आफ्नो नागरिकको हत्या सम्बन्धमा संयुक्त छानविन टोली गठन गर्न सियोलको आग्रह

आफ्नो नागरिकको हत्या सम्बन्धमा संयुक्त छानविन टोली गठन गर्न सियोलको आग्रह


दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय ब्लू हाउसले उत्तर कोरियालाई अन्तरकोरियाली समुद्री सिमानानजिक दक्षिण कोरियाली सरकारी कर्मचारीको हत्याको संयुक्त छानबिन गर्न आग्रह गरेको छ ।

राष्ट्रपतिको कार्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा कार्यालयका उप–निर्देशक सु चू–सुकले आइतबार सञ्चारकर्मीसँग भनेका छन्, ‘दक्षिण कोरियाले उत्तर कोरियालाई सीमानामा मारिएका आफ्ना सरकारी अधिकारीको अनुसन्धान गर्न र घटनाको सत्यता द्रुत रूपमा प्रकट गर्न संयुक्त समिति बनाउन हामीले आह्वान गरेका छौँ ।’

सुले सञ्चार, छलफल र अनुसन्धानसँग सम्बन्धित जानकारीको आदानप्रदानका लागि अन्तरकोरियाली सैन्य हटलाइनहरू पुनः खोल्न पनि उत्तर कोरियासँग आग्रह गरिएको बताए। दुई देशले आ–आफ्नो क्षेत्रको पानीमा मृत व्यक्तिको लास खोज्ने वातावरण मिलाउन पनि उनले आग्रह गरेका छन् ।

दक्षिण कोरियाली सेनाले बिहीबार माछा पालक दक्षिण कोरियाली अधिकारीलाई अन्तरकोरियाली समुद्री सिमानानजिक उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेका जानकारी सार्वजनिक गरेपछि प्योङयाङले ब्लू हाउसलाई गत शुक्रबार एउटा पत्र पठाएको थियो । जवाफमा दक्षिण कोरियाले पछिल्लो आग्रह गरेको सिन्ह्वाले जनाएको छ ।

उत्तर कोरियाली केन्द्रीय समाचार संस्थाले प्योङयाङले खोजी अभियान थालेको तर समूद्रमा आएका ठूला छालले मृत शरीरलाई दक्षिण पश्चिमतर्फ लगेको हुनसक्ने बताएको छ ।