पदक आएन भने सरकार दोषी-मीनकृष्ण महर्जन

पदक आएन भने सरकार दोषी-मीनकृष्ण महर्जन


-श्रीविक्रम भण्डारी
खेलकुदसँग तीन दशकअघि नाता जोडेका उनी अहिले खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको महत्त्वपूर्ण पद सम्हाल्न पुगेका छन् । उनले सितोरियो कराँतेमा प्रवेेश गरेर एसियाली कराँते च्याम्पियनसिपमा स्वर्णपदक जित्दै मुलुकको शिर अन्तराष्ट्रमा पनि ठाडो पारिसकेका छन् । कुनैबेला नेपालकै उत्कृष्ट खेलाडीको रूपमा गणना हुने उनै करातेका पाँचौँ डान, नेपाली काङ्ग्रेस तरुण दलका केन्द्रीय सदस्य र खेलकुद विभाग प्रमुख मीनकृष्ण महर्जनसँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको कुराकानी ।
० एउटा खेलाडी खेलकुद पदाधिकारी भएपछि उसको जिम्मेवारी कस्तो हुनुपर्छ ?
-खेलकुदको जिम्मेवार पदाधिकारी भइसकेपछि सम्पूर्ण खेलकुद र खेलाडीको विकासका साथसाथै कसरी अन्तर्राष्ट्रियस्तरमा कसरी सफलता पाउन सकिन्छ भन्ने कुरामा बढी जिम्मेवारी हुन्छ ।
० तपाईं राखेपको सदस्यमा नियुक्ति हुँदा निकै असन्तुष्ट देखिनुहुन्थ्यो, के कारण थियो ?
– मलाई नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले राखेपको कोषाध्यक्षका लागि सिफारिस गरेको थियो । पछि कारणवश मलाई उक्त पदमा नियुक्ति दिइएन । त्यसपछि मैले शपथ नलिएर विरोध गरेको थिएँ । पछि पार्टीका शीर्षस्थ नेताहरूले अहिले सदस्यमै शपथ खानु पछि कोषाध्यक्षकै जिम्मेवारी दिने भनेपछि मैले शपथ खाएको थिएँ ।
० राजनीतिक दलहरूले खेलकुदलाई कार्यकर्ताहरूको भरतीकेन्द्रको रूपमा विकास गर्नुको पछाडि के स्वार्थ लुकेको होला ?
– वास्तविक रूपमा भन्नुपर्दा यो खेलकुदका लागि साँच्चिकै दर्ुभाग्यपूर्ण कुरा हो । दलहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खेलकुदलाई भरतीकेन्द्र बनाएका पक्कै हुन् । विगतका सदस्यसचिव विनोदशंकर पालिखे, किशोरबहादुर सिंह र जीवनराम श्रेष्ठका पालामा राखेप भरतीकेन्द्र बने पनि हामी आएपछि एकजना राजनीतिक कार्यकर्तालाई पनि नियुक्ति गरेका छैनौँ । त्यो हामी हुन पनि दिँदैनौँ । हामी खेलकुदलाई सुधारेर लाने कुरामा दृढ भएर लागेका छौँ ।
० खेलकुदमा राजनीतिक हस्तक्षेप आवश्यकता हो कि विडम्बना ?
– आवश्यकता त हुँदै होइन, विडम्बना हो । मलाई के लाग्छ भने जबसम्म खेलकुदमा राजनीतिक हस्तक्षेप हुन्छ तबसम्म खेलकुदको विकास हुन सक्तैन । खेलकुदको विकासका लागि राजनीतिक सपोर्ट चाहिने भए पनि राजनीतिक दलहरूले खेलकुदमा ठाडो हस्तक्षेपचाहिँ गर्नुहुँदैन ।
० राजनीतिक हस्तक्षेपका कारणले खेलकुद अघोगतितर्फ लागेको हो भनिन्छ, के यो आरोप सत्य हो ?
– यो कुरामा आंशिक सत्यता भए पनि राजनीतिक हस्तक्षेपकै कारणले खेलकुद अघोगतितर्फ उन्मुख भएकोचाहिँ म मान्दिनँ । अहिलेसम्म राखेपको स्पष्ट खेलकुद नीति छैन । यही स्पष्ट नीति अर्थात् राष्ट्रिय खेलकुद नीति नभएका कारणले पनि खेलकुदले सही दिशा लिन नसकेको हो ।
० वर्तमान अवस्थामा राखेप र नेपाल ओलम्पिक कमिटीबीच विवाद बढ्नुको कारण के होला ?
– नेपाल ओलम्पिक कमिटीसँग विवाद बढाउने काम राखेपले गरेको नभई खुद ओलम्पिक कमिटीले गरेको हो । एनओसीले खेलकुदको नियमावलीलाई बेवास्था गर्दै सदस्यसचिवलाई वाईपास गरेर आफुखुसी जोकोहीलाई ‘सेभ द मिसन’ बनाएर विदेश पठाउन थालेपछि विवाद उत्पन्न भएको हो । एनओसीको यही गैरकानुनी र हेपाहा प्रवृत्तिलाई ठेगाना लगाउन राखेप त्यसपछि कदम उठाउन बाध्य भएको हो । त्यसपछि इँटको बदला पत्थरले दिने क्रममा राखेपले एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई जिम्न्यास्टिक सङ्घको अध्यक्षबाट हटाएको थियो ।
० बाहिरबाट हेर्दा सर्वोच्चताको लडाइँजस्तो देखिएको छ, आखिर खेलकुदको सर्वोच्च निकाय कुन हो त ?
– यो कुरामा दुईमत नै छैन । खेलकुदको सर्वोच्च निकाय भनेको राष्ट्रिय खेलकुद परिषद् हो । मेरो विचारमा एनओसी भनेको राखेपको हुलाकी मात्रै हो । बजेट परिषद्ले दिने, खेलाडी परिषद्ले तयार पार्ने, अन्य खेलकुदका सम्पूर्ण गतिविधि परिषद्ले सञ्चालन गर्ने भएपछि एनओसी राखेपभन्दा कसरी सर्वोच्च हुन सक्छ ?
० त्यसो भए एनओसीले उपद्रो मच्चाउँदा पनि राखेप मौन बस्नुको कारण के होला ?
– राखेप मौन बसेको छैन । ओलम्पिक कमिटीको अध्यक्षलाई समेत कारबाही गरेर देखाइसकेको छ । यदि भविष्यमा पनि एनओसीको यस्तै रवैया रहने हो भने कसरी नाकमा रस्सी लगाउनुपर्छ त्यो राखेपले कुराले होइन कामले गरेर देखाइदिनेछ ।
० अहिले तपाईं सदस्यबाट कोषाध्यक्ष बन्नुभएको छ, जिम्मेवारी कत्तिको बढेको छ ?
– कोषाध्यक्ष भएपछि जिम्मेवारी बढ्नु स्वाभाविकै हो । खेलकुद हाँक्ने आरि्थक क्षेत्रको जिम्मेवारी पाएपछि त ठूलो जिम्मेवारी मेरो काँधमा आइपरेको छ ।
० जीवनराम श्रेष्ठका पालामा त कोषाध्यक्षलाई वाईपास गरिएको थियो, तपाईं पनि नाम मात्रकै कोषाध्यक्ष बन्नुभएको हो कि ?
– म अजहर मानन्धरजस्तो कोषाध्यक्ष होइन । त्यो उहाँको कमजोरी थियो । राखेपको प्रमुख व्यक्ति भनेकै सदस्यसचिव र कोषाध्यक्ष हुन् । तसर्थ मेरो जिम्मेवारी के हो – मेरो अधिकार के हो ? मैले के गर्नुपर्छ ? त्यो मलाई राम्रोसँग थाहा छ ।
० प्रसङ्ग बदलौँ, १६औं एसियाली खेलकुद प्रतियोगिताको संयोजक बन्नुभएको छ, तयारी त देखिँदैन नि ?
– सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बजेट हो । बजेटबिना कुनै पनि कार्य दूरदर्शी, प्रभावकारी र सरल तरिकाले गर्न सकिँदैन । यदि सरकारले हामीले मागेअनुसारको बजेट समयमै दियो भने स्वर्णपदकको त ठोकुवा गर्दैन, दुईरजत र पाँच कास्यपदक एसियाली खेलकुदमा नेपालले जित्ने कुरा विश्वासका साथ भन्न सक्छु ।
० नेपालले १४ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ, त्यसको आधार के होला ?
– हामीले एघारौँ सागको प्रदर्शनको आधारमा १४ वटा खेललाई एसियाली खेलकुदमा सहभागिता गराउने निर्णय गरेका हौँ । यसमा हामीले मार्सल आर्टस् र अन्य पदक जित्ने सम्भावित खेलहरूलाई राखेका छौँ ।
० पदक जित्ने खेललाई मात्र सहभागी गराएको भए राम्रो हुन्थ्यो कि ?
– त्यसो गर्‍यो भने अन्य खेलकुदको गतिविधि नै शून्य हुन्छ । अरूलाई पनि अवसर प्रदान गर्नुपर्छ । यसपटक हाम्रो पहिलो कार्ड क्रिकेट भएको छ ।
० एसियाली खेलकुद सञ्चालन हुन ६ महिना मात्र बाँकी रहेको अवस्थामा अहिलेसम्म खेलाडीहरूको छनोट नहुनुको कारण के होला ?
– यो सबै ढिलासुस्ती बजेटका कारणले भएको हो । अहिले राखेपको बैठकले जेठको पहिलो सातादेखि खेलाडी छनोट गरेर प्रशिक्षणमा पठाउने निर्णय गरिसकेको छ । मलाई विश्वास छ, त्यतिबेलासम्म सरकारले तयारीका लागि केही रकम अवश्य उपलब्ध गराउनेछ ।
० अहिलेसम्म सरकारले कुनै पनि खेलकुदका लागि मागेअनुरूपको बजेट दिएको छैन, एसियाली खेलकुदका लागि कति बजेट माग गर्नुभएको छ ?
– सबैभन्दा दुःखको र विडम्बनाको कुरा नै भन्नुपर्दा अहिलेसम्म सरकारले खेलकुदको वास्तविकता र महत्त्वलाई बुझेकै छैन । अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान र गौरवको माध्यम खेलकुद भए पनि नेपाल सरकारले अहिले पनि खेलकुदप्रति सौतेलो व्यवहार गर्दै आएको छ । एसियाली खेलकुदको तयारी र सहभागिताका लागि परिषद्ले सरकारसँग पाँच करोडको माग गरे पनि अहिलेसम्म प्राप्त भएको छैन ।
० सरकारले समयमै बजेट नदिएका कारणले खेलाडी छनोट र प्रशिक्षण गर्न ढिलाइ भएको कुरा सत्य हो ?
– यो सतप्रतिशत साँचो कुरा हो । म अहिले एसियाली खेलकुद प्रतियोगिताको संयोजक भएको दुई महिना भइसक्दा पनि सरकारले बजेट नदिएका कारण अहिलेसम्म हात बाँधेर बस्नुपरेको छ । यदि बजेट समयमै पाइयो भने कुन-कुन खेललाई कहाँ-कहाँ र कसरी स्वदेशी र विदेशी प्रशिक्षण दिनुपर्छ त्यसको खाका हामीले कोरेर राखिसकेका छौँ ।
० यस्तो तयारीबाट एसियाली खेलकुदमा पदक जित्न सकिन्छ त – कत्तिको आशा गर्नुभएको छ ?
– पदक जित्ने आशा पनि छ, अलि डर पनि लागेको छ । यदि सरकारले समयमै बजेट दिएन भने पछि जे पनि हुन सक्छ । तसर्थ भोलि बजेटकै ढिलाइका कारणले परिणाम नकारात्मक आयो भने त्यसको सम्पूर्ण दोषी सरकार हुनेछ । खेलाडी र राखेपलाई दोष दिन पाउने छैन ।
० तपाईंको विचारमा नेपालले अन्तर्राष्ट्रियस्तरमा सोचेअनुरूपको सफलता पाउन नसक्नुको कारण के होला ?
– यसमा थुप्रै कुरा भए पनि सर्वप्रथम खेलकुदको प्रभावकारिता राज्यको नजरमा पर्नुपर्छ । सरकारले राज्यको कुल बजेटको ०.५ प्रतिशत बजेट मात्रै खेलकुदमा लगानी गर्ने हो भने खेलकुदको कायापलट हुने कुरामा म विश्वस्त छु ।
० वर्तमान अवस्थामा राखेपमा लगभग ९० वटा सङ्घ दर्ता भइसकेका छन्, बिनाकाम न काजका सङ्घ दर्ता गर्नुको पछाडि के स्वार्थ लुकेको होला ? साथै यस्ता सङ्घहरूले म्यानपावरको काम गर्दै खेलकुद क्षेत्रलाई बद्नाम गराइरहेका छन्, यसबारेमा तपाईं के भन्नुहुन्छ ?
– हामी नियुक्ति भएर आएदेखि एउटा सङ्घ पनि दर्ता गर्न दिएका छैनौँ । विगतमा जीवनराम श्रेष्ठले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न यस्तो गैरजिम्मेवारी कार्य गरेका थिए । उनले सङ्घहरूको जथाभावी दर्ता मात्र नभई एमालेका कार्यकर्तालाई परिषद्मा हुलेर भरतीकेन्द्र नै बनाएका थिए । अहिले यस्ता सङ्घहरूको खारेजी गर्ने कुरामा सदस्यसचिवलगायतसँग हाम्रो मौखिक सम्झौता भइसकेको छ । हामी चाँडै नै यस्ता सङ्घहरूको विघटनमा लाग्दै छौँ ।
० सरकार परिवर्तनसँगै तपाईं सदस्यसचिव बन्ने हल्ला छ नि, यो कुरामा कत्तिको सत्यता छ ?
– मैले खेलकुदमा के-के गर्न सक्छु भन्ने कुराको मूल्याङ्कन पार्टीले गरिसकेको छ । यदि भविष्यमा सरकार परिवर्तन भएको खण्डमा र हाम्रो पार्टी नेकाको भागमा खेलकुद मन्त्रालय परेको खण्डमा मैले सदस्यसचिव पाउनुपर्छ भन्ने मेरो माग हो । यदि म सदस्यसचिव भएको खण्डमा र मैले एक वर्ष मात्रै खेलकुद हाँक्न पाएको खण्डमा नेपाललाई दक्षिण एसियाली मुलुकमा पुर्‍याउने योजना बनाएको छु । मेरो पनि खेलकुदमा थुप्रै वर्ष लगानी भएकोले मलाई विश्वास छ, म एसियाली खेलकुदमा पनि नेपाली खेलाडीलाई स्वर्णपदक जित्ने बनाउन सक्छु, यो मेरो प्रतिबद्धता पनि हो ।

ट्वान्टी-२० विश्वकप क्रिकेट
इङ्ग्ल्यान्ड विश्वच्याम्पियन
विश्व ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि इङ्ग्ल्यान्डले जितेको छ । हालै सम्पन्न विश्व ट्वान्टी-२० को तेस्रो संस्करणमा इङ्ग्ल्यान्डले फाइनलमा शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई पराजित गरेको थियो । इङ्ग्ल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी) को आधिकारिक प्रतियोगिता जितेको यो पहिलो अवसर हो । लिग चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेको इङ्ग्ल्यान्डले फाइनलसम्म उत्कृष्ट प्रदर्शन दोहोर्‍याएको थियो । क्रिकेटको जन्मभूमिको रूपमा परिचित इङ्ग्ल्यान्डले विश्व ट्वान्टी-२० क्रिकेटको उपाधि जितेपछि अहिले इङ्ग्ल्यान्डमा खुसीको वहार आएको छ ।
फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि इङ्ग्ल्यान्डका सामु अस्ट्रेलिया निरीह सावित भएको थियो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन । अस्ट्रेलियाका दुवै प्रारम्भिक सस्तैमा पेवेलियन फर्केपछि अस्ट्रेलिया दबाबमा परेको थियो । एक समय १२ ओभरमा चार विकेट गुमाएर ६२ रनको दयनीय अवस्थामा पुगेको अस्ट्रेलियालाई डेबिड हसीले उकासेका थिए । उनको शानदार अर्धशतकले अस्ट्रेलियाले सम्माननीय योगफल एक सय ४७ रन बनाउन सफल भएको थियो ।
एक सय ४८ रनको विजयलक्ष्य पाएको इङ्ग्ल्यान्डलाई सुरुमा झट्का लागे पनि त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको थियो । दक्षिण अप्रिmकामा जन्मिएका र इङ्ग्ल्यान्डलाई कर्मभूमि बनाएका केभिन पिटर्सन र केइसवेटरले दोस्रो विकेटका लागि एक सय ११ रनको साझेदारी गरेपछि इङ्ग्ल्यान्डले सहज विजय हासिल गरेको थियो । यी दुईको जोडीले ६७ बलको सामना गरेर एक सय ११ रन बनाएको थियो । २० वर्षीय युवा खेलाडी केइसवेटरले यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेटम ‘डेब्यु’ गरेका थिए । उनी फाइनलमा ६२ रनको योगदान दिएका कारण म्यान अफ दि म्याच बनेका थिए । यो प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेर दुई सय ४८ रन बनाएका पिटर्सन म्यान अफ दि सिरिज घोषित भएका थिए । छइङ्ग्ल्यान्डले विश्व ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि इङ्ग्ल्यान्डमा भव्य विजयी जुलुस निकालिएको छ । आईसीसीको आधिकारिक प्रतियोगिता अहिलेसम्म जित्न नसकेको इङ्ग्ल्यान्डले विश्व ट्वान्टी-२० कप क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनले फुटबल खेलाडीहरूमा पनि नयाँ जोस र जाँगर आएको छ । आगामी महिना दक्षिण अप्रिmकामा आयोजना हुने विश्व कप फुटबल प्रतियोगिताको प्रमुख दाबेदारको रूपमा रहेको इङ्ग्ल्यान्डको फुटबल टोलीले पनि क्रिकेट टोलीले मुलुकलाई विश्वकप फुटबलको उपाधि जितेर उपहार दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपालले चौध खेलमा भाग लिने
राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुद प्रतियोगितामा नेपालले १४ खेलमा सहभागिता गराउने निर्णय गरेको छ । आउँदो नोभेम्बरमा छिमेकी राष्ट्र चीनको ग्वाङजाउ सहरमा हुने १६औं एसियाली प्रतियोगितामा हालै ढाकामा सम्पन्न एघारौं सागमा उत्कृष्ट प्रदर्शन गरेका खेल र सम्भावित पदक जित्ने खेलहरूलाई उक्त प्रतियोगितामा समावेश गरिएको एसियाली खेलकुद तयारी समितिका संयोजक मीनकृष्ण महर्जनले बताएका छन् । उनले एसियाडलाई मध्यनजर राख्दै आगामी जेठ ७ गतेदेखि प्रारम्भिक छनोट गरेर खेलाडीहरूलाई विशेष प्रशिक्षणमा राखिने बताएका छन् ।
एसियाली खेलकुदमा नेपालले कराँते, तेक्वान्दो, उसु, बक्सिङ, आर्चरी, जुडो, टेबुलटेनिस, ब्याडमिन्टन, एथलेटिक्स, भारोत्तोलन, बुद्धिचाल, कुस्ती, सुटिङ र क्रिकेटमा सहभागिता जनाउने भएको छ । संयोजक महर्जनले एसियाडका लागि सरकारसँग बजेटको माग गरिसकेको र बजेट आउनेबित्तिकै प्रशिक्षणलाई अझ तीव्र पारिने बताए । महर्जनले प्रशिक्षण र सहभागिताका लागि माग गरिएको बजेट यसै साता आउने पनि बताएका छन् । यसपछि खेलाडीलाई स्वदेश र विदेशमा प्रशिक्षण गराइने महर्जनले जानकारी गराएका थिए ।