ती कसका जनता हुन् सरकार ?

ती कसका जनता हुन् सरकार ?


■ सुन्दर शर्मा

त्यही खुलामञ्चलाई अनेकौँ सङ्घर्षको स्थायी थलो बनाई त्यही थलोबाट विभिन्न आन्दोलन गर्दै सिंहदरबार पुग्न सफल सत्ताधारीले कति छिट्टै र सजिलैसँग त्यो थलोलाई चटक्कै बिर्सन सकेका भन्ने कुरा गणतन्त्र दिवसको अवसरमा भोका–प्यासा जनतालाई सरकारी पक्षबाट गरिएको उपेक्षापूर्ण अभद्र व्यवहारबाट सजिलै बुझ्न सकिन्छ ।

लामो निषेधाज्ञाको कारण आमजनतालाई एक छाक खाना खानै महामुस्किल परेको यो समयमा त्यो तामझामसहितको राजषी ठाँटमा गणतन्त्र दिवस मनाउन किन आवश्यक ठानियो ? निषेधाज्ञाका कारण आम जनता रोजीरोटी गुमाइ भोकले छटपटाइरहेको यो विषम परिस्थितिमा यसो गर्नु जायज थियो त ?

गणतन्त्र दिवसको दिन काठमाडौंको टुँडिखेल र खुलामञ्चमा जुन दृश्य देखियो, त्यो दृश्यले हरकोही नेपालीको मुटु दुखेको छ । एकातिर सजिसजाउ टुँडिखेल भिआइपीको जत्थाले भरिएको थियो । त्यहाँ राष्ट्रका दिग्गज भनाउँदाहरूको लस्कर थियो । उक्त लस्करमा अति विशिष्ट भनाउँदाको बहुरुपी अनुहार छर्लङ्ग देखिन्थ्यो ।

त्यस्तै, अर्कोतिर खुलामञ्चमा कुनै दाताले निःशुल्क खाना खुवाउने आशमा लामबद्ध बसेका भोका जनता थिए । यसै क्रममा यिनै खाना खान लामबद्ध बसेका भोकाप्यासा जनता र ऊनीहरूलाई निःशुल्क खाना खुवाउने युवाहरूलाई त्यहाँबाट लखेट्न पुलिस डण्डा चलाइरहेका देखिन्थे । कस्तो विडम्बना !

जनतालाई चाहिँ चाडपर्व अहिले नमाने हुन्छ, बाहिर ननिस्क, बाँचे अर्को साल रङ्ग–रमाइलो गरे हुन्छ भन्दै अर्ती–उपदेश दिने, सरकार आफूचाहिँ जे गर्दा पनि हुने ? यो साल गणतन्त्र दिवसको स्वरुप परिवर्तन गरी आ–आफ्नो घरमै सामान्य तरिकाले मनाएको भए के बिग्रन्थ्यो त ? यस्तो बेलामा त्यो तामझामसहित औपचारिक रूपमा खर्चिलो पाराले सो दिवस नमनाउँदा आकाशै खस्ला झैँ गरेर किन दुई कदम अगाडि बढेका यी सत्ताधारीहरू ?

अस्ति भर्खर इन्द्रजात्राको रथ तान्ने विषयमा कोरोना देखाउँदै त्यति ठूलो रडाको मच्चाएका सत्तासीनहरू गणतन्त्र दिवस मनाउने कुरामा चाहिँ चुँक्क पनि बोल्न नसक्नु कहाँसम्मको नालायकी र निछट्टोपन हो ? जनताजनार्दनले आफ्ना विशेष र महत्त्वपूर्ण सांस्कृतिक पर्व मनाउँदा कोरोना प्रकोपको डर हुने सत्ताधारीले विभिन्न आलङ्कारिक दिवसको नाममा एकत्रित हुँदाचाहिँ कोरोना प्रकोप नदेखिने, यो कोरोना मापदण्ड पनि अचम्मैको छ !

म एक स्वतन्त्र नेपाली नागरिक हुँ । कुनै राजनीतिक दलको कार्यकर्ता होइन । जुनसुकै दलको सरकार भए पनि त्यसले यदि जनताका दैनिक जीवन–गुजारासम्बन्धी सानातिना काम गरिदिने र निमुखा जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरिदिन्छ भने म त्यो कार्यलाई भित्री मनैदेखि धन्यवाद दिन्छु ।

कुर्सीमा कुनै बुद्धिमान ब्यक्ति हुन्थे भने महामारीको यो दुःखद समयमा स्वयम्सेवीको रुपमा ‘फुड बैंक’ सञ्चालन गरी खुलामञ्चमा सयौँ दीनदुःखीलाई निःशुल्क खाना खुवाउने ती मनकारी पात्रहरूलाई धन्यवादस्वरुप पदकद्वारा सम्मानित गर्ने थिए । एकमहिने दुधे बच्चालाई घरमा छोडी कोभिडका बिरामीको उपचारमा भोकै प्यासै अहोरात्र खटिएका ती स्वास्थ्यकर्मी महिलालाई सम्मानित गर्थे होला ।

यो महामारीको समयमा करिव १० करोड (सञ्चारमाध्यमका अनुसार) खर्च गरी विभिन्न पदकको नाममा राज्यकोष रित्याउनुको साटो त्यही रकमबाट गणतन्त्र दिवसको उपलक्ष्यमा खुलामञ्चमा निःशुल्क खानाको आशमा बस्न बाध्य भएका ती जनतालाई एक जोडी कपडा र एक छाक मीठो खाना खुवाइदिएको भए ती भोका–प्यासा जनताले कसरी जय जयकार गर्थे होलान् ! यो सालको कठिन परिस्थितिमा गणतन्त्र दिवसको कुनै औपचारिक कार्यक्रम नगर्ने घोषणा गरी जनताको मन जित्न सक्नुपर्थ्यो यस्तो बेला । सजिसजाउ सैनिक मञ्चमा उपस्थित हुने सबै अथितिहरू खुलामञ्चमा गई ती दीनदुःखी जनतालाई सान्त्वना दिँदै, खाना खुवाउने कार्यक्रम राखेर राष्ट्रपति–प्रधानमन्त्रीले ती जनतासँग सामुहिक फोटो खिचाएको भए बल्ल गणतन्त्र दिवसको सार्थकता हुने थियो । तर सत्तामा पुगेकाको दिमागमा यस्ता प्रशंसायोग्य काम–कुराहरू कहिल्यै पनि फुर्न सकेको देखिँदैन । सधैं विवादित बन्ने र विवादित बन्दा नै चर्चित भइन्छ र आफ्नो कद उच्च हुन्छ भन्ने ठान्दछन् यी सत्तासीनहरू ?!

मैले यो सरकारको मात्र कुरा गरेको होइन । विगतमा विभिन्न पार्टीका सरकारलाई देखियो भोगियो । सबैको चरित्र सत्तामा पुगेपछि उस्तै । कुनै दलको सरकारले पनि गरिव तथा तल्लो तहका जनताको लागि भनेर विशेष र निश्चित कार्यक्रम ल्याएर लागू गर्न खोजेनन् वा ल्याउन आवश्यकै ठानेनन् । वास्तविक गरिब जनता सरकारको आँखामा कहिल्यै पर्न नसक्नु विडम्बना नै मान्नुपर्छ ।

यो महामारीको समयमा पनि यति महँगो (१० करोड) तक्मा वितरण किन गर्नु पऱ्यो ? यो कार्यले जनताको भोको पेट भरिने पनि त होइन, एक साल पदक वितरण नगर्दा के फरक पर्छ ? भन्ने जस्ता विरोधात्मक स्वर यत्रतत्र निकै सुनिइरहेको छ ।

विभिन्न क्षेत्रमा अनुकरणीय कार्य गरेका ब्यक्तिहरू तथा राज्यलाई त्यति ठूलो आर्थिक लाभ पुऱ्याएका कुलमान जस्ता महत्वपूर्ण ब्यक्तिलाई गणतन्त्र दिवसमा सम्झन उपयुक्त ठानिएन । तर अर्बौं घोटालालाई अनदेखा गरी एक हजार घुस लिएको अभियोग लगाई मृत्युवरण गर्न बाध्य पार्ने अवकाशप्राप्त अख्तियार प्रमुखचाहिँ पदकका भागिदार बन्न पुगे ।

धन्यवाद ! गणतान्त्रिक सत्ताधारी तिमीहरूलाई !! व्यवस्था मात्र बदलेर के गर्ने, काम गर्ने सोच र प्रवृत्ति उही हुन्छ भने ? नेता र पार्टी मात्र बदलेर के गर्ने, सत्तामा पुगेपछि उही गल्ती बार–बार दोहोऱ्याइन्छ भने ?

रित्तो टपरी समाएर खाना कुरेका नागरिकलाई लाठीचार्ज गरी त्यहाँबाट हटाएर टुँडिखेलमा समृद्धिको भाषण छाँटेका प्रधानमन्त्रीलाई के थाहा भोकको दर्द कस्तो हुन्छ ? भोकले आकुलव्याकुल परेका आफ्नै जनतालाई साक्षी राखेर हेलिकप्टरबाट पुष्पबृष्टि गर्दै कर्मकाण्डी गणतन्त्र मनाउनेलाई ती भोका जनताको आँसुले एकदिन अवश्य पनि पिरोल्ने छ ।

हालै निकै आलोचित पदक वितरण सम्बन्धमा साँच्चिकै भन्नुपर्दा यदि यो निर्णय गर्ने (पदक तथा विभुषण) कुर्सीमा कुनै बुद्धिमान ब्यक्ति हुन्थे भने महामारीको यो दुःखद समयमा स्वयम्सेवीको रुपमा ‘फुड बैंक’ सञ्चालन गरी खुलामञ्चमा सयौँ दीनदुःखीलाई निःशुल्क खाना खुवाउने ती मनकारी पात्रहरूलाई धन्यवादस्वरुप पदकद्वारा सम्मानित गर्ने थिए । एकमहिने दुधे बच्चालाई घरमा छोडी कोभिडका बिरामीको उपचारमा भोकै प्यासै अहोरात्र खटिएका ती स्वास्थ्यकर्मी महिलालाई सम्मानित गर्थे होला । देशको लागि महत्वपूर्ण काम गरेका महावीर पुन र कुलमान घिसिङ जस्ता ब्यक्तिलाई कदापि छुटाउने थिएनन् होला ।

उत्कृष्ट काम गरेवापत पदक तथा विभुषण बाँडियो अरे । के हो त्यो उत्कृष्ट काम ? सोको उल्लेख पनि गर्नु जरुरी छैन र ? सर्वसाधारण जनताले पनि त सम्मानित ब्यक्तिले यस्तो महत्त्वपूर्ण काम गरेका रहेछन् भनी थाहा पाउनु पऱ्यो नि, होइन र ?

यो गणतन्त्र दिवस मनाउन पाउने अधिकार जति उच्च पदस्थ अधिकारीको छ त्यति नै ती खुलामञ्चमा एकत्रित भोका जनताको पनि छ । यो गणतन्त्रमा जिउन पाउने अधिकार जति यी भिआईपी भनाउँदाको छ त्यति नै ती जनताको पनि छ । के सत्तामा पुगेपछि गरीब जनतातिर फर्कनै हुँदैन ? उनीहरूलाइ छुनै हुँदैन ? उनीहरूसँग बोल्नै हुँदैन ? नत्र किन खेदाइयो उनीहरूलाई खुलामञ्चबाट ?

टुँडिखेल र खुलामञ्चको त्यो दृश्यले गणतन्त्रमा पनि सबै जनता अटाउन सक्दारहेनछन् भन्ने कुरा प्रष्ट देखियो । रित्तो टपरी समाएर खाना कुरेका नागरिकलाई लाठीचार्ज गरी त्यहाँबाट हटाएर, घाँटीको नशा फुट्नेगरी टुँडिखेलमा समृद्धिको भाषण छाँटेका प्रधानमन्त्रीलाई के थाहा भोकको दर्द कस्तो हुन्छ ? भोकले आकुलव्याकुल परेका आफ्नै जनतालाई साक्षी राखेर हेलिकप्टरबाट पुष्पबृष्टि गर्दै कर्मकाण्डी गणतन्त्र मनाउनेलाई ती भोका जनताको आँसुले एकदिन अवश्य पनि पिरोल्ने छ ।

सक्षम र स्थिर कहलिएको यो सरकारले चाहे ती भोका–प्यासा जनताको भोकको व्यवस्थापन गर्न सक्दैन र ? आखिर ती खुलामञ्चमा लामवद्ध जनता कुन सरकार वा कुन पार्टीका रहेछन् ? भोट त तिनले पनि पक्कै दिए होलान्, तर किन ती नेपाली जनता सरकारका हुन सकेनन् ? यसको उत्तर खोज्न कहाँ जाने ?

भोक र शोकले थलिएका निमुखा जनता खुलामञ्चमा मनकारी दाताले दिएको खानेकुरा खान बस्नु के दण्डनीय कार्य हो ? किन ती जनतालाई त्यहाँबाट लखेट्ने ? यो प्रश्नको उत्तर कसले र कहिले दिने ? उत्तरको पर्खाइमा छौँ हामी ।

दुई तिहाईको मतादेश पाएको सक्षम र स्थिर कहलिएको यो सरकारले चाहेको भए के ती भोका–प्यासा जनताको भोकको व्यवस्थापन गर्न सक्दैन र ? आखिर ती खुलामञ्चमा लामवद्ध जनता कुन सरकार वा कुन पार्टीका रहेछन् ? भोट त तिनले पनि पक्कै दिए होलान्, तर किन ती नेपाली जनता सरकारका हुन सकेनन् ? यसको उत्तर खोज्न कहाँ जाने ?

के यो दुई तिहाईवाला सरकारको काम आसेपासे तथा भ्रष्ट बिचौलियाहरूलाई राज्यका महत्वपूर्ण अङ्ग सुम्पने मात्र हो त ? दुश्मनसँग भन्दा पनि बढि जनता डराउनुपर्ने यो कस्तो गणतन्त्र ल्यायौँ त हामीले ?

अहिले यो गणतान्त्रिक ब्यवस्था मन्दिरमा रहेको घण्टी जस्तो भएको छ नेतालाई, जो–कोहीले आ–आफ्नो शैली र ताकतले बजाउने अनि हिँड्ने गर्छन् ।

अन्तिममा, कुतर्क गरेर जनतालाई सधैं रनभुल्लमा पारीराख्ने सत्तासीन प्रवृत्तिको भण्डाफोर गरी जनता जाग्ने बेला भएको छ । चुप नबसौँ, अब जागौँ ।