बुहारीहरूकी हिरोइन ‘निरूता’ !

बुहारीहरूकी हिरोइन ‘निरूता’ !


■ राजन घिमिरे

झट्ट हेर्दा साँच्चीकै रोमान्टिक लाग्दछिन् निरूता सिंह । उनको सभ्य र सिष्ट बोलीबचन अनि मन लोभ्याउने अदा ! निरूताको तारिफ गजबैसँग गर्ने गर्छन् प्रशंसकहरु ।

पहिरन र बाहिरी हाउभाउ आधुनिक र समयअनुसार भएता पनि उनका सिने–प्रशंसकहरूले भने निरूतालाई सिनेमाको पर्दामा आधुनिक भन्दा पनि पीडित, गरिव र असहाय नारी, बुहारी वा श्रीमतीको भूमिकामा मन पराए । यी र यस्तै भूमिकामा हेर्न चाहने दर्शकहरूले निरूतालाई पर्दामा यस्तो भूमिकामा देख्दा त्यो भूमिकामा आफूलाई नै पाएको र आफ्नै घर वा परिवारको कथा त्यसमा झल्केको पाउँदथे ।

विशेष गरेर महिला दर्शकहरूबाट अत्याधिक माया, साथ र वाहवाही हात पारेकी निरूतालाई तुलसी घिमिरेको चलचित्र दक्षिणाले चिनायो मात्र । पछि ठूल्दाइ, आफ्न्त, आफ्नो मान्छे, चाँदनी, नाता रगतको, दर्पण छाया र दोधार लगायतका चलचित्रहरूले चर्चा र सफलताको चरमचुलीमा पुऱ्याइदियो ।

आफ्नो मान्छेमा अभिनेता श्रीकृष्णसँग निरूताले निभाएको पीडित बुहारी र दुःखी धर्मपत्नीको भूमिकाले त धेरै महिला दर्शकहरूलाई हलमा नै रून बाध्य बनायो । यो चरित्र आज पनि दर्शकहरूको आँखाबाट हटेको छैन । उक्त चलचित्रका तीन खम्बा निर्देशक शिव रेग्मी, निर्माता केशव भट्टराई र नायक श्रीकृष्ण यतिबेला तीनैजना यो संसारमा छैनन्, तर पनि निरूताको जीवनमा यो चलचित्र कालजयी सिनेमाको रूपमा स्थापित छ ।

नेपाली सिनेमा क्षेत्रमा एउटा विशिष्ठ पहिचान बनाएकी निरूताले माइली वा दुई पल लगायतका केही चलचित्रमा निभाएको आधुनिक युवतीको भूमिकालाई उनका फ्यानहरूले खासै मन पराएनन् । चलचित्र ठूल्दाइमा निरूताले निभाएको सशक्त भूमिकाको अगाडि उनले काम गरेका रोमान्टीक भूमिकाका चलचित्रहरू सधै फिका नै रहँदै आए । आफ्न्त, आफ्नो मान्छे, माइती, दोधार, ठूल्दाई, चाँदनी लगायतका अन्य चलचित्रहरूको सफलतासँगै उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । दर्पणछायाले त निरूतालाई अब कहिल्यै पनि चलचित्र नखेले पनि उनी कालजयी हिरोइन बनिन् भन्नेसम पुऱ्यायो । विशेष गरेर महिलादर्शकहरूको नजर र मनमा बस्न सफल निरूता सिंह बजार र सिनेमा क्षेत्रमा टिकीरहने सक्ने सम्भावना हुँदाहुँदै पनि केही समय अगाडिदेखि भारततिर बसोबास गर्न थालिन् । उनि नेपाली चलचित्र क्षेत्रबाट टाढिन थालेको आभाष पनि हुन थालेको छ फ्यानहरूलाई ।

त्यसो त, उनले आफ्नो छवि स्थापित गरेको स्तरका चलचित्रहरूको निर्माणमा कमी आउनु र निरूतालाई सुहाउने भूमिका नहुनु पनि उनी क्रमशः टाढिनुको कारण केही हदसम्म मान्ने गरिएको छ । तर, यो मात्र सम्पूर्ण कारण भने नहुन पनि सक्छ । तर निरूता स्वयम् चाहिँ टाढिनुलाई अन्य नै कारण मान्छिन् ।

आज पनि निरूतालाई नेपाली चलचित्र क्षेत्रले एउटा उदाहरणीय र उच्चकोटीको हिरोइनको रूपमा लिने गर्दछ । सासु र बुहारीको कथाले पर्दामा बजार तताउँदा घरकी बुहारीलाई सिनेमा हल्लसम्म तान्न त्यो सिनेमामा निरूता हुनै पर्नेसम्मको अवस्था थियो । कलाकारले पीडित बुहारीको कथा तयार पाऱ्यो भने पहिला प्रस्ताव जान्थ्यो निरूतालाई । त्यसैले त बुहारी दर्शकहरूले उनको बारेमा भन्ने गर्दथे, हामी बुहारीहरूकी हिरोइन निरूता !

समग्र रूपमा नेपाली चलचित्रको बजार बढाउन र बिस्तार गर्न अरू कलाकार र प्रविधिकहरू जस्तै निरूताको योगदान र समर्पणलाई पनि कम आँकलन गर्न मिल्दैन । यस्ती वाह गर्न लाएककी यी हिरोइनलाई आज परेको जन्मदिनको मुरी मुरी शुभकामना…!