हाम्रा अन्तिम दिनहरू कसरी मनोरम हुन सक्लान् ?

हाम्रा अन्तिम दिनहरू कसरी मनोरम हुन सक्लान् ?


■ डिल्ली अम्माई, बेल्जियम

जीवनको गति उकालो लाग्दा र ओरालो लाग्दा मानिसले सोच्ने तरिकाहरूमा फरकपन आउनु स्वाभाविक हो । यौनजोडीको रहस्यमय उत्तेजनाबाट बिनायोजना नै कुनै पनि जीवको उत्पत्ति हुन्छ । जब जन्मिनुपूर्व ठ्याक्कै योजना बनाएर कोही नजन्मेजस्तै बुढेसकालको जीवनलाई पूर्वयोजनाको पहाडले थिचेर निसास्सिने बनाउनु हुँदैन भन्ने केहीको राय देखिन्छ । त्यसको विपरीत पूरातनवादीहरूले जीवनलाई नियम नै नियमले नियमन गरेर सञ्चालन गर्ने राय ब्यक्त गर्दछन् । जीवन पद्धतिबारे तेश्रो धारका तर्कहरू यी दुवैभन्दा अलिक फरक छन् । तेश्रो मतअनुसार जीवनको कुनै पनि नियमनले आफ्नो स्वास्थ्य–चर्यालाई असर पार्छ भने त्यस्ता प्रदुषित स्वच्छन्दता त्याग्नुपर्छ, तर जीवनोकुल प्राकृतिक स्वतन्त्रतालाई भने खुल्ला छोड्नु पर्छ । नियमन स्वाभाविक र स्वयम् स्वीकार्य भएन भने त्यो बन्धन बन्न पुग्दछ । त्यसैले मानिसले आफ्नो जीवन राज्यको कानुनी दायरामा रहँदै तर आफूले चाहेअनुसार जिउनु पर्छ ।

मानव पनि अरू जीवहरु जस्तै प्राकृतिक अनुकुलतामा जन्मने, बढ्ने, स्थिर अवस्थामा रहने, शारीरिक रूपमा कमजोर हुँदै जाने र मर्ने गर्दछ । मृत्यु र जीवनबीचको द्वन्द्वमा प्रकृतिका सबै प्राणीहरू जस्तै मानिस पनि जन्मने र मर्ने शृङ्खलाबाट गुज्रिरहेको छ । बाँच्नको लागि बुढेसकालमा झन् धेरै शारीरिक अन्तरसङ्घर्षबाट गुज्रनुपर्ने हुन्छ । त्यसलाई पनि आन्तरिक र बाह्य परिवेशहरूले प्रभाव पारिरहेका हुन्छन् । घरायसी, सामाजिक सुरक्षानुभूति, प्रेम र राज्यको नागरिक सम्बन्ध तथा उत्तरदायित्वलाई हामीले बाह्य परिवेश भनेर बुझ्दछौँ । मानिसको उत्तरार्ध अवस्थालाई सहज बनाउन अपनाउने आन्तरिक विधिमा स्वयमसेवाको स्वास्थ्यअनुकुल खानपान, उमेरअनुसारको शारीरिक, मानसिक ब्यायाम, मनोरञ्जन, खुशी र तनावरहित जीवनपद्धति आदि पर्दछन् ।

जीवनमा भोगिएका सबै बोझमध्ये मानसिक तनावको घाउ देखिँदैन तर त्यो कठोर हुन्छ । जसको कारणले संसारभर हजारौँ मानिसहरूले दैनिक रूपमा आत्महत्या गर्दछन् । त्यसैले हाम्रो उत्तरार्धको समयलाई कम बोझिलो, सहज र तनावमुक्त बनाउनाले जीवन मृत्युको शारीरिक सङ्घर्षमा जीवनले जित्ने सम्भावना रहन्छ भने तनावपूर्ण अर्थात् निरास उत्तरार्धले जीवनलाई सधैं नकारात्मक प्रभाव पार्दछ । त्यसैले नित्य पेशाबाट अवकाशप्राप्त गरेका वा उमेरको उत्तरार्धमा पुग्न खोज्दै गरेकाहरूको स्वास्थ्य–जीवन र खुशीको लागि केही स्वैच्छिक नियमहरू आवश्यक हुन्छन् । त्यसको लागि वृद्धवृद्धा स्वयम्ले अपनाउन सक्ने केही सुझावहरू बुँदागत रूपमा निम्नानुशार प्रष्ट्याउने प्रयत्न गरिएको हो ।

मृत्युले कतिबेला झुक्याउँछ कसैलाई थाहा हुँदैन । अतः स्वयमको इच्छाबमोजिम परमार्थी ज्ञानको लागि पनि समय विभाजन गर्दा राम्रो नै हुन्छ ।

१. विचार र मानसिक सन्तुलन :

जीवनको स्थिर काल कति लामो हुन्छ, त्यो उसको जीवनका आन्तरिक र बाह्य अनुकुलता वा प्रतिकुलातामा निर्भर हुन्छ । हाम्रो आयु पूर्वनिर्धारित हुन्छ भन्ने धारणाबाट बाहिर ननिस्केसम्म जीवनलाई सच्चा प्रेम गरिँदैन । परम्परागत भाग्यवादी गलत मान्यताहरूबाट बाहिर निस्केपछि नै हामीले शरीरलाई सच्चा प्रेम गर्न थाल्छौँ । आफ्नो शरीरलाई असर गर्ने कुराहरू त्याग्दै जान्छौँ । जीवनप्रतिको हाम्रो धारणाले हामीलाई आफैंप्रति विश्वासी, प्रेमी र गहन बनाउँछ । हामीमा तनाव पैदा हुने मुख्य कारण आफूभित्रको निराशा हो, निराशा पैदा हुने प्रमुख कारण हीनताबोध हो । हाम्रो शरीरका मालिक हामी हौँ । सामाजिक रूपमा स्वावलम्बी र समुदायमा समान हैसियत बनाउन आफैं मेहनत गर्नुपर्छ भन्ने सोचले जीवनप्रतिको बुझाइलाई स्वभाविकतामा बदल्छ । हाम्रो सोंचको त्यो स्प्रिटले हाम्रो आयुलाई सकारात्मक प्रभाव परेको हुन्छ ।

कतिपय प्रतिकुलताहरू हामी आफैंले अनुकुलतामा बदल्न सक्दछौँ । त्यसैले भनिएको होला आयुको नापो विचारसँग घनिष्ट रूपले जोडिएको हुन्छ । विचारको सम्बन्ध कर्मसँग हुन्छ भने विचार र कर्मको सम्बंन्ध घनिभूत रूपमा मानव स्वास्थ्यसँग जोडिएको हुन्छ । खास–खास उमेर वा बिताएका वर्षहरूले, जीवनप्रतिका बुझाइले मृत्युलाई तलमाथि बनाइरहेका हुन्छन् । त्यसैले हामीले आफ्नो आयुको लम्बाइलाई बंश, जीवनका उतारचढाव र खानपानसँग जोडेर हेर्दा पनि सरदर ५५ वर्षदेखि मृत्युसम्मको समयलाई जीवकोष विघटनको समय मानिन्छ । त्यो समयमा पूर्ववत कमाइको सञ्चित भाग खर्च गरेर जीविका गर्नुपर्ने हुन्छ । हाम्रोतिर सञ्चित पुँजी सन्तानको लागि साँच्ने चलन छ । आफ्नो उत्तरार्धमा खर्च गरेर बाँचेको सम्पति मात्र सन्तानको लागि राखिनुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । त्यसको प्रमुख कारण राज्यको कमजोर नागरिक सुरक्षा रणनीतिलाई मानिन्छ । त्यस्तै, अर्को मुख्य कारण गरिबी हो ।

बेल्जियमलगायत अधिकतम सामाजिक सुरक्षा नीति राम्रो भएको देशमा कसैलाई पनि भविष्यको चिन्ता हुँदैन । यो सुरक्षा नीतिले युरोपका मानिसहरूको वैचारिक धरातल नै फेरिदिएको छ । उनीहरूले आफ्नो कमाइ खर्च गरेर आफ्नो जीवनकालमै आनन्द लिन्छन् । आफूले मरी–मरी कमाएको सम्पति अरू कसैको लागि भनेर साँचेर राख्दैनन् । युरोपियनहरूले आफ्नो परिश्रम र त्यागलाई आफ्नै खुसीको लागि प्रयोग गर्न जानेका हुन्छन् । उनीहरूको वैचारिक धरातल नै आत्मनिर्भर बन्ने र बनाउने खालको हुन्छ । त्यहाँका जनताले अवकासभन्दा अगाडि गरेको कमाइबाट उनीहरूको वृद्धावस्थाको सुरक्षाको लागि थोरै–थोरै गरेर कर लिएको हुन्छ । त्यो कारमा केही राज्यले थपेर सुरक्षा भत्ता, पेन्सन र अन्य सामाजिक सुरक्षामा खर्च गर्दछ । त्यसैले युरोपमा बयस्कको लागि राज्यले एउटा प्रणाली नै विकास गरिसकेको छ । आफूले कमाएको बचतमा पनि वृद्धवृद्धाहरूको पूर्ण स्वामित्व हुन्छ । सन्तानहरूलाई दिने पर्ने बाध्यता हुँदैन । त्यसैले युरोपमा बाबुको सम्पतिको लोभमा सन्तानले दाबी गरेको प्रायः सुनिँदैन । तर हामीकहाँ पैत्रिक सम्पत्ति प्राप्त गर्न आफ्नै सन्तानले आमाबाबुको हत्या समेत गरेका धेरै वृत्तान्त धेरै भेटिन्छन् ।

कुनै दिन यस्तो आउने छ जब हामी दुई जनाको जोडीबीच एकले अर्कालाई गुमाउनुपर्ने छ । त्यो बेला कमाएको सम्पत्तिले मनमा कुनै आराम वा सान्त्वना दिने छैन । अर्को कुरा हामीले कमाएको सम्पत्तिमा हाम्रा सन्तानले कहिल्यै गर्वको महसुस गर्ने छैनन् ।

२. जोखिमबाट तनाव :

हच्किँदो उमेर क्रमशः अधिकतम विश्राम र थोरै श्रमको उमेर हो । त्यसैले त्यो समयमा जोखिमपूर्ण ब्यवसायिक लगानी, खतरनाक यात्रा, तामसी खानपान र तनावपूर्ण सम्बन्धबाट अलग्गिन चेतावनी दिइन्छ । जीवनको उत्तरकाल खुशी, शान्ति र रमणकाल हो । त्यो काललाई जोखिमपूर्ण ब्यावसायिक लगानी वा खतरनाक यात्राको लागि समेत उपयुक्त हैन भनिएको छ । व्यवसायिक योजना जतिसुकै फलदायी र नाफामूलक जस्तो देखिए पनि बुढेसकालको लगानीले स्वास्थ्य सुरक्षा समस्या र गम्भीर मानसिक चिन्ता निम्त्याउन सक्ने खतरा हुन्छ । लगानी गर्नै छ भने ज्यादै होस पुऱ्याएर सुरक्षित र न्यून तनाव हुने ठाउँमा गर्नुपर्छ । जीवनको उत्तरार्धकाल भनेको अलिकति शान्तिसँग, तनावरहित भएर जीवन बिताउने समय हो भनेर हेक्का राखिएन भने लगानी डुब्ने मात्र हैन मानसिक चिन्ताले मृत्युको अघिल्लो क्षण कष्टदायी हुन सक्ने सम्भावना रहन्छ । त्यो बेला मानसिक शान्तिका लागि गरिने स्वअध्ययन, दान, धर्म वा परोपकार, आफन्तको प्रेम र ध्यान आवश्यक हुन्छन् । त्यसले जीवनमा कुन बेला के गर्नु महत्वपूर्ण हुन्छ, त्यसको लागि आफैंले आफूलाई स्वनियामन गर्दा बढी खुशी मिल्छ । मृत्युले कतिबेला झुक्याउँछ कसैलाई थाहा हुँदैन । अतः स्वयमको इच्छाबमोजिम परमार्थी ज्ञानको लागि पनि समय विभाजन गर्दा राम्रो नै हुन्छ ।

३. मानसिक सन्तुलन र जीवनशैली :

अन्तिम अवस्थामा आफ्ना छोरा–नातीहरूको आर्थिक अवस्थाबारे चिन्ता गर्नु घातक मानिन्छ । हामीले त्यो बेलासम्म सन्तानप्रतिका हाम्रा धेरै कर्तव्यहरू पूरा गरिसकेका हुन्छौँ । सामाजिक दायित्व, राज्य वा प्रकृतिप्रतिको अघोषित दायित्वबारे मर्ने बेलामा चिन्ता गरेर केही फाइदा छैन । ती दायित्वहरू आफ्नो आयुको महत्वपुर्ण भाग बाँकी छँदै गर्ने हो । सयौँ रोगले गाँजेको बेला, धमनीहरूले रगत फ्याँक्न बल गर्नुपर्ने बेला भनेको विगतका गल्तिहरूबारे पश्चाताप गर्दै आत्मिक शान्तिको लागि मार्ग प्रशस्त गर्ने समय हो । त्यो समय ज्ञान सुन्ने, ज्ञान बुझ्ने र ज्ञान बाँड्ने समय हो । त्यो बेलासम्म हामीले धेरै वर्षसम्म आफ्ना सन्तानहरूको राम्रोसँग हेरविचार गरिसकेका हुन्छौँ । हामीले उनीहरूको उज्वल भाविष्यको लागि राम्रो शिक्षा दिएका छौँ र उनीहरूलाई स्वाभिमानी र स्वावलम्बी बनाउन भरपुर प्रयास र योगदान गरी सकेका छौँ । अब सके हाम्रो लागि समेत नभए आफ्नो लागि कमाउने पालो र जिम्मेवारी उनीहरू आफैंको हो । त्यसैले हामी थोरै भए पनि आफ्नो आयु तन्काउने र शरीरलाई सन्तुलित बनाइराख्न मानसिक, शारीरिक ब्यायाम गर्ने बानी विकास गर्नु जायज हुन्छ । स्वःअध्ययन, खुशी र शान्तिले पनि मनभित्रका विकार चिन्तनलाई फालेर भावनालाई निर्मल बनाउन मद्दत गर्दछन् । जगत भलोको लागि सकेजति मन, बचन र कर्मले चिन्तन गर्दा विचारमा अझै सुद्धता आँउछ ।

कोही वृद्ध बितेका राम्रा दिन सम्झेर खुसी हुन्छन् भने कोही नराम्रा कुरा सोचेर तिक्तता पोखिरहेका हुन्छन् । जीवन छोटो छ, तिक्तता पोख्दै समय फाल्नु बुद्धिमानी हुँदैन । सकारात्मक सोच राख्ने र रमाइलो गर्ने मानिसहरूको सङ्गत गऱ्यो भने लैजाने बेलामा मृत्युले पनि धेरै दुःख दिँदैन भनिन्छ ।

४. स्वास्थ्य सचेतना :

जीवनका चारवटै कालमा स्वास्थ्यको अथाह महत्व रहेको कुरामा कसैको दुई मत हुन सक्दैन । जीवनको ५० वसन्तपछिको समय ओरालो जीवनको प्रथम चरण हो । त्यो ओरालो जीवनचक्रको अन्तिम फेदी मृत्यु हो । त्यो कालपछि हाम्रा भाँचिएका हाडहरू जोडिन अधिक समय लाग्छ, काटेका घाउहरू निको हुन पनि यौवनकालको तुलनामा तीन गुणा बढी समय लाग्दछ । त्यो समयमा हाम्रा शरीरका तन्तुहरूको मृत्युदर अत्यधिक बढी हुँदै जान्छ भने सेलहरू जन्मने क्रम रोकिन थाल्दछ । रोगप्रतिरोधी क्षमता कम हुन थाल्दछ । यो प्रक्रिया प्राकृतिक भएकोले कसैले रोक्न सक्दैन । त्यसैले त्यो अवस्थामा आफ्नो शरीर र दिमागलाई अत्याधिक पीडा नदिई स्वस्थ्य राख्ने प्रयास गर्नु पर्दछ । शरीरमा जम्मा भएको विकार वा अनावश्यक बोसो फाल्न हल्का ब्यायामहरू गर्ने, सधै हिँड्ने, सुपाच्य स्वस्थकर खाना खाने, यथेष्ट मात्रामा निदाउने गर्नु पर्दछ । आघि नै भनियो कि योग वा ध्यान गर्नाले मानसिक ब्यायाम हुनुका साथै मनमा शान्ति मिल्छ र परमार्थी भावतर्फ ध्यान जान्छ । बुढेसकालमा शरिरलाई स्वस्थ्य राख्न गाह्रो हुन्छ र सामान्य कारणबाट पनि हामी बिरामी पर्न सक्छौँ । त्यसैले आफ्नो शारीरिक र मेडिकल आवश्यकतालाई ध्यानमा राखी बेला–बेलामा डाक्टरसँग सल्लाह लिने र शारीरिक जाँचहरू गराउने गर्नु पर्दछ । जीवनभरिका आफ्ना मेडिकल रिकर्डहरू राम्रोसँग राख्नु पर्दछ । ती सबै रेकर्डहरू बुढेसकालमा काम लाग्छन् ।

५. सुरक्षा र सहारा :

बुढेसकालमा एक्लै बाँच्न सकिँदैन । त्यो उमेर भनेको अरूको सहाराले जिउने उमेर हो । उक्त समयमा आफ्नो जीवनमा भोगेका गन्थनहरू धेरै हुन्छन् । छोराछोरी वा नातिनातिनाहरूले त्यो गन्थन सुन्न झ्याउ (झर्को) मान्छन् । तर ती गन्थन सुनाएर मनलाई हल्का बनाउने आफ्नो जीवनसाथी बाहेक कोही हुँदैन । बैंसमा हेला गरेका जीवनसंगिनीहरू बुढेसकालका सबैभन्दा प्रिय साथी हुन सक्छन् । किनकि आफ्ना ब्यथा सुन्ने र एकले अर्कोलाई बुझ्ने जीवनसाथी भन्दा अर्को कोही हुँदैन । त्यसैले अबेला नगरी आफ्नो प्यारो साथीको लागि हरेक कुरामा ध्यान दिने गरौँ । आफ्नो जीवनसाथीको लागि सधैं क्षमताअनुसार सबैभन्दा राम्रा चिज उपहार किन्ने गरौँ । आफूले कमाएको सम्पतिबाट आफ्नो जीवनसाथीसँग मिलेर आनन्द उठाउँदा त्यसले हाम्रो जीवनमा अत्यन्त सकारात्मक प्रभाव पार्ने छ । उनले आफ्नो लाइफ–पार्टनरको बारेमा गर्व गर्ने छन् । सोच्नु जरुरी छ कि कुनै दिन यस्तो आउने छ जब हामी दुई जनाको जोडीबीच एकले अर्कालाई गुमाउनुपर्ने छ । त्यो बेला कमाएको सम्पत्तिले मनमा कुनै आराम वा सान्त्वना दिने छैन । अर्को कुरा हामीले कमाएको सम्पत्तिमा हाम्रा सन्तानले कहिल्यै गर्वको महसुस गर्ने छैनन् ।

६. मृत्युदेखि निर्भय :

बुढेसकालमा सानोतिनो कुरामा पिर र इख लिने बानी हानिकारक हुन्छ । हामीले त्यो बेलासम्म धेरै उकालीओराली भोगिसकेका हुने छौँ । हामीसँग राम्रा–नराम्रा दुवै अनुभवहरूको भण्डार हुने छ । पिर र इखको कुनै परवाह गर्नु जरुरी छैन । यत्ति सम्झौँ कि हाम्रो लागि महत्वपूर्ण भनेको हाम्रो भूतकाल नभएर वर्तमान हो । किनकि बुढेसकालमा हामीहरू विगतका कुनै पनि पीडाहरूबाट थिचिनु हुँदैन र भविष्यको ढोकामै बसेर चियाएको मृत्युसँग पनि डराउनु हुँदैन । वर्तमान मात्र आफूसँग रहेकोले वर्तमानमा रमाउन सिक्नु पर्दछ । कतिपय अवस्थामा आन्तरिक सानातिना समस्याहरू आफैं ठीक भएर जानेछन् । मृत्यु त जीवनको बिलय हो । त्यसलाई आत्मसात र सहजीकरण गर्न ध्यान योगाले सिकाउँछ । भोलिको लागि भनेर कुनै कुरा नसोचौँ र चिन्ता पनि न लिउँ । किनकि जिर्ण, रोगी र वृद्ध जीवको चेतनाले भोलि नदेख्न पनि सक्छ ।

बुढेसकालमा कोही कसैको लागि बोझ लाग्न थाल्यो भने वृद्ध जीवन नर्कसमान बन्दछ । त्यसैले आफ्नो सम्पत्तिको पूर्ण हक बाँचुन्जेल आफैंमा राखी मृत्युपछि मात्र अरूको नाममा जाने गरी कागज बनाउनु पर्छ । त्यसो गरेमा सम्पतिको कारण आफूले कहिल्यै हीनताबोध गर्नु पर्दैन ।

७. बुद्धि विवेक र प्रेम :

वृद्धावस्थामा दया, सद्भाव र प्रेमलाई पहिलेभन्दा अझै आत्मसात गर्दै जीवन्त राख्न सक्नु पर्दछ । सृष्टिलाई सम्मान, जीवप्रति स्नेह र आफ्नो जीवनको मायालाई बढोत्तरी गरौँ । परिवारलाई स्नेह गरौँ र छिमेकीलाई समेत असाध्यै (निकै) सम्मान गरौँ । यसले हामीप्रतिको अरूको सम्मान र यादलाई जीवन्त बनाइराख्छ । याद राखौँ– मानिसमा बुद्धि–विवेक, माया, स्नेह र सद्भाव रहुन्जेल बेलाबेलामा वृद्ध मानिसले आफू बुढो भएको समेत भुल्दछ । यी सबै कुराहरू आफ्नै लामो आयुको लागि समेत कारक मानिन्छन् ।

८. शारीरिक सक्रियता :

आफूप्रति सदैव गर्व गरौँ । घरभित्र–बाहिरबाट आफूलाई चुस्त–दुरूस्त राख्दा आफू जवान नै भएको फिलिङस् (अनुभूति) हुन्छ । आफूलाई मन पर्ने स्टाइलमा कपाल बनाउँ, आफ्नो छाला र दाँतहरूको राम्रो हेरचाह गरौँ । मनपर्नेले आफ्नो इच्छानुसार पर्फ्यूम, क्रिम वा लोसनहरू किनेर प्रयोग गर्न सकिन्छ । यसबाट आफ्नो व्यक्तित्व छरितो र राम्रो बनाइराख्न मद्दत पुग्ने छ ।

९. ब्यक्तित्व र लवाइखवाई :

संसार आधुनिक युगमा प्रवेश गरिसकेको सन्दर्भमा फेसनले पनि मानिसलाई आनन्द दिन सक्छ । भनिन्छ, फेसन ट्रेण्ड कस्तो छ भन्ने कुरालाई ध्यानमा राख्दै आफ्नो उमेरअनुसार आफूलाई सुहाउँदो फेसन गर्न पछि पर्नु हुँदैन । बुढो भएँ भनी झुत्रेझाम्रे भएर बस्नु जरूरी छैन, पुगेसम्म राम्रै पहिरन गर्नुपर्छ । राम्रो ड्रेसअपले व्यक्तित्वमा निखार ल्याउँछ । यदि हाम्रा सन्तान हामीसँग रेष्टुरेन्टमा गएर खाना खाँदा शरम मान्छन् वा ‘तिमीहरू खान जान्दैनौ’ भनेर घृणा गर्दछन् भने ती सन्तान त्याग्न योग्य छन् । यदि आफ्ना सन्तानले उनीहरूका साथीहरूसँगको प्रेम सम्बन्ध, उठबस र सङ्गतको असरबारे आफ्ना बाबु–आमालाई भन्दैनन्, अरूसँग फोन गर्दा वा कुरा गर्दा बाबुआमालाई छलेर, झुक्याएर वा ढाँटेर कुरा गर्छन् भने ती सन्तान पनि पराइ जस्तै हुन् । त्यस्ता सन्तान बुढेसकालमा सहारा बन्लान् भनेर वृद्धहरूले निस्तो विश्वास निलिरहनु हुँदैन । यस्ता विषयमा समयमै मोह भङ्ग हुन जरुरी छ । अन्यथा मातापिताहरूलाई पछुताउनुको विकल्प नहुन सक्छ ।

१०. शारीरिक या मानसिक सक्रियता :

बुढेसकालमा समेत आफूलाई अद्यावधिक (टिपटप) राखौँ । पुस्तक तथा अखबारहरू पढ्ने गरौँ, टिभीमा समाचार हेरौँ । अनलाइनमा पहुँच पुऱ्याएर मानिसहरूको विचार बुझौँ । आफ्नो इमेल एकाउन्टलाई सकृय राखौँ, सामाजिक सञ्जालमा पूराना मित्रहरू भेटिन सक्छन् । पूराना दिनहरूको यादले मनलाई रमाइलो बनाउन मद्दत गर्ने छ । तनावरहित भएर रमाइलोमा बिताएको समयले त्यति नै आयु बढाउँछ भन्ने स्वास्थ्य वैज्ञानिकहरूको रायमा खासै मतभेद देखिँदैन ।

सन् २०१४ मा सम्पन्न गरिएको एक अध्ययनले २० मिनेट जति हाँस्यब्यङ्ग्यका भिडियोहरू हेरेर वृद्धहरूले स्मृतिलाई सुधार्न मद्दत गरेको प्रमाणित गऱ्यो । केही अनुसन्धानले खुशी, हाँसोले मुटुका बिरामीको जोखिमलाई कम गरेको समेत देखाइसकेको छ ।

११. नयाँ पुस्ताहरूसँगको सम्बन्ध :

युवा पुस्ता र उनीहरूको विचारलाई सम्मान गर्न सिकौँ र सकिन्छ साथी बनाउँ । यसले पुस्ताबीचको वैचारिक ज्ञान खाडललाई पुर्ने छ । उनिहरूको सोचाई हाम्रोभन्दा फरक र उन्नत हुन सक्छ र युवा पुस्ता नै धर्तीका भविष्य हुन भन्ने कुरा बुझ्न सक्नुपर्छ । उनीहरूलाई हरेक हाम्रा अनुभवबाट सिकेका कुराहरू सुझावको रूपमा दिन सकिन्छ तर उनीहरूको वैचारिक सोचबारे कदापि आलोचना गर्नु हुँदैन । ‘हाम्रा पालामा त…’ भन्ने कुरा गर्नु हुँदैन किनभने हाम्रो पालोले नेटो काटिसकेको छ । केवल बाँचुन्जेल मात्र वर्तमान समयको हामी हिस्सा हौँ । त्यसपछिको समय हाम्रो हैन । अतः अरूको समयलाई हामीले हस्तक्षेप गरेर खटिरो बन्नु हुँदैन ।

१२. सकारात्मक सोच :

कोही वृद्धहरू बितेका राम्रा दिन सम्झेर खुसी हुन्छन् भने कोही नराम्रा कुरा सोचेर तिक्तता पोखिरहेका हुन्छन् । जीवन छोटो छ, तिक्तता पोख्दै समय फाल्नु बुद्धिमानी हुँदैन । सकारात्मक सोच राख्ने र रमाइलो गर्ने मानिसहरूको सङ्गत गऱ्यो भने लैजाने बेलामा मृत्युले पनि धेरै दुःख दिँदैन भनिन्छ ।

१३. स्वतन्त्र जीवनशैली :

यदि हामी आर्थिक रूपमा सक्षम छौँ भने छोरा, छोरी, नाती, नातिनीहरूसँग बस्ने मोह राख्नु हुँदैन । पूर्वीय संस्कारअनुशार परिवारसँग सामुहिक रूपमा बस्न राम्रो लाग्नु स्वाभाविक हो । तर हामी सबैलाई आफ्नो एकान्तता चाहिन्छ । मलाई मेरो एकान्तता चाहिन्छ भने हुर्केका वा विवाहित सन्तानलाई आफ्नो एकान्तता र ब्यक्तिगत जीवन झनै आवश्यक हुन्छ भनेर बुझ्नुपर्छ । परिवार बिना बस्नै नसक्ने अवस्थामा मात्र त्यो विकल्प अन्तिम हुन सक्छ । अन्यथा आफ्नो–आफ्नो प्राकृतिक स्वतन्त्रताको स्वाद अरूको स्वतन्त्रतालाई नडस्ने गरी निर्वाध रूपमा लिन पाउनुपर्छ । बुढेसकालमा कोही कसैको लागि बोझ लाग्न थाल्यो भने वृद्ध जीवन नर्कसमान बन्दछ । त्यसैले आफ्नो सम्पत्तिको पूर्ण हक बाँचुन्जेल आफैंमा राखी मृत्युपछि मात्र अरूको नाममा जाने गरी कागज बनाउनु पर्छ । त्यसो गरेमा सम्पतिको कारण आफूले कहिल्यै हीनताबोध गर्नु पर्दैन ।

१४. आदत (बानी–ब्यहोरा) हरू :

आफ्ना बैंशका शौखहरूलाई परित्याग नगरौँ । छैनन् भने पनि नयाँ सृजनात्मक शौखहरू पनि बनाउन सकिन्छ । आफ्नो जीवनसाथीलाई लिएर घुम्न जान सकिन्छ, साथीभाइसँग डुल्न जान सकिन्छ, खाना बनाउने, घर सफाइलाई शौख बनाउने, नाच्ने, चेस खेल्ने, साहित्य सृजना गर्ने आदि गर्न सकिन्छ । चरा चुरुङ्गी वा बस्तुभाउ पाल्न, खेतीपाती गर्न सके अझै राम्रो नसके आफ्नो जमिनअनुकुल बँगैचा बनाउन सकिन्छ । यसबाट आफूलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्न मद्दत मिल्छ ।

जसरी ब्याक्तिले आफ्नो जीवनका पछिल्ला दिनका खुशीहरूको लागि सोच बनाएको हुन्छ त्यसरी नै जीवन अगाडि बढ्छ भन्ने हुँदैन । कहिलेकाहीँ अन्य सबै कुराहरू सम्भव हुँदाहुँदै पनि जीवनसाथीको असमायिक निधन हुन सक्छ । आफैंलाई दीर्घ रोग लाग्न सक्छ । त्यसैले जीवन कहिल्यै नापेतौलेजस्तो हुँदैन भनिएको होला ।

बयस्क मानिसमा खुशीको प्रवाह बनाइराख्नको लागि अर्को आवश्यक कर्म ब्यायाम पनि हो । ब्यायामले बयस्कहरूको आत्मा र उर्जाको स्तरलाई माथि उठाउँदछ र आफूलाई उर्जावान महसुस गराइरहन्छ । व्यायामपछि महसुस गरिने ताजापनले हाम्रो शरीरमा एन्डोरफिनको रूपमा चिनिने सकारात्मक हार्मोनहरू निस्कासन गर्न थाल्छ ।

त्योबाहेक मानिसको उत्तरार्धलाई सहजीकरण गर्न राज्य वा नागरिक समाजका पनि महत्वपूर्ण उत्तरदायित्वहरू छन् । युरोप, जापान, क्युवालगायत मिश्रित वा समाजवादी अर्थतन्त्र भएको देशमा वृद्धवृद्धाहरूलाई राज्यको गौरव र समाजको सम्मानित पुस्ताको रूपमा लिइन्छ । उमेर समूहअनुसार खेलको प्रतिस्पर्धा गराइन्छ, वर्षको एक पटक लामो भ्रमण गराइन्छ साथै उनीहरूको मनोरञ्जनको लागि राज्यले धेरै लगानी गर्छ । उनीहरूलाई आवश्यकताअनुसार बासस्थान, सन्तुलित भोजन, मनोरञ्जन र यातायातको लागि राज्यले जिम्मा लिएको हुन्छ । उनीहरूले आफ्नो उर्जाशील दिनहरूमा राज्यलाई पुऱ्याएको योगदानस्वरूप राज्य बुढेसकालको सहारा बनिदिन्छ ।

तर हाम्रो देशमा यीमध्ये धेरै अधिकारहरूबाट वृद्धवृद्धाहरू वन्चित छन् । गरिब तथा अपहेलित जीवन बिताइरहेका हाम्रा अविभावकहरूको राज्यले पूर्ण जिम्मेवारी लिनुपर्ने हो । उनीहरूको निःशुल्क यात्रा, उपचार र मनोरञ्जनको लागि राज्यले परिचयपत्रको ब्यवस्था मिलाउनु पर्ने हो । नेपालमा ६० वर्षमाथिका वृद्धवृद्धा कुल जनसंख्याको ९ प्रतिशत छन् । उनिहरूमध्ये अधिकांश वृद्धवृद्धा जीवनयापनको लागि आवश्यक सुख–सुविधाबाट वञ्चित छन् । राज्यले उनीहरूलाई प्रतिमहिना केही पैसा भत्ताको रूपमा उपलब्ध गराए पनि त्यसले उनीहरूको महँगो उपचार खर्च पनि धान्न सक्ने अवस्था छैन । त्यसैले राज्यले मुलुकमा बसोबास गरेका सम्मानित वृद्ध वृद्धाहरूलाई नीति बनाएरै उनीहरूका जीवनका अन्तिम दिनहरूमा खुशी दिन सक्नु पर्दछ भने हामी आफैंले पनि सक्रिय जीवनकालमा कमाएको केही रकम बचत गर्दै आफ्नो उत्तरार्धकाललाई रमणीय र मनोरम बनाउन प्रयत्न गर्नु पर्दछ ।

अन्तमा, यदि हामीले बेलैमा ढङ्ग पुऱ्यायौँ भने बुढेसकाल आयुको अन्तिम भागमा रहेर पनि आफ्नो जीवनको आनन्द लिनको लागि एक उत्तम समय सावित हुनेछ । बुढेसकालमा हामी धेरै ज्ञानी र अनुभवी भैसकेका हुन्छौँ, व्यक्तिहरूको विचारले हामीलाई सजिलै हल्लाउँदैन, हामी आफ्नै स्वामित्वको सम्पत्तिमा बढी सहजतापूर्वक बसेका हुन्छौँ, हाम्रा सन्तानहरूले हाम्रो घर छोडेका हुनेछन् र हामीले गर्न चाहने सबै कुरा गर्न हामीलाई स्वतन्त्रता हुने छ ।

जीवनभर लिएको जीवनको आनन्दले हाम्रो स्वस्थको लागि महत्वपूर्ण योगदान पुऱ्याएको हुन्छ । लण्डनको युनिभर्सिटी कलेजका अनुसन्धानकर्ताहरूद्वारा गरिएको एक अध्ययनअनुशार खुशी मानिसहरू धेरै बलिया र स्वस्थ देखिए भने निराश वृद्धवृद्धाहरू तुलनात्मक रूपमा रोगी र कमजोर । उक्त अध्ययन ८ वर्षसम्म ६० वर्षमाथिको उमेर समुहका ३१९९ मानिसहरूमा गरिएको थियो । त्यो अध्ययनले मानिसमा सकारात्मक दृष्टिकोण र शारीरिक असरबीच हुने अन्तर सम्बन्धबारे गहन परीक्षण गरेको थियो ।

क्यानडियन मेडिकल एसोसिएशन जर्नलमा प्रकाशित एक खबरअनुसार स्वास्थ्य विज्ञहरूको उक्त परीक्षणले दुःखी मानिसहरूको तुलनामा रोगसँग प्रतिरोध गर्ने क्षमता खुशी मानिसको धेरै बढी हुन्छ भनेर प्रमाणित गऱ्यो । त्यो अध्ययनले सुखी वृद्धवृद्धाहरूलाई उठ्न, लुगाफाटा वा नुहाउन दुःखीहरूको तुलनामा कम समस्या हुन्छ भनेर समेत खुलासा गऱ्यो । रोगको हिसाबले पनि सुखी र खुशीहरूको तुलनामा दुःखी बुजुर्गहरूमा मधुमेह, हृदयरोग, क्यान्सर र स्ट्रोकको सम्भावना दुई गुणा ज्यादा देखियो । त्यसैले जीवनमा शान्तिजस्तै खुसीको महत्व पनि अथाह रहेकोमा दुई मत हुन सक्दैन ।

बयस्क मानिसमा खुशीको प्रवाह बनाइराख्नको लागि अर्को आवश्यक कर्म ब्यायाम पनि हो । ब्यायामले बयस्कहरूको आत्मा र उर्जाको स्तरलाई माथि उठाउँदछ र आफूलाई उर्जावान महसुस गराइरहन्छ । व्यायामपछि महसुस गरिने ताजापनले हाम्रो शरीरमा एन्डोरफिनको रूपमा चिनिने सकारात्मक हार्मोनहरू निस्कासन गर्न थाल्छ । दौड प्रतियोगितामा खेलाडीहरूले यो भावनालाई उच्च रूपमा लिएर आफूलाई थकानरहित बनाउने गरेको पाइन्छ । बयस्कहरूका धेरै रोग व्यायामको अभावमा थुप्रने क्रम बढेको हुन्छ । त्यसैले बयस्क भइसकेपछि ब्यायामको लागि ढिला गर्नु हुँदैन ।

‘हामी जुन अवस्थामा छौँ त्यसैबाट अधिकतम रूपमा आनन्द लिने प्रयत्न गरौँ । अर्थात्, जीवनको आनन्द लिँदालिँदै अन्तिम दिन आइपुगेको पनि हामीलाई भान नहोस् ।’

त्यसपछि पौष्टिक आहार, सफा पानी पनि बयस्कहरूको लागि सन्तुलित रूपमा उपलब्ध हुनु जरुरी छ । मानिसले आफू असी वर्षसम्म बाँच्नेअनुमान गरेर सेवानिवृत्तिको लागि योजना बनाउनु आवश्यक हुन्छ । लामो समयसम्म बाँच्ने आशाले मानव शरीरलाई सकारात्मक प्रभाव पार्नेबारे धेरै विज्ञहरूको एक मत छ । बयस्क जीवनलाई पनि कुनै न कुनै उद्देश्यसँग जोडीरहँदा बयस्क शरीरमा उक्त उद्देश्यप्राप्तिको भावनाले सुरक्षाात्मक प्रभाव पारेको हुन्छ । त्यसको अलावा आफ्ना परिवार, नयाँ साथीहरू र पाको व्यक्तिसँग समय बिताउनाले पनि हामी खुशी रहन्छौँ । त्यसले हाम्रो चिन्ता वा तनावलाई कम गर्छ ।

बयस्कहरूमा अत्याधिक एकाङ्कीपनले डिप्रेसन र बिमारीको सम्भावना बढाउँदछ । त्यस्तै हाँस्दा तनाव हार्मोन कोर्टिसोल कम हुन्छ । सन् २०१४ मा सम्पन्न गरिएको एक अध्ययनले २० मिनेट जति हाँस्यब्यङ्ग्यका भिडियोहरू हेरेर वृद्धहरूले स्मृतिलाई सुधार्न मद्दत गरेको प्रमाणित गऱ्यो । केही अनुसन्धानले खुशी, हाँसोले मुटुका बिरामीको जोखिमलाई कम गरेको समेत देखाइसकेको छ । यिनै तथ्यहरूको आधारमा भन्न सकिन्छ कि रोग र सन्तापमुक्त जीवनको उत्तरार्ध सम्भव छ, त्यो पनि हाम्रो आफ्नो प्रयासमा ! तर नेपाललगायत गरिब देशहरूको सन्दर्भमा भन्नुपर्दा निमुखा र असहाय वृद्धवृद्धाहरूको खुशीमा राज्य पूर्ण जिम्मेवार नै हुनु पर्दछ ।

फेरि पनि आफ्नो लागि निर्णायक हामी आफैं हौँ । आफैंले सकेसम्म जिउने तरिकालाई सन्तुलित बनाउँ, प्रकृतिको रसास्वादन गर्दै मनैमन रमाउन सिकौँ, हाँसौँ किनकि यी सबै कुराहरू नै लामो समयसम्म आरोग्य रहनको लागि उत्तम औषधीहरू हुन् । त्यसैले मानवशास्त्रीहरूले भनेका होलान्– ‘हामी जुन अवस्थामा छौँ त्यसैबाट अधिकतम रूपमा आनन्द लिने प्रयत्न गरौँ । अर्थात्, जीवनको आनन्द लिँदालिँदै अन्तिम दिन आइपुगेको पनि हामीलाई भान नहोस् ।’