनमका आँखा रसाएका थिए ।

त्यतिबेला जुडोका खासै प्रतियोगिताहरू आयोजना हुँदैनथे । वर्षमा कहिलेकाहीँ फाट्टफुट्ट मात्र हुन्थे । यस्तो अवस्थामा जुडोको प्रशिक्षण गरेको एक वर्षमा पुनमले पहिलो पटक उपत्यकाव्यापी जुनियर जुडो च्याम्पियनसीपमा भाग लिने मौका पाइन् । पहिलो प्रतिस्पर्धा उनको लागि खासै उपलब्धिमुलक रहेन, दोश्रो र तेस्रो पनि त्यस्तै भो, सबैमा पहिलो राउण्डमै पराजित ! त्यतिबेला पुनमले ६० र ७० केजीको बीचमा प्रतिस्पर्धा गरेकी थिइन् । त्यसपछि गुरुले यस्तो प्रदर्शन हुँदैन, राम्रो गर्नुपर्छ, जित्नुपर्छ भन्दै कठोर प्रशिक्षण गराए । मेहनतको फल मीठो हुन्छ भनेझैँ चौथो भीडन्तमा पुनमले स्वर्ण पदक नै जितिन् । उनले उक्त स्वर्ण सेन्टर डोजो रङ्गशालाबाट खेल्दै ‘सी डब्लु सी’ जुनियर जुडो च्याम्पियनसीपमा जितेकी थिइन् ।

पहिलो पटक पदक, त्यसमाथि स्वर्ण नै जित्दा उनको भुँइमा खुट्टा थिएन । मन बडो प्रफुल्ल भएको पुनमको कथन छ । त्यसपछि आयोजना भएका सम्पूर्ण जुनियर च्याम्यिनसीपमा पुनमले स्वर्ण पदक जित्दै आफूलाई जुडोको उदीयमान खेलाडीको रूपमा चिनाउन सफल भइन् । पुनमको यही उत्कृष्ट प्रदर्शनका कारण उनले छोटो समयमै अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्ने अवसर पाइन् । जसमा भुटानमा आयोजना भएको प्रतियोगितामा स्वर्ण जितिन् भने भारतको केरला, थाइल्याण्ड र लेबलानमा भएका प्रतियोगिताबाट अनुभव बटुल्न सफल भइन् ।

जुनियरमा पाएको सफलता सिनियरतर्फ पुनमको लागि ठूलो चुनौती बन्यो । १६ वर्षको उमेर, दिग्गज र अनुभवी खेलाडीहरूसँग प्रतिष्पर्धा गरेर पदक जित्नु चानचुने कुरा थिएन । र पनि, प्रतिभाबीच प्रतिभाको भीडन्तमा जुनियर सिनियरको रेखा हुँदैन मान्यतालाई आत्मसात गर्दै पुनम अधिराज्यव्यापी अन्तरडोजो उसु प्रतियोगिता पहिलो पटक सिनियरतर्फ सहभागिता जनाइन् । मनमा सन्त्रास थियो, पहिलो प्रतिस्पर्धा कस्तो हुने हो भनेर, तर उनले पहिलो सहभागितामै सिनियरतर्फ फाइनलमा पुगेर सनसनी फैलाइन् । रजत पदकमै खुम्चिए पनि यो पुनमको लागि ठूलो सफलता थियो । त्यसपछिका प्रतियोगिताहरूमा दोश्रो तेस्रो भए पनि नेपाल जुडो सङ्घले आयोजना गरेको राष्ट्रिय जुडो प्रतियोगितामा काँश्य पदकमै सीमित भएपछि उनको चेत खुल्यो । त्यसपछि उनी कडा मेहनतका साथ प्रशिक्षण गर्दै सिनियरतर्फ छनोट भइन् ।

पुनमलले सेन्टर डोजोबाट आफ्नो अन्तिम खेल राखेपले आयोजना गरेको लुम्बिनी च्याम्पियनसीप खेलेकी थिइन् । माइनस ७० केजीमा प्रतिस्पर्धा गरेकी उनी उक्त प्रतियोगितामा दोश्रो भइन् । त्यहाँ उत्कृष्ट प्रदर्शन गरेकै कारण आर्मीको नजर उनीमाथि पऱ्यो र त्यहिँबाट कन्ट्याक्टमा खेल्न थालिन् । १८ वर्ष उमेर पुगेपछि उनी नियमित रूपमा आर्मी टीमको सदस्य बनेर खेल्दै आएकी छिन् । आर्मीबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी पुनमले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिन् । मानइस ७८ केजीमा प्रतिस्पर्धा गरेकी उनले फाइनलमा पुलिस क्लबकी भावना घर्तीमगरलाई पराजित गरेकी थिइन् ।

पहिलो पटक राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा उनी अवाक बनिन्, अनौठो आभास भयो, मैलै साँच्चै स्वर्ण पदक ‘जितेर’ भन्ने लाग्यो । त्यसबेला प्रशिक्षक इन्द्र डंगोलले बधाई दिँदा खुशीले मन गदगद भयो । अब १२औँ सागमा छनोट भएर देखाउनुपर्छ भन्ने लाग्यो । सातौँपछि पुनः १२औँ सागको छनोट प्रतियोगितामा पुनमले उत्कृष्ट प्रदर्शन गर्दै सागका लागि छनोट भइन् ।

भारतको गुहावटी र सिलोनमा आयोजना भएको १२औँ सागमा पुनमले स्वर्ण पदक जित्ने लक्ष्य राखेकी थिइन् । त्यसको लागि नेपालमा मात्र नभै भारतको भूपालको शाही एकेडेमीमा डेढ महिना विदेशी प्रशिक्षकसँग प्रशिक्षण समेत लिइन् । प्रशिक्षण निकै स्तरीय भएकोले सागमा स्वर्ण पदक जित्ने उनको विश्वासमा अझ बढोत्तरी भयो । तर प्रतियोगितामा पुनमले सोचेको जस्तो परिणाम आएन, राम्रो खेल्दाखेल्दै पनि सेमिफाइनलमै रोकिनु प¥यो । काँश्य पदकमै सिमित हुनुपर्दा उनीमाथि ठूलो कुठाराघात भयो ।

त्यसबेला निकै दुःख लागेको पुनमको कथन छ । परिणाम विपरीत आएपछि चित्त बुझाउनुवाहेक अर्को विकल्प थिएन, उनले पनि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भन्दै चित्त बुझाइन् । अर्को सागमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने लक्ष्य बनाइन् । सागलगत्तै थाइल्याण्डमा आयोजना भएको ‘नट बैङ्कक अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसीप’मा रजत पदक जितेर मनलाई शान्त पार्न सफल भइन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवबाट खारिँदै गएकी पुनमले इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिन् । एसियाडको पहिलो सहभागितामा नै उनले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिइन् । उज्वेकिस्तान र दक्षिण कोरियाका खेलाडीलाई आच्छुआच्छु पार्दै अन्तिम समयमा मात्र पराजित भइन् । एसियाडमा राम्रो प्रदर्शन गरेपछि निकै हौसिएकी पुनमले राम्रो ट्रेनिङ भयो भने एसियाडमा पनि पदक जित्न सक्ने दाबी गरिन् । एसियाडमा पदक जित्ने हो भने सोहीअनुरूपको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण हुनुपर्ने उनको धारणा छ । मैले मेरो प्रशिक्षणअनुसारको वेष्ट दिएकी थिए तर पदक जित्नबाट चुकेँ । साँचो रूपमा भन्नुपर्दा टे«निङ नै पुगेन, अझै कडा ट्रेनिङ गर्नुपर्छ जस्तो लाग्यो । त्यसको लागि नेपालको मात्र नभै विदेशी प्रशिक्षकको पनि व्यवस्था भए सुनमा सुगन्ध हुन्थ्यो– पुनमले भनिन् ।

एसियाडबाट रित्तो हात फर्किए पनि त्यसको केही समयपश्चात आयोजना भएको अम्बिकाबहादुर जुडो च्याम्पियनसीपमा पुनमले स्वर्ण जितिन् । त्यसको लगत्तै नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितिन् । राष्ट्रिय स्तरका जुडोमा स्वर्ण जित्दै गर्दा उनीमा निकै आत्मबल बढ्यो । त्यस्तोमा सन्मुख आएको १३औँ सागमा छनोट हुनु उनको लागि प्रमुख चुनौती थियो । मेहनतको फल छनोट खेलमा पनि देखाइन्, उत्कृष्ट प्रदर्शन गर्दै पुनम सागको लागि छनोट भइन् । सागमा दोश्रो पटक छनोट हुँदा निकै उत्साहित थिइन् पुनम ।

१२औँ सागको अकल्पनीय पराजयको पीडा उनको मानसपटलमा ताजै थियो । यही कुरालाई मध्यनजर गर्दै उनी कडा प्रशिक्षणमा जुटिन् । संयोगवश त्यही समयमा चीनको बुहानमा सातौँ मिलिटरी जुडो प्रतियोगिताको आयोजना भयो । आर्मीको खेलाडी भएका कारण पुनमले पनि प्रतिस्पर्धा गर्न पाइन् । पहिलो खेलमा बेलारुसकी खेलाडीलाई पराजित गरेकी पुनम दोश्रो खेलमा भने नेदरल्याण्डकी खेलाडीसँग पराजित भइन् । उक्त प्रतियोगितामा जुडोका तीनजना खेलाडीले प्रतिस्पर्धा गरे पनि पुनमले मात्र एउटा खेल जितेकी थिइन् । यो प्रतियोगितामा पदक जित्न नसके पनि पुनमको लागि अन्तर्राष्ट्रिय खेलको अनुभवको पाटो भने बन्यो । त्यसको भरपुर उपयोग उनले १३औँ सागमा गरिन् ।

१३औँ साग समय छोटिँदा मुटुको ढुकढुकी पनि बढ्दै गयो, कस्तो प्रदर्शन हुने हो, ढुक्क हुन सकेकी थिइनन् पुनम । श्रीलंकासँगको पहिलो भिडन्त फिप्टी–फिप्टी थियो, कसले बाजी मार्ला त्यसै भन्न सकिने अवस्था थिएन । यस्तो परिस्थितिमा अलिकति विचलित हुनु स्वभाविकै थियो । तर म्याटमा उत्रिएपछि पुनमले यस्तो खेलको प्रदर्शन गरिन् जसले श्रीलंका खेलाडी कुनबेला ‘चित’ भइन उनले पत्तो समेत पाइन् । जब रेफ्रीले उनको हात उठाए त्यसपछि मात्र आफूले जितेको उनलाई भान भयो । सेमीफाइनलमा पुनमको भिडन्त स्वर्ण पदककी प्रमुख दाबेदार भारतीय खेलाडीसँग भयो । मनमा सन्त्रास थियो, तर पुनमले जुन साहसका साथ उत्कृष्ट प्रदर्शन गरिन् त्यो आफैमा प्रसंशनीय थियो ।

उनले भारतीय खेलाडीलाई सहजै पराजित गर्दै फाइनलको यात्रा तय गरिन् । भारतीय खेलाडीलाई अकल्पनीय रूपमा पराजित गरेपछि पुनमको आत्मविश्वास निकै बढ्यो । परिणामतः फाइनलमा पनि उनले पछिल्ला दुई खेलकै जस्तै प्रदर्शन दोहोऱ्याउँदै स्वर्ण पदक जितिन् । स्वर्ण पदक जितेपछि पुनमको भनाइ थियो– ‘१३औँ सागमा वेष्ट दिन्छु भन्ने थियो तर स्वर्ण नै जित्ने आश गरेको थिइनँ । तर भाग्यले साथ दियो, मेहनतको फल पाएँ, १२औँ सागमा देखेको सपना १३औँमा पूरा भयो । स्वर्ण पदक जित्दा ज्यादै खुशी लाग्यो ।’

यसरी साग खेलकुदमा ‘अर्ध चन्द्रबाट ‘पूर्ण चन्द्र’ बनेकी पुनम १२औँ सागमा काँश्य पदकमा चित्त बुझाउनु पर्दाको क्षण कहिल्यै भुल्न नसक्ने बताउँछिन् । स्वर्ण पदक जित्ने लक्ष्यका साथ प्रशिक्षण गरे पनि सेमी फाइनलमा हात फ्याक्चर हुँदा उनको सपना चकनाचुर भयो । खेलको महत्वपूर्ण समयमा भाग्यले साथ नदिँदा उनी प्रतियोगिताबाट बाहिरिनु पऱ्यो । त्यो पीडा अहिले पनि उनको मानसपटलमा ताजै छ । त्यो दृष्य सम्झँदा उनी अहिले पनि दुःखी हुन्छिन् । त्यस्तै, १३औँ सागमा स्वर्ण पदक जितेको क्षण उनले संसार जितेको र मनले खेलकुदमा लागेर सबै थोक पाएको महसुस गरेकोे थियो । उनले त्यो क्षणलाई जीवनकै प्रिय क्षणको रूपमा अनुभूति गर्दै आएकी छिन् । अब उनको लक्ष्य अर्को सागमा उत्कृष्ट प्रदर्शन गर्ने, एसियन गेम्समा पदक जित्ने र ओलम्पिकमा सहभागिता दिने रहेको छ ।

नेपाली खेलकुदको बारेमा पुनमको धारणा बेग्लै छ, उनी अहिलेको भन्दा पहिलेको खेलकुदलाई राम्रो मान्छिन् । त्यसबेला आफूले खेलकुद नबुझेको र अहिले बुझ्ने भएपछि यस्तो धारणा राखेकी हुन् । थुप्रै खेलका राम्रा खेलाडी जसले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना थियो त्यस्ता खेलाडीहरू विदेश पलायन भएको देख्दा उनीमा यस्तो भावना उत्पन्न भएको हो । पुनमले भनिन्– ‘खेलकुदको भविष्य अन्योलग्रस्त छ, अब राम्रा खेलाडी कोही नेपालमा बस्दैनन् । नेपालमा टिक्ने अवस्था नै नभएकोले सबै बाहिर अवसरको खोजीमा छन् । यो कुरालाई विगतमा खेलाडीहरूले पलायन भएर प्रमाणित गरिसकेका छन् । यो नेपाली खेलकुदको लागि साह्रै दुःखलाग्दो कुरा हो । सम्बन्धित निकायले खेलाडीहरूको संरक्षण, तिनको हक र हितको लागि समयमै उचित कदम नचाले यो भन्दा पनि भयाभय अवस्था आउन सक्छ ।’

प्रेम प्रसङ्गको बारेमा जिज्ञासा राख्दा पुनमले अहिलेसम्म आफू कसैको प्रेमजालमा नपरेको बताइन् । ‘मलाई यो प्रेमस्रेमको लाइन नै मन पर्दैन । अहिले मेरो उमेर नै भएको छैन त्यो बारेमा सोच्ने । कसैले प्रपोज त गरेको होला नि भन्दा प्रपोज गर्ने त कति छन् कति ! सबैलाई धन्यवाद भनिदिन्छु । साँचो रूपमा भन्नुपर्दा मैले अहिलेसम्म कसैलाई मन पराएको छैन । समय आएपछि खेलकुद क्षेत्रकै व्यक्तिलाई रोज्ने हो । किनकि उसले खेलाडीको सम्पूर्ण परिस्थिति बुझेको हुन्छ । त्यसैले धनी या गरिवभन्दा पनि आफूलाई माया गर्ने व्यक्तिलाई रोज्ने हो । त्यो भविष्यमा होला नि, हैन र ?’