प्रेमजोडीद्वारा एउटै सलमा झुण्डिएर आत्महत्या

प्रेमजोडीद्वारा एउटै सलमा झुण्डिएर आत्महत्या


प्रेमजीवन असफल तुल्याइएको भन्दै कपिलवस्तुको शिवराजनगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन् । परिवार र समाजले आफूहरुलाई एक हुन नदिएपछि निराश भएको जनाउँदै उनीहरुले एउटै सलमा झुण्डिएर देहत्याग गरेका हुन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार सोमबार राति उमुरीका एक प्रेम जोडीले आपको रुखमा सलले पसो लगाई आत्महत्या गरेका छन् । २३ वर्षीय रामदेव थारु र २० वर्षीया बिष्णु थारुले आपको रुखमा सलको पासो बनाई अत्महत्या गरेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

विगत एक वर्षदेखि दुवैबीच गहिरो प्रेम थियो । सुरुमा केटा पक्षले केटीको घरमा विवाहको प्रस्ताव लिएर जाँदा केटीको परिवारले मानेका थिएनन् । प्रेम-सम्बन्धका बीच केटापक्षका अभिभावकले मृतक रामदेवको विवाह बुद्धभूमि नगरपालिकाकी एक युवतीसँग गराएका थिए।

सो विवाहपश्चात् पनि रामेदव र विष्णुबीच प्रेम सम्बन्ध जारी थियो । विवाह गरेको केही महिनामै रामेदवले विष्णुलाई समेत भगाएर घरमै भित्र्याए । त्यसपछि परिवारमा झनै किचलो हुँदै गयो । पटक-पटक प्रहरीमा उजुरी दिने र पक्राउ गर्ने गरिएपछि रामेदव र विष्णु निराश बनेका थिए ।

गत शनिबार पनि रामदेवको परिवारको उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको थियो । रामेदवले आफ्नो श्रीमतीलाई घर राख्ने र प्रेमिका विष्णुलाई आफ्नो घर पठाउने सहमति भएको थियो । पटक-पटकको तनावपछि दुवैले एकै साथ मर्ने निर्णय गरेका थिए । घटनाअघि मृतक रामेदव र विष्णु आ-आफ्नै घरमा थिए ।

गत सोमबार राति दुवैजनाले भेट गरी आपसी सल्लाहअनुसार आत्महत्या गरेको प्रहरी निरीक्षक खरेलको भनाइ छ । प्राण त्याग्नुअघि दुवै जनाले आ-आफ्ना बुबालाई मोबाइलबाट फोन समेत गरेका थिए । कुरा गरेलगत्तै फोन स्विचअफ गरेका थिए ।

उमुरीका स्थानीय सीताराम चौधरीले घटना दुःखद भएको बताए । प्रेममा असफल भएको र आफूहरु एक भएर बाँच्न नसक्ने अवस्था निम्ताइएको भन्दै दुवैले आवेगमा आएर आत्महत्या गरेको उनको भनाइ छ ।