बलात्कारी जोगाउन खोज्दा वडाध्यक्षमाथि हातपात, कुटपिटको उजुरी दर्ता भएन !

बलात्कारी जोगाउन खोज्दा वडाध्यक्षमाथि हातपात, कुटपिटको उजुरी दर्ता भएन !


वडाध्यक्षमाथि हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको सन्दर्भ बारामा अहिले चर्चामा छ ।

बारा जिल्लाको सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको कुटपिटमा परेका वडाध्यक्षले आरोप लगाएका छन् ।

गत भदौ १ गते अर्थात् विश्वकर्मा पूजाको दिन सो गाउँपालिकाको वडा नं. ५ ओरैया की एक १२ वर्षीया मुस्लिम बालिकालाई राति आठ बजेतिर स्थानीयवासी २५ वर्षीय शिवपुजन यादवले बलात्कार गरेको विषयमा पीडित बालिकाका बुबा मन्सेर मियाँले वडाध्यक्ष साहलाई सिफारिस लेखी दिन आग्रह गर्दा बलात्कार जस्तो जघन्य अपराधको सिफारिस गर्न मिल्दैन भनी जवाफ फर्काएपछि स्थानीय केही युवाहरुले उनलाई बैठकमै हातपात र कुटपिट गरेका थिए ।

सो विषयलाई लिएर वडाध्यक्ष साहले स्थानीय तीन जना युवाविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बारामा जाँदा मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षले साहले बताएका राससले जनाएको छ ।

वडाध्यक्ष साहलाई कुटपिट भएको हो वा होइन भन्ने सवालमा शरीरमा घाउ र कुनै चोटपटक नदेखिएकोले मुद्दा दर्ता हुन नसकेको जवाफ जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले दिएका छन् ।

बलात्कारका अभियोग लागेका शिवपुजन यादव फरार रहेकाले उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

बलात्कारको घटनालाई लिएर वडाध्यक्ष साहमाथि हातपात तथा कुटपिट गर्नु अपराध भएकाले यससम्बन्धी मुद्दा दर्ता नगरेर प्रहरीले अपराधीलाई संरक्षण गरेको आरोप स्थानीय जनप्रतिनिधि किशोरीप्रसाद यादवले लगाएका छन् ।

बालिकाको बलात्कार भए पनि नजिकै रहेको इलाका प्रहरी कार्यालय कवही गोठलाई जानकारी नदिनु, वडाध्यक्षले सो घटनालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हातपात गर्नु र तीन दिनपछि मात्र बलात्कारको मुद्दा बारा प्रहरी कार्यालयमा दर्ता गर्नु आफैमा रहस्यपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।