हिन्दूधर्मका संस्कारमा ब्यापक सुधारको आवश्यकता

हिन्दूधर्मका संस्कारमा ब्यापक सुधारको आवश्यकता


■ दामोदर पौडेल

हिन्दूधर्म आफैंमा चलायमान धर्म हो । केही शास्वत कुराबाहेक धेरै संस्कारजन्य समेतका विषयहरू परिवर्तनशील छन् भन्ने हिन्दूधर्मले आत्मसात गरेको छ । अनन्त कालदेखि नै चलिआएको धर्म भएकोले यसको शुरुदेखि हालसम्मका कार्यहरू र ब्यवहारहरूमा केही भिन्नता र परस्पर विरोधाभाष पनि देखिने गर्दछ । कहिले सुद्रलाई पढ्न दिनु हुँदैन भन्ने विषयले प्राथमिकता पाउँछ भने कहिले जन्मँदा सबै सुद्र हुन्छन् र पछि आफ्नो क्षमता र कार्यको आधारमा बाहुन, क्षेत्री, वैष्यसमेत हुन्छन् भनिन्छ । सुद्र कुलमा जन्मेकाहरू ब्राह्मण वा ऋषि भएको पनि पाइन्छ । महिलाहरूको सम्बन्धमा पनि त्यस्तै छ । कतिपय अवस्था महिला भनेका देवी नै हुन् । जहाँ महिलाको सम्मान हुन्छ त्यहाँ भगवानको बास हुन्छ पनि भनिएको छ । कतै महिला कहिल्यै स्वतन्त्र हुँदैनन् पनि भनिएको छ । गार्गी जस्ता धेरै ऋषिहरू महिला नै पनि छन् ।

यो विरोधाभाषपूर्ण अवस्थामा के सत्य के असत्य वा के मान्ने वा के नमान्ने भन्ने सन्दर्भमा दुविधा हुन पर्ने कुनै जरुरी छैन । हिन्दूधर्ममा जब–जब धर्मको नास हुन्छ तब–तब म पृथ्वीमा आउँछु भनेर भगवानले भन्नु भएको छ । भगवानले आउँदा मूल कुरा उही भए पनि अन्य विषयमा समय अनुसारको विचार दिनुभएको छ । धर्मका मुल ग्रन्थहरू भनेका वेद र गीता नै हुन् भन्ने देखिएका छन् । ती ग्रन्थसँग बाझिने जति अन्य ग्रन्थहरू मानिनुपर्ने भन्ने भन्ने केही छैन । अन्य ग्रन्थहरू इतिहास र सदाचारका पाटाहरू हुन् । अहिले मेल खाने र सदाचारको लागि उपयुक्त हुने विचारलाई मात्र मान्ने हो तर इतिहासलाई सम्झने हो । धेरै जसो हिन्दूधर्ममा विरोधाभास भनेको जाडोमा सिरक ओढ्ने र गर्मीमा दिनको दुई पटक नुहाउने जस्तै हो । फरक परिवेशमा आएका कुरा फरक देखिएका हुन् । तिब्बतमा दिनको दुई पटक नुहाउने कुरा सामान्यतया कल्पना हुन सक्दैन र दक्षिण भारतमा बाक्लो सिरक ओढ्ने कुरा पनि सम्भव हुँदैन ।

यसै प्रसङ्गमा मानिसका जन्म, मृत्यु, विवाह, चाडका सन्दर्भमा केही विविधताहरू छन् । विशेषतः दशैँ, तिहार, तिज तथा मृत्यु–संस्कार जस्ता विषय अहिले हिन्दूहरूका लागि नै कठिन बन्दै गएका छन् । हिन्दूधर्म नै यस्तो धर्म हो जसले ब्यवहारिक रूपमा परिवर्तनको नियमलाई मान्दछ, तर ब्यवहारमा नै धर्मलाई प्रचलन र संस्कारले जितेको देखिएको छ ।

मोबाइल, फेसबुक जस्ता छरिता माध्यमको विकास भएकोले हामीहरू दशैँ तिहारसमेत सबै चाडहरू प्रविधिको प्रयोग गरेर सँगै रहेको जस्तो किसिमले गर्न सकिन्छ । दानदक्षिणा र सौगातहरू पनि मोबाइलकै माध्यमबाट पठाउन सकिन्छ ।

दशैँको टीका, तिहार, तिजमा आफन्तहरू भेट हुने चलन छ । तर धर्मले त्यसलाई निर्दिष्ट गरेको छैन । यी चाडहरूमा नजिक भएका नाताहरू बाहेक टाढा हुनेहरू भेट गर्न आउने आनिवार्यता धर्ममा छैन । यी चाडमा धार्मिक मर्म भनेको भगवानको तर्फबाट आफूभन्दा ठुला वा दिदी–बहिनीहरूवाट आशीर्वाद लिने हो । चाडमा रहेका शिक्षाहरूलाई ग्रहण गर्ने हो । हामीले विज्ञानको कारणले बासस्थानहरू टाढा–टाढा बनाएका छौँ । टाढा बस्नेहरूले आफूभन्दा ठुलाबाट विज्ञानको उपयोग गरेर फोन, फेसबुक आदिको माध्यमबाट आशीर्वाद लिन सकिन्छ । आम्नेसाम्ने देखिने गरेर नै धार्मिक कार्यहरू गर्न सकिन्छ । त्यसैले हामीले यस्ता चाडहरूलाई संचारको प्रयोग र माध्यमबाट गर्ने प्रचलनको सुरुवात गर्न सकिन्छ ।

आउन–जान र भेट गर्न पर्ने हुँदैन । भेटघाट उचित समयमा हुन सक्दछ । दानदक्षिणा र सौगातहरू पनि मोबाइलकै माध्यमबाट पठाउन सकिन्छ । यस्ता छरिता माध्यमको विकास भएकोले हामीहरू दशैँ तिहारसमेत सबै चाडहरू प्रविधिको प्रयोग गरेर सँगै रहेको जस्तो किसिमले गर्न सकिन्छ । पितृकार्य पनि सजिलैसँग हुन सक्दछ । एक ठाउँमा पितृकार्य गर्ने र सञ्चारको प्रयोगबाट अर्को ठाउँमा रहनेले सहभागिता जनाउने र श्रवणमा भाग लिने कार्य स्वभाविक हुन्छन् । त्यही सुद्ध भएर बस्न सकिन्छ । कम खर्चिलो उपाय र माध्यमले धर्मलाई सजिलो र जीवन्त बनाउन सहयोग हुन्छ । धर्ममा कतै पनि प्रविधिको प्रयोग गर्नबाट रोक लगाउने कुरा हुँदैन ।

विशेषतः हिन्दूधर्ममा मानिस मरेपछि काजक्रिया अनावश्यक महँगो, लामो समय लाग्ने र भद्दा जस्तो पनि देखिन थालेको धेरैले महसुस गरेका छन् । कतिपयले त हिन्दूधर्म धनीहरूको धर्म हो, चाडपर्व र मृत्यु कार्यमा गरिवले सम्पत्ति बेचेर सुकुम्बासी बन्न परेको छ वा ऋणको बोझ बोक्न परेको छ भन्ने गरेको पाइन्छ । यो पक्षमा ध्यान दिन आवश्यक छ ।

मानिस मर्दा पहिला १३ महिना बार्ने चलन थियो भनिन्छ । मानिसको परिस्थितिको कारणले त्यसलाई १३ दिनमा झारियो । यो पनि अहिले खर्च बढि हुने र समय बढि लाग्ने हुँदा कठिन हुँदै गएको छ । यसलाई ब्यवस्थित गर्न सकिन्छ । क्रियालाई ५ दिन वा ७ दिनमा सक्नु राम्रो हुने धारणा आइरहेका पनि छन् । १३ दिन नै लगाउँदा पनि केही छरिता माध्यमहरू अवलम्बन गर्न सकिन्छ । परिवारका धेरै सदस्यहरू क्रियामा बस्ने चलनलाई परिस्कृत गर्न सकिन्छ ।

श्रद्धालाई ब्यवहारिक बनाउन सके मात्र त्यो श्रद्धा कायम हुन्छ र बोझ भएमा श्रद्धामा कमी आउन सक्दछ । क्रियापुत्रीलाई मृतकप्रति चिन्ता र श्रद्धाभन्दा मृत्युको कारणले लाग्ने ऋणको पीडाले सताउँछ भने त्यसको कुनै औचित्य रहँदैन ।

प्रचलनको सम्बन्धमा हेर्दा हिन्दूधर्ममा धेरै प्रचलन छन् । कवीरपन्थीहरू समेत केही हिन्दूहरूले एकदिनमा नै क्रिया (किरिया) को कार्य सक्दछन् । नेपालमा पनि केही समुदायमा १३ दिनसम्म मृतकको क्रिया त गर्ने तर एक जना मात्र क्रियामा बस्ने चलन छ । हामीले धनीहरूले विशेषतः राणा र ठकुरीहरूले बाहुनलाई आफ्नो तर्फबाट क्रिया गर्न राख्ने गरेको पनि थाहा पाएका छौँ । मृतकले मर्न भन्दा पहिला सक्षम हुँदा आफ्नो क्रिया आफैले गरेका पनि उदाहरण छन् । शवलाई गाड्ने, पानीमा डुबाउने तथा जलाउने समेतका चलन हिन्दूधर्ममा छन् । समय र स्थानअनुसार अलग–अलग चलनहरू आएका छन् ।

अत्यन्त धार्मिक र हिन्दूधर्म र शिक्षामा करोडौँ खर्च गरेका र पितृभक्त मेरा साथीका पिता स्वर्गे हुनुभयो । उहाँहरूले पितालाई अन्तिम संस्कार गर्नुभयो, त्यो पनि पाँच छोरामा दुई छोरा मात्र गएर । तीर्थस्थलमा कुनै पुजारीलाई श्राद्ध गर्ने जिम्मा दिएर उहाँहरू त्यो स्थल छोडेर अमेरिकासम्म पुग्नुभएको छ । उहाँहरू केवल चोखो मात्र बस्नुहुन्छ । छोराहरूले क्रिया नै गर्नुभएन । के हामी यो संस्कारको विरोध गर्न सक्छौँ ? उहाँहरूका धेरै पहिलादेखि नै चलेको छ । एउटा हिन्दूले गरेको कार्य अर्को हिन्दूले समयसापेक्ष देखिए अनुशरण गर्न के नराम्रो छ र ?

यी प्रथालाई समेटेर यो भन्न सकिन्छ कि एक दिनमा क्रिया सक्नेदेखि एक जना मात्र क्रियामा बस्ने वा अरुलाई क्रियामा बस्न लगाउने प्रचलनहरू हिन्दूधर्मअन्तर्गत नै हुन् । कुनै पनि प्रक्रिया गर्दा मृतकले मुक्ति पाएका छन् भन्ने विश्वास छ । किनकि ती कार्य हिन्दूधर्मअन्तर्गत नै भएका हुन् । विशेषतः यो कार्यको उचित समापन र श्रद्धा महत्वपूर्ण हो । श्रद्धालाई ब्यवहारिक बनाउन सके मात्र त्यो श्रद्धा कायम हुन्छ र बोझ भएमा श्रद्धामा कमी आउन सक्दछ । क्रियापुत्रीलाई मृतकप्रति चिन्ता र श्रद्धाभन्दा मृत्युको कारणले लाग्ने ऋणको पीडाले सताउँछ भने त्यसको कुनै औचित्य रहँदैन ।

१३ दिन क्रिया गर्ने तर परिवारको एक जना मात्र क्रियामा बस्ने र विशेष अवस्थामामा क्रियापुत्री बदल्न सकिने र मूख्य कार्यमा अरुले पनि नुहाएर साथ दिने कार्य पनि अत्युत्तम छ । यसले संस्कार पनि साविकदेखि चलेको जस्तो नै देखिन्छ र प्रक्रिया पूरा हुन्छ ।

त्यसैकारणले मृतकको क्रिया गर्दा एकदेखि तेह्र दिनसम्म गर्न सकिन्छ । तर माथि उल्लिखित आधारमा क्रियालाई सात वा पाँच दिनमा ब्यवस्थित गर्न पनि सकिन्छ । तेह्र दिन नै क्रियामा बसेमा पनि परिवारको एक जना मात्र क्रियामा बस्ने, उसले खाना खाँदा परिवारका अन्य सदस्यले नै चोखो गरेर बनाएको खाने गर्न उपयुक्त हुन्छ । परिवारका अरु सदस्यले क्रिया गर्ने गरेकाहरूले अरु काम गर्ने र सफाइ र शुद्धतामा भने ध्यान दिन सक्दछन् । निश्चित धार्मिक काममा अरुले पनि नुहाएर हातले छोएर मुख्य कर्तालाई साथ दिन सक्दछन् । त्यति मात्र होइन क्रिया गर्ने ब्यक्ति धेरै भएमा पालैसँग गर्न सकिन्छ । क्रियालाई सञ्चारको प्रयोगबाट विदेशमा टाढा रहनेहरूलाई पनि संलग्न गर्न सकिन्छ र आवश्यक छ । यसो गरे धेरै सजिलो हुन्छ र हिन्दूधर्म समयसापेक्ष हुन्छ ।

मुलभूत रूपमा क्रियालाई पाँच वा सात दिनमा पूरा गर्न सम्बन्धित विद्वानहरूले खाका दिन राम्रो हुनेछ । त्यस्तै १३ दिन क्रिया गर्ने तर परिवारको एक जना मात्र क्रियामा बस्ने र विशेष अवस्थामामा क्रियापुत्री बदल्न सकिने र मूख्य कार्यमा अरुले पनि नुहाएर साथ दिने कार्य पनि अत्युत्तम छ । यसले संस्कार पनि साविकदेखि चलेको जस्तो नै देखिन्छ र प्रक्रिया पूरा हुन्छ । गरुड पुराणको लागि पण्डित नबोलाई टिभी, मोबाइल आदिबाट सुन्ने वा हेर्न पनि गर्न सकिन्छ । यहाँसम्म लेखिएको छ कि गीतामा भगवानले भन्नुभएका दुई श्लोक पाठ गर्ने हो भने कुनै पनि इच्छित वा आवश्यक धार्मिक कार्यको लागि अरु कुनै पनि कार्य गर्न आवश्यक छैन । विविधतामा सरल तर धर्मले फरक रूपमा आत्मसात गरेका विषयलाई समयसापेक्ष रूपमा आत्मसात गर्न आवश्यक छ ।

सबैबाट मृत्यु कार्यमा उपयुक्त हुने उत्तम र वैकल्पिक सुझाव आवश्यक छ । प्रतिबद्ध भएर हामीहरूको मृत्युमा यस्तो होस् भनेर अभियान चलाउनसमेत तयार हुन सकिन्छ । यसले हामी र हामीहरूका सन्तानलाई नै सजिलो हुनेछ र कल्याण हुने छ । त्यस्तै मृत्युपछि शरीरका अङ्ग अस्पताललाई दिने र बाँकी शरीरलाई अस्पतालको सहयोगमा नै विद्युतीय प्रविधिबाट जलाउने कार्य सम्भव भएको स्थानमा त्यसो गर्नसमेत हामी तयार होउँ । यो सुधारको लागि हामी मिलेर प्रतिबद्धता जनाउँ र ब्यवहारमा पनि लागु गरौँ ।

(सुझाव र प्रतिबद्धताको लागि दामोदर, सम्पर्क : ९८०३२३८९६५÷९८४५६१५८८५)