पश्रितलाई भारी पऱ्यो पद्मश्री साधना सम्मान !

पश्रितलाई भारी पऱ्यो पद्मश्री साधना सम्मान !


सामाजिक सञ्जालमा विरोध र ब्यङ्ग्यको बाढी चलेपछि साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने भएका छन् । आफूलाई तीन लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गर्ने संस्थालाई उनले यसबारे जानकारी गराएको सार्वजनिक गरेका छन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै पद्मश्री साहित्य पुरस्कारचाहिँ सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई प्रदान गरिने घोषणा गरिएको थियो । शुरुमै सञ्जीव उप्रेतीले ‘यौन दूराचारको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर आफूले पुरस्कार र सम्मान थाप्न नसक्ने’ अभिव्यक्ति दिएपछि सहित्यकार पश्रितविरुद्ध सामाजिक सञ्जाल तातेको थियो ।

पुरस्कारको कारण सम्मान मिल्नुको साटो उल्टै बदनामी बढ्ने अवस्था निम्तिएपछि पश्रितले तोकिएको मितिमा सम्मान तथा पुरस्कार ग्रहण गर्न नसक्ने भन्दै आयोजकलाई जानकारी गराएका हुन् ।

तर, पुरस्कार प्रदान गर्ने संस्था तथा आयोजकहरुलाई पश्रितले जुन किसिमले सम्मान अस्वीकार गर्ने जानकारी दिएका छन्, त्यो भने स्पष्ट छैन । उनले ‘राम्रो उद्देश्यले सम्मान गर्न खोज्नु भएको हो, त्यसका लागि धन्यवाद, तर आक्षेपहरुका कारण वातावरण राम्रो छैन, पछि अवस्था राम्रो भएछ भने लिउँला, अहिलेलाई नगरौँ’ भनी आयोजक पक्षलाई भनेका सार्वजनिक भएको छ । यसबाट उनले पुरस्कार परित्याग भने गरेका छैनन् भन्ने स्पष्ट बुझिन्छ ।

उनले आफूमाथि आधारहीन आरोप लगाएर सम्मानित पुरस्कारलाई नै धुमिल बनाउन खोजिएको पनि जनाएका छन् ।

ज्ञात रहोस्, पूर्वएमालेका नेता र मन्त्रीसमेत रहिसकेका प्रश्रितले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप अर्घाखाँचीकी महिला शारदा भुसालले लगाउँदै आएकी छिन् । हाल भ्रष्टाचारविरोधि अभियानमा सक्रिय रहँदै आएकी भुषालले ‘धरातल’ नामक आत्मकथामा आधारित पुस्तकमार्फत् पश्रितले आफूलाई १३ वर्षको उमेरमा पटक-पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।