हतियारसहित जापानमा नेपाली युवा पक्राउ

हतियारसहित जापानमा नेपाली युवा पक्राउ


विशेष प्रतिनिधि, जापान

बन्दुक तथा तलबारसँग सम्बन्धित नियमको उल्लंघन गर्दै सडकमा चक्कु बोकेर हिँड्दा जापानमा एक नेपाली युवा पक्राउ परेका छन् ।

जापानको गिफु प्रिफेक्चरको गिफु शहर निशिनोमाचीबाट प्रहरीले २३ वर्षीय एक नेपाली युवालाई पक्राउ गरेको खबर गिफु सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

हाल पेशा नखुलाइएका ती युवा सेप्टेम्बर २८ तारिख बिहान ७ बजेर ५० मिनेटको समयमा पक्राउ परेका हुन् ।

६ सेन्टिमिटर लामो चक्कु भान्सामा प्रयोग हुने खालको भएको बताइएको छ । प्रहरीले पक्राउ गरी चक्कु बोकेर हिँड्नुको कारण सोधपुछ गर्दा उनले स्पष्ट हुने आधार दिन नसकेको समाचारमा दाबी गरिएको छ ।

प्रहरीमा छिमेकी एक महिलाले एक व्यक्ति चक्कु बोकेर सडकमा हिँडेको र धेरै व्यक्ति डराएको भनी टेलिफोनमा उजुरी दिएपछी पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिले कसैलाई तर्साएको वा धम्याएको नपाइएको बताउँदै घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।