श्रीमानलाई बचाउने क्रममा श्रीमतीको गयो ज्यान

श्रीमानलाई बचाउने क्रममा श्रीमतीको गयो ज्यान


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको टिकुलियाका एक दम्पतिमाथि गएराति आक्रमण भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका महेश तिवारी र उनकी श्रीमतीमाथि चार जनाको समूहमा आएका हतियारधारी समुहले खुकुरी र खुँडाले आक्रमण गर्दा महेशकी पत्नी जगरामी देवी तिवारीको मृत्यु भएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका तिवारीको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भइरहेको र अवस्था नाजुक भएपछि काठमाडौं पठाउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

शुक्रबार (९ असोज) साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलि मुखियासहित चार जना मिलेर तिवारी दम्पतीमाथि आक्रमण गरेका बुझिएको छ । प्रजित र सोनालाल दाजुभाइ हुन् । घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको र बाँकीको खोजी कार्य भइरहेको देवाहीगोनाहीका इन्सपेक्टर मेदनी साहले जानकारी दिए । पक्राउ पर्नेहरूमा बलि मुखिया, अच्छेलाल मुखिया, मकिन्दर मुखिया रहेको प्रहरीले जनाएको छ ।

साँझ ९ बजेको समयमा गाउँमा गफ गरेर बसिरहेको अवस्थामा खुकुरीसाथमा आएको समूहले महेशलाई मार्ने धम्की दिएको थियो । ज्यान मार्ने धम्की दिएका आक्रमणकारी समूह गाउँको दक्षिणतिर लागेका थिए । सो जानकारी महेशले इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा फोन गरेर दिए पनि घटनास्थलमा प्रहरी पुगेको थिएन ।

आक्रमणकारीले धम्की दिएर गएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमणमा गरेका बताइएको छ । श्रीमानलाई बचाउन खोज्दा जगरामी देवीको हत्या भएको स्थानीयको भनाइ छ । महेशको टाउको र घाँटीमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि आक्रमणकारी भागेका थिए ।

ज्ञातव्य छ, गत असार महिनामा मुखिया परिवार र दुबे परिवारबीच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुबेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । सोही कारणले हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्नमध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले जानकारी दिएका छन् ।