प्रेस काउन्सिल अध्यक्ष बुढाथोकीद्वारा कुनै राजनीतिक दलको सदस्य नरहने उद्घोष

प्रेस काउन्सिल अध्यक्ष बुढाथोकीद्वारा कुनै राजनीतिक दलको सदस्य नरहने उद्घोष


प्रेस काउन्सिल नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पदमा बहाल रहुञ्जेल कुनै पनि राजनीतिक दलको सदस्य नरहने र पेसागत सङ्घ–सङ्गठनको सदस्यबाट समेत अलग रहने प्रण गर्नुभएको छ ।

बुधबार एक प्रतिबद्धता पत्र सार्वजनिक गर्दै वरिष्ठ पत्रकार बुढाथोकीले काउन्सिलको कार्यवाहक अध्यक्ष बहाल रहुञ्जेल आफू कार्यरत रहँदै आएको साँघु साप्ताहिकको सम्पादक पदमा पनि नरहने र कुनै पनि सञ्चारमाध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नवीन सोच र शैलीबाट जिम्मेवारी निर्वाह गर्ने सन्देश प्रवाह गर्दै अध्यक्ष बुढाथोकीले आफूले काउन्सिलको नेतृत्वकर्ताको नाताले नेपाली पत्रकारिता जगतको स्वतन्त्रता, स्वायत्तता, स्वच्छ एवम् स्वस्थ व्यवसायिकता र श्रीवृद्धिका लागि तथा संस्थाको स्वायत्तताको रक्षा र कामकारबाही चुस्त–दुरुस्त बनाउन संस्थागत एवम् व्यक्तिगत रूपमा महत्वपूर्ण विषयहरूमा प्रतिबद्धता जनाउनुभएको छ ।

यही असोज ९ गतेदेखि पद बहाली गर्नुभएका बुढाथोकीले प्रेस काउन्सिल नेपालबाट हुने सञ्चारमाध्यमको नियमन प्रभावकारी बनाउन तथा सञ्चारक्षेत्रलाई जनउत्तरदायी बनाउन सम्बद्ध व्यक्ति संस्था र सरोकारवाला सबैलाई अनुरोध गर्दै कार्यवाहक अध्यक्षका रूपमा आफू एवम् काउन्सिल बोर्डले प्रेस काउन्सिल ऐन–नियम, विनियम, निर्देशिका, कार्यविधि र पत्रकार आचारसंहिताको परिधिभित्र रहेर निष्ठापूर्वक कार्य गर्ने–गराउने जानकारी गराउनुभएको छ ।

प्रतिबद्धतापत्रमार्फत् उहाँले विशेष काम र परिस्थितिबाहेक कार्यदिन र कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगरिने स्पष्ट पार्नुभएको छ । कार्यवाहक अध्यक्षका हैसियतमा प्राप्त सेवा–सुविधा र खर्च (इन्धनलगायत) सकेसम्म कटौती गरी मितव्ययी बनाउन प्रयत्न गर्ने उहाँको भनाइ छ ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई आत्मसाथ गरी कामकारबाही गरिने उल्लेख गर्दै अध्यक्ष बुढाथोकीको प्रतिबद्धतापत्रमा प्रेस काउन्सिलबाट प्रवाह हुने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन उपत्यकाबाहिर टाढा–टाढाबाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने)लाई विशेष प्राथमिकता दिइने जनाइएको छ । प्रक्रिया पुगेको अवस्थामा आजको आजै (सोही दिन) वा २४ घण्टाभित्र काम फत्ते गर्ने गरी व्यवस्था मिलाइनुका साथै काउन्सिलको कार्यसम्पादन थप मितव्ययी तथा पारदर्शी बनाइने बताइएको छ ।

यसैगरी, प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता निर्माण गर्ने, अनुगमन गर्ने र आचारसंहिता विपरीत भएका काममा सचेत गराउने, कारबाही गर्ने संस्था पनि भएको हुँदा नेपालमा सञ्चालित विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गर्दा व्यावसायिक हितको रक्षा, सामाजप्रति उत्तरदायी बहन र सामाजिक मर्यादाभित्र रहेर सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभएको छ ।

पत्रकारिताको परिभाषाभित्र नपर्ने, पत्रकारिताको नाममा कतिपय युट्युबबाट समाजमा उच्छृङ्खलता प्रदर्शन गर्ने, सामाजिक मर्यादाभन्दा बाहिर रहेर व्यक्तिगत, पारिवारिक जीवनमा प्रवेश गरेर सामाजिक सद्भावमा खलल पुर्‍याउने र समाजमा पत्रकारिताको नाम लिएर अराजकता फैलाउने अनलाइन टेलिभिजन (युट्युब च्यानल)हरू नियमन र व्यवस्थित गर्न काउन्सिललाई क्षेत्राधिकार नभएको र यसको नियमन गर्न नीति–नियम नभएको उल्लेख गर्दै तत्काल नीति–नियम बनाएर व्यवस्थापन गर्नका लागि नेपाल पत्रकार महासङ्घ, सम्बन्धित संस्था तथा विभिन्न विज्ञहरूसँग समन्वय गरी सरकारलाई आग्रह गरिने उहाँले उल्लेख गर्नुभएको छ ।

यस्तै, देशभर सञ्चालित अनलाइन र तिनबाट सम्प्रेषण हुने सामग्रीलाई अझ व्यवस्थित, जनउत्तरदायी र पत्रकार आचारसंहिताको मर्मअनुरूप गराउन ती सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्भेक्षण गरी उनीहरूको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहन लगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठक तथा छलफलबाट समयसापेक्ष कार्यविधि बनाई निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनको लागि पहल गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

काउन्सिल अध्यक्ष बुढाथोकीले आफ्नो प्रतिबद्धतापत्रमा अगाडि भन्नुभएको छ– ‘पछिल्लो समय पत्रकारको नक्कली परिचयपत्र बनाएर अथवा पत्रकारको परिचयपत्र भिरेर निजी स्वार्थका निम्ति पेसाको बदनाम गर्ने प्रवृत्ति बढेको देखिएको छ । पत्रकारको रूपमा पेसागत तथा व्यावसायिक मर्यादाभन्दा बाहिर गएर विभिन्न सौदाबाजी गर्ने, धाकधम्की दिने, गुण्डागर्दी गर्ने, समाचार तथा विभिन्न श्रव्यदृृष्य सामग्रीको दुरुपयोग गरी समाज भड्काउने पात्र र प्रवृत्तिको नियमन तथा नियन्त्रण आवश्यक देखिएकाले नेपाल पत्रकार महासङ्घ, विभिन्न पेसागत सङ्घ–सङ्गठन, सुरक्षा निकाय समेतको समन्वयमा पेसागत शुद्धीकरणका लागि आवश्यक कदम चालिने छ । समाजमा देखिएका यस्ता प्रवृत्तिविरुद्ध काउन्सिलमा तत्काल उजुरी गर्न आम सर्वसाधारण तथा जिम्मेवार व्यक्तिलाई अपील गर्दछु । यस्ता उजुरीमाथि तत्काल सुनुवाई तथा कारबाही हुनेछ । उजुरीको प्रकृतिअनुसार उजुरीकर्ताले चाहेमा गोपनीयता सुरक्षित गर्ने गरी व्यवस्था मिलाइनेछ ।’

आफ्नो पारिश्रमिकको १० प्रतिशत अंश सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति वा संस्थाको लागि उपलब्ध गराइने प्रतिबद्धता अध्यक्ष बुढाथोकीले जनाउनुभएको छ ।

पत्रकार आचारसंहिता पालनामा सचेत र संवेदनशील नबन्दा भएका कमी–कमजोरीका कारण पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै पत्रकार आचारसंहिता (संशोधन–२०७६)को प्रभावकारी अनुगमन र पूर्णरूपमा पालना गर्ने–गराउनेतर्फ प्रयास गरिने उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाल सूचना सम्प्रेषणको माध्यम बनिरहेको सन्दर्भमा यसको सही प्रयोग सबैको कर्तव्य नै हुने हुँदा यसतर्फ ध्यान आकृष्ट गर्न चाहन्छु भन्नुभएको छ । पत्रकार र सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरू सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने व्यवस्था प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन–२०७६) को ४(६) मा उल्लेख भएकोले सोहीअनुसार पत्रकार आचारसंहिताको पालना गर्न कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रतिबद्धतापत्रमार्फत् सम्बन्धित सबैमा आव्हान गर्नुभएको छ ।

ज्ञातव्य छ, काउन्सिको ५१ वर्षको इतिहासमै पहिलो पटक प्रेस काउन्सिलका प्रमुखबाट जिम्मेवारी निर्वाहको आरम्भमा यसरी प्रतिबद्धता प्रकट गरिएको हो ।