पृथ्वीराजमार्गका केरा व्यवसायीका बेग्लै दुःख !

पृथ्वीराजमार्गका केरा व्यवसायीका बेग्लै दुःख !


विकास रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिका–२ चालिसेनिवासी सानीमाया श्रेष्ठ सवारी दुर्घटनामा परेर हिँडडुल गर्न नसक्ने भएपछि केही वर्षयता उनको सहारा बनेको छ ह्वीलचियर । उनको जिउने आधारको मूल हिस्साचाहिँ राजमार्गको किनारमा बसी उनले गर्दै आएको केरा व्यापार नै हो । दैनिक गुजारा चलाउन उनले घरनजिकै पर्ने पृथ्वीराजमार्गको किनारमा बसेर केरा बेच्ने गरेकी छिन् ।

श्रेष्ठ मात्रै होइन, यहाँका बासिन्दाको मुख्य आयस्रोत नै केराखेती र केराबिक्रीबाट प्राप्त हुने आम्दानी नै हो । लकडाउनअघि केरा बेचेर यहाँका स्थानीयले राम्रै आम्दानी गर्दै आएका थिए ।

तर, गत चैतदेखिको लकडाउन र निषेधाज्ञाका कारण पृथ्वीराजमार्गमा अत्यावश्यक बाहेकका सवारी साधन चलेनन् । सवारी साधन नै नगुडेपछि केरा बिक्री हुनै छाड्यो । अवस्था अहिले पनि सुध्रिएको छैन । सानीमायालगायत चालिसेका केरा व्यापारीहरुलाई यतिबेला घरखर्च चलाउन निकै मुस्किल परेको छ ।

सडक किनारमा छाप्रो बनाई त्यसकै छहारीमा बसेर केरा ब्यापार गर्दै आएका सानीमायाहरु यो पेशा छोडेर अर्को काम गर्न पनि सक्दैनन् । ‘फेरि, महामारीले अस्तव्यस्त तुल्याएको वर्तमान परिवेशमा कहाँ गएर के नयाँ काम गर्ने र ?’- सानीमाया प्रतिप्रश्न गर्छिन् । यहाँका अन्य केरा व्यवसायीहरुको पनि धारणा यस्तै नै छ ।

‘जे पर्ला-पर्ला, सडककिनारमै बस्ने हो, केराकै व्यापार गर्ने हो, दिन त फर्केला नि एक न एक दिन !’- सानीमायाले आशा व्यक्त गरिन् ।