१३ कार्तिक २०७७, बिहीबार

काङ्ग्रेस सभापतिका उम्मेदवारहरू, कसको प्यानलमा को–को ?

  प्रकाशित मिति
१५ आश्विन २०७७, बिहीबार ०५:४४


नेपाली काङ्ग्रेसको आगामी (चौधौँ) महाधिवेशनमा सभापति पदका प्रतिष्पर्धीहरूले क–कसलाई समेटेर आफ्नो प्यानल बनाउलान् भन्ने जिज्ञाशा काङ्ग्रेसभित्र प्रकट हुन थालेको छ ।

पूर्वनिर्धारित समय (२०७७ फागुन) मा महाधिवेशन हुन सक्ने सम्भावना क्षीण हुँदै गएको भए पनि नेताहरू आ–आफ्नो परिस्थिति अनुकूल बनाउन सक्रिय भएका छन् ।

काङ्ग्रेसमा सभापति बन्न योग्यता पुगेका नेताहरूमा शेरबहादुर देउवा, कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, रामचन्द्र पौडेल र विपिन कोइरालाको नाम लिइन्छ । तर दर्जनबढी यिनै नेतामध्येबाट सभापति, उपसभापति र महामन्त्रीलगायतका पदहरूको पूर्ति गर्नुपर्ने बाध्यात्मक अवस्थामा काङ्ग्रेस रहेको छ ।

उल्लिखित नेताहरूमध्ये शेरबहादुर देउवा, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला र रामचन्द्र पौडेल मात्र सभापति पदमा प्रतिष्पर्धा गर्न मैदानमा उत्रने विश्वास गरिएको छ । महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिले समेत सभापतिको उम्मेदवार बन्ने रहर गरेकोले उनलाई पनि सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

त्यसो त कुनै पनि प्यानलमा ‘एडजस्ट’ हुन नसकेमा कृष्ण सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । विपिन कोइरालाले हिन्दुराष्ट्रको एजेण्डासहित सभापतिमा उम्मेदवारी दिन सक्ने चर्चा पनि काङ्ग्रेसभित्र शुरु भएको छ । तर जतिसुकै जना मैदानमा आए पनि मूख्य प्रतिष्पर्धा शेरबहादुर देउवा, डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाकै बीचमा हुने देखिन्छ ।

व्यक्तिगत रूपमा रामचन्द्र पौडेल ज्यादै कमजोर भए पनि पौडेलको पक्षमा डा. रामशरण महत, अर्जुन नरसिंह केसी, डा. नारायण खड्का र महेश आचार्यलगायतका नेताहरू भएकाले पौडेललाई पनि प्रतिष्ठित मत प्राप्त हुने विश्वास गरिएको छ ।

शेरबहादुर देउवाले आफ्नो प्यानलमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, भीष्मराज आङ्दम्बे, एनपी साउद, विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, मीन विश्वकर्मा, फर्मुल्लाह मन्सुर तथा शङ्कर भण्डारी र रमेश लेखकलगायतलाई समेट्न सक्ने सम्भावना छ । उपसभापति या महामन्त्रीको उम्मेदवार बनाएर कृष्ण सिटौलालाई समेत देउवाले आफ्नो प्यानलमा समेटे भने आश्चर्य मान्नु पर्दैन । देउवाले आफ्नी पत्नी आरजु राणालाई समेत पदाधिकारी चयन गर्ने इच्छा राखेका भए पनि आफू सभापति पदमा उठेपछि पत्नीलाई समेत पदाधिकारीमा उम्मेदवार बनाइने सम्भावना देखिँदैन ।

शशाङ्क कोइरालाले महामन्त्रीमा मीनेन्द्र रिजाललाई उम्मेदवार बनाउने विश्वास गरिन्छ । शशाङ्क पनि उपसभापति दिएर सिटौलालाई आफ्नो प्यानलपा समेट्न इच्छुक रहेको बुझिन्छ । शशाङ्कले प्रकाशमान सिंह, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू, बद्री पाण्डेलगायतलाई पदाधिकारीका रूपमा चुनावमा उतार्ने सम्भावना छ ।

डा. शेखर कोइरालाले गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निश्चित भए पनि उपसभापति, अर्को महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमा कसलाई चयन गर्ने भन्ने यकीन भइसकेको छैन । सहमहामन्त्रीमा डा. अमरेश कुमार सिंहलाई उम्मेदवार बनाइने निश्चित मानिएको छ ।

रामचन्द्र पौडेलले रामशरण महत, अर्जुन नरसिंह केसी, डा. नारायण खड्का, जीवन परियार र महेश आचार्यलाई उपसभापति र महामन्त्रीको उम्मेदवारका रूपमा आफ्नो प्यानलमा समेट्न सक्ने सम्भावना छ । धनराज गुरुङ र प्रदीप पौडेलले रामचन्द्र पौडेललाई साथ दिने हुन् या कोइरालाहरूलाई भन्ने निश्चित नभएको बताइन्छ ।

विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी नदिएको अवस्थामा शेरबहादुर देउवाको स्थिति अलिक सुदृढ र सबल हुन सक्ने देखिन्छ । कोइराला पक्ष नराम्रोसँग विभाजित भएकोले त्यसको लाभ देउवालाई पुग्ने स्थिति बनेको हो । कोइराला पक्षबाट पौडेल, शशाङ्क र शेखरमध्ये कोही एक जना मात्र उम्मेदवार बनेको अवस्थामा पनि बाँकी दुईले देउवालाई नै सहयोग पुऱ्याउने स्थिति छ । देउवालाई जिताउँदा अर्को महाधिवेशनमा आफ्नो पालो आउने विश्वासमा धेरै नेताहरू भएकोले कोइराला पक्षकै नेता आफू सभापतिको उम्मेदवार बन्न नपाएको अवस्थामा कुनै न कुनै रूपले देउवाको सहयोगी बन्न सक्ने अनुमान धेरैले गरेका छन् ।

आफ्नो विजय सुनिश्चित नभएमा शेरबहादुर देउवाले सभापतिमा डा. शशाङ्क कोइरालालाई समर्थन गरेर उपसभापति या महामन्त्रीमा आफ्नी पत्नी आरजुलाई उम्मेदवार बनाउन सक्ने सम्भावना पनि नभएको होइन, तर देउवाले अहिलेसम्म आफूलाई सभापति पदको सबैभन्दा बलियो उम्मेदवार ठानेकाले पहिलो चरणमै देउवाले सभापतिमा अरु कसैलाई समर्थन गर्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना सनत आचार्य, बेल्जियम पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको

प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको दोश्रो लहरले युरोपलाई थिल्थिलो पारिरहेको अवस्थामा केही युरोपियन मुलुकले लकडाउन सुरु गरेसँगै अष्ट्रियाले पनि

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले

देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज (१३ कात्तिक) २,३६४ जना सङ्क्रमित थपिँदा