यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदानप्रदानका लागि सहमति

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदानप्रदानका लागि सहमति


यमनी सरकार र हुथी विद्रोहीबीच स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा आइतबार (२७ सेप्टेम्बर) भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदानप्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन् ।

ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।

सम्झौतामा ६८१ विद्रोही र ४०० साउदी सेनाको नेतृत्वमा रहेको सरकारी सेनाको आदानप्रदानको सहमति भएको बताइएको छ । सहमतिमा ३८१ यमनी सैनिक, १५ साउदी नागरिक र चार सुडानी नागरिकलाई रिहा हुथी समूहले गर्नेछ भने ६८१ विद्राहीलाई सरकारले रिहा गर्नेछ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)ले रिहा भएका कैदीहरू उनीहरूको परिवारसम्म नपुग्दासम्म अनुगमन गर्ने बताइएको छ ।

आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजिओ कार्बोनीले परिवारबाट वर्षौदेखि छुट्टिएर रहेका कैदीमा सकारात्मक सन्देश छोड्ने भनी सम्झौताको प्रशंसा गरेका सिन्ह्वाले जनाएको छ ।

ज्ञातव्य छ, यमनमा द्वन्द्वरत दुई पक्षले करिब १५ हजार व्यक्तिलाई बन्दीका रूपमा राख्दै आएका छन् ।