‘प्रधानमन्त्री महाराज’को हजुरमा बिन्तीपत्र !

‘प्रधानमन्त्री महाराज’को हजुरमा बिन्तीपत्र !


■ आरपी पाठक

आरम्भमा यस लेखोटको शीर्षकबारे नै केही स्पष्ट पार्नु सान्दर्भिक होला । जननिर्वाचित प्रधानमन्त्रीलाई किन ‘महाराज’ सम्बोधन गरियो ? भनेर रिसानी माफ होला हजुर ! जतिबेला मुलुकमा श्री ३ को शासन थियो त्यति नै बेलादेखि यो शब्द जनजिब्रोमा झुन्डिएको झुन्डियै छ । यस्ता आलङ्कारिक उच्च उपमाकाविरोधी क्रान्तिकारी महाशयहरूले पनि ब्यवहारबाट अझै पन्छाउन नसक्नुमा रैतीको कमजोरी नठानियोस् महाराज !

त्यसबखत पनि राजा–महाराजाद्वारा श्री ३ प्रधानमन्त्री महाराजलाई पञ्जापत्र गरेर शासन सुम्पिइ आफूचाहिँ खोपीमा रबरछाप बनेर राज गरिबक्सेको थियो । हामी सोही शासन पद्धतिलाई निरङ्कुश जहानियाँतन्त्र भन्थ्यौँ । तपाईंहरू नै यस्ता आरोप तात्कालिक रैतीहरूलाई सिकाई–घोकाइरहनुहुन्थ्यो । आज तपाईंहरूको लोकतन्त्रसम्म आइपुग्दा पनि संविधानतः प्रधानमन्त्रीलाई नै शासनसत्ताको एकलौटी बागडोर हस्तान्तरण हुँदा र त्यसमाथि पनि उही जहानियाँवाद हाबी रहँदा के रैतीले ‘प्रधानमन्त्री महाराज’ भनेर सम्बोधन गर्न नपाउनु छ र ?!

महाराज ! हामी पनि जानी–नजानी तपाईंकै चेला–चपेटा त हौँ नि । तपाईंहरूले नै सिकाएको तथाकथित विद्रोही भाषा उपयोग गरेकोमा समेत रिसानी माफ होला ! तपाईंको लोकतन्त्रमा मोन्टेस्क्युको जस्तो कार्यविभाजनको ढाँचा त देख्नमा छ तर त्यो विभाजन प्रायः निष्कृय र किंकर्तव्यविमुढ भएको छ । सबैतिर महाराजकै हालिमुहाली त देखियो तर कामका नाममा देखिएको बेथितिलाई भने रोक्न सक्नुभएको छैन ।

आज त्यो निकाय जसले न्यायपालिकाको जिम्मा लिएको छ उसले आँखामा पट्टि बाँधेर तराजु लिएर उभिएको मानव आकृतिलाई देखाएर महँगो न्यायको ब्यापार गरिरहेको छ । यसबारे जानकारी पाउन तपाईं स्वयं राजा महेन्द्रले जसरी छद्मभेषमा न्यायालयको क्यान्टेनमा बसेर एक कप चिया मगाइ हेर्नुहोस, त्यो कपको चिया रित्तिँदानरित्तिँदै थाहा पाउनुहुनेछ तपाईंको न्यायलयको हालत !
उता तपाईंको ब्यावस्थापिका झन् अकर्मण्य भएको जगजाहेर नै छ, तर त्यसको शुद्धीकरण गर्न यदि सम्भव भैहाल्यो भने वा भाग्यवश अर्काे चुनाव भयो भने, तपाईंको चाहना–इच्छा भयो भने अलिक शुद्ध बन्ला, तर यस्तै हाल रह्यो भने त त्यो पनि असम्भव नै रहला ।

धन्न कसरी हो छामछुम गरेरै भए पनि डा. सन्दुकलाई भने ठम्याउन सफल हुनुभएछ । कतै तिनैले पो महाराजको बन्द भएको नेत्र खुलाउन सक्थे कि ?

उता भ्रष्टाचार गर्नेहरूलाई सफाइपत्र दिन मात्रै तय गरिएको अख्तियार आयोग रैतीले तिरेको तिरोभरो पचाएर कुकृत्य गर्नेहरूको नै संरक्षण गरिरहेको छ । सोही आयोग संहाल्न पठाउनुभएको अब्बल कार्यकर्तालाई देशको राष्ट्रिय पुरस्कारले विभुषित गर्नुभयो । यसमा पनि तपाईंलाई रैतीको तर्फबाट आभार प्रकट गर्न चाहन्छौँ । रैतीको आँखा खोल्न अलि–अलि भए पनि उज्यालो छर्ने सामर्थ्य राख्ने त्यो जनजाति मतवालीको छोरालाई भित्तामै पुर्याएर अँचेट्नुभएको छ, त्यसका लागि पनि हामी समग्र कुमाइहरूबाट सादर नमन् गर्न चाहन्छौँ ।

महाराज ! केटाकेटी अवस्थामा पङ्क्तिकारले ‘राजा देख्दैन ढुङ्गो बोल्दैन’ भन्ने उखान सुनेको थिएँ । त्यो सुन्दा लाग्थ्यो– देख्ने त प्रधानमन्त्री र मन्त्रीहरू मात्र रहेछन् ! फेरि मेरो दिमागमा आफै गाडी, हेलिकप्टर चलाएर हिँड्ने राजाले नदेख्ने भए त्यो काम कसरी सम्भव भयो होला भन्ने लाग्थ्यो । तर ढुङ्गो त जति पुजे पनि जति नै बुझे पनि बोल्दैन बरु तताएर सेक्यो भने पोल्छ र कहिलेकाहीँ मुर्ती थापेर पूजा गर्न पनि हुन्छ । कहिलेकाहीँ ढाक्रेहरूलाई चम्का लगाएर भात पकाउन काम लागेको र चौतारीको बिसौनी र पाटीपौवामा सुत्दा सिरानीसम्म काम लागेको थाहा छ । तर तपाईंभित्रको महाराज हमेसा अन्धो भएको देख्दा भने आजसम्म ताजुब लागिरहेको छ ।

बरु धन्न कसरी हो छामछुम गरेरै भए पनि डा. सन्दुकलाई भने ठम्याउन सफल हुनुभएछ । कतै तिनैले पो महाराजको बन्द भएको नेत्र खुलाउन सक्थे कि ? यत्रो महामारीको समयमा पिपिई बनाएर निःशुल्क वितरण गर्ने र भेन्टिलेटर मर्मत गरेर भए पनि ‘दख्खल पुर्याउने’ अर्काे मतवाली मेगासेसे पाउने पुनलाई त यतिबेला जेलको यात्रा गराउनुपर्ने हो । जसले प्रिय ओम्नीको बाधक बन्ने दुस्साहस गरेको सम्झनु भएन ? हो यसैलाई भन्छ ‘बीस नभएको सर्प र ईख नभएको छोरो’ ! कतै बुबाहजुरले हप्काउनु त भएन होला नि ? जे होस् ऐन मौकामा यसलाई पनि ठेगान लाउनुपर्छ ।

उता हजुरका आँखैअगाडि यस्तो राम राज्यको बदनाम गर्न खटिएका सडकमा बसेर झम्झम् पानी परिरहेको अवस्थामा पनि खानै नपाएको जसरी खाइरहने खान्की लम्पटहरूलाई संविधान दिवसको समेत ख्याल नगरी खाइरहने खन्चुवाहरूलाई लखट्नुभयो । अब यिनलाई पनि आउँदो साल रहियो भने ‘खन्चुवाश्री नेपालरत्न’ पुरस्कार दिनै पर्छ होला हजुर ! कि न कि हामीले यस्तो होनहारको लोकतन्त्रमा विरोधीहरूको पनि त सम्मान गर्नुपर्याे नि !

अब त विष्णु अवतार भने पनि हजुर नै हो पिपल खाने निहुँमा पिपलबोटे चौतारो भत्काउने पनि तपाईं नै हो । झलमल्ल सुर्यको ताप परे मात्र बाली सप्रन्छ हजुर अब केलाई चाहियो रुख केलाई चाहियो चौतारो ?

उता तपाईंको बेसार–पानी महात्म्यको ब्यङ्ग्य गर्ने कविराजहरूलाई पनि ‘छविलालश्री नेपालतारा’ पुरस्कार दिएर ठेगान लाउनुपर्छ । अनि देखुन् न हाम्रा महाराजको आलोचनासमेत पचाउने क्षमता । धेरै पढेर केटाकेटीहरू समेत पागल होलान् भनेर आजभोलि झ्याप्पझुप्प बिजुली निभाउन थालेको उता उही जनजातिको छोराको पुनर्वहली हुनुपर्छ भनेर उधुम विरोध गरिरहेकाछन् । धन्न यो कोरोनाले स्कुल कलेज बन्द गराएर विरोधहरूलाई घर–घरमा थन्क्याएको थियो । लकडाउनले समेत तह लगाउन नसक्ने हजुरभन्दा पनि बढि नै ज्याद्रा भएर आए हजुर ! यिनलाई पनि आगामी साल केही न केही त देखाउनै पर्छ होला । पुराना खिया परेको ब्याट्री, इन्भर्टर, सोलार, जेनेरेटर सबै बेचौँला भनेर साथीहरू पार्टीलाई सहयोग गरिरहेका छन्, अर्काे चुनाव पनि मुखैमा आउन लागेको बेलामा कति अवरोध गर्न सकेका डाम्नाहरू ?

धेरै नै विद्रोह गर्न सिकाइएछ कि क्या हो महाराज ? अलि–अलि त कमजोर गराउनु भएको भए यतिविधि नगर्ने थिए कि ? बरु गुरु द्रोणाचार्यले जस्तो ‘गुरु दक्षिणा ले’ भनेर टाउकाको गिदी नै मागौँ न हजुर । अनि खोपडी खाली भएपछि त फुटेको हाँडी जस्तै त हो नि ! टाउका गन्यो भोट हाल्यो झनै तीन चौथाई बहुमत ल्याइन्छ । भजन कीर्तन, भक्तिभाव, पुजाआजा कि त देउताको हुन्छ कि त महाराजको । अब त विष्णु अवतार भने पनि हजुर नै हो पिपल खाने निहुँमा पिपलबोटे चौतारो भत्काउने पनि तपाईं नै हो ।
झलमल्ल सुर्यको ताप परे मात्र बाली सप्रन्छ हजुर अब केलाई चाहियो रुख केलाई चाहियो चौतारो ? पहिले पो निरङ्कुशतालाई भत्काउन गाउँ–गाउँ हिँड्नुपर्थ्यो । चौतारामा भेला बैठक गर्ने हावा खाने पोस्टर टाँस्ने काम थियो । अब त न हिँड्नैपर्छ सरर गाडी हेलिकप्टर छँदैछ । हावा खान एसी छ । पोस्टर टाँस्नै परेन, बैठक गर्न पाँचतारे होटल छ । अब त वरिपरि आफन्त, शुभचिन्तक, भजनिया टोली, हुक्के, चौके, बैठके, सुसारे राख्ने चैन गर्ने ! यहि त हो सुवर्ण मौका । मौका आउँछ पर्खंदैन बगेको खोला फर्कँदैन भन्छन् महाराज ! आगत र विगत नभएर के भो त अहिले स्वागत गरेकै छन् । अस्तु !!

ख्वामितको शुभचिन्तक आरपी पाठक, काठमाडौं