जापानका नयाँ प्रधानमन्त्री विनाशर्त किमलाई भेट्न तयार

जापानका नयाँ प्रधानमन्त्री विनाशर्त किमलाई भेट्न तयार


जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनसँग भेट्न चाहेको बताएका छन् । नेता किमलाई आफूले विनाशर्त भेट्न तयार रहेको प्रधानमन्त्री सुगाले स्पष्ट पारेका छन् ।

‘जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै शर्त मसँगै छैन’ भन्दै संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सामान्य बनाउन चाहेको पनि बताए ।

जापान-डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै प्रधानमन्त्री सुगाले त्यसअनुसार नै सम्बन्धलाई अगाडि बढाउन चाहेको उल्लेख गरे । आपसी सम्बन्ध र परमाणुसम्बन्धी विषयमा सन् २००२ मा भएको दुईपक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा आफ्नो जोड रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा नै आफू रहेको पनि जानकारी दिए । उनले थपे, ‘हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुऱ्याउनु पर्ने भएकोले हामीबीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ ।’

आफ्ना प्रतिबद्धता र उद्धेश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा आफू नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पारेका छन् ।