तेजाब नियमनलगायत तीन अध्यादेश जारी

तेजाब नियमनलगायत तीन अध्यादेश जारी


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिएअनुसार सोमबार (१२ असोज) जारी ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन) रहेका छन् ।

स्मरणीय छ, हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताउनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र तेजाबपीडितहरुसहित सहभागी विशेष कार्यक्रममा उहाँले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुऱ्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिनुभएको थियो ।

त्यसअघि प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो ।