निराकारको सपना चकनाचुर

निराकारको सपना चकनाचुर


■ देवप्रकाश त्रिपाठी

एउटा जवानले आफ्नो सपनाको सुन्दरीका रूपमा कुनै युवतीलाई कल्पना गरेझैँ भयो निराकारको निम्ति त्यो जीव । उनले आफ्नो भावी बुहारीका रूपमा त्यसको कल्पना गर्न थालिन् । त्यही जनावरसँगको सहवासले सिङ्गै मानवजगतको पुनर्स्थापना हुने कुरा कल्पेर निराकार आफैंमा निकै रोमाञ्चित भइन्, उनका निम्ति बाँकी जीवनको एक मात्र उद्देश्य त्यही जनावरसँग भेट गर्नु र छोरासँगको दाम्पत्यजीवन स्थापित गरिदिनु हुन पुग्यो ।

हरदम चनाखो रहनु, एउटा आशालाग्दो आँखा चारैतिर नचाइरहनु र रातको समयमा पनि ओछ्यान छोडी घरबाहिर निस्केर त्यही जनावरको ‘दर्शन’ पाउने प्रतीक्षा गर्नु नै निराकारको दैनिकी बन्न थाल्यो ।

उता अभ्यस्त पनि कम्ती तड्पिएन । उसले जनावर भन्ने प्रत्यक्ष देखिसकेपछि सृष्टिको निरन्तरताको निम्ति सहयोगीका रूपमा त्यसलाई विश्वास त गरिहालेन, तर आफ्नो जीवनकालको सबैभन्दा ठूलो घटनाका रूपमा भने यसलाई लियो । त्यो जीवलाई आफ्नो घरमा आफ्नै संरक्षणमा राख्न पाए कति आनन्दित होइन्थ्यो भन्ने कुराले उसलाई रोमाञ्चित तुल्याइरहेको थियो ।

जनावरसँग भेटको आशामा निराकार र अभ्यस्तले अनेकौँ दिन गुजारे । फेरि कतै देखिन्छ कि भनी उनीहरूले वरिपरिको कुना–कुना चहारे । महिना बित्दा पनि त्यस जनावरलाई फेरि देख्ने मौका उनीहरूले पाएनन् । यस घटनाले अभ्यस्तलाई भन्दा पनि निराकारलाई दुःखी तुल्याएको थियो ।

अभ्यस्तलाई निद्रा पर्नेबित्तिकै उनी हरेक रात घरबाहिर निस्किन्थिन् बहारीका रूपमा कल्पना गरिएको जनावरको बाटो हेर्न ।

एक दिन अचानक त्यो जनावर घरको आँगनमा देखापऱ्यो । सास रोकेर निराकारले त्यसलाई हेरिन् । जनावरले पनि आँगनमा उभिएर घरतिर हेरिरह्यो । झुप्रे घरको पिँढीको एउटा कुनामा निष्प्राणझैँ गुंडुल्किएर बसेकी निराकार जनावर भड्केला भनी निकै सचेत थिइन् । उनले बडो होसियारीसाथ त्यसलाई हेरिमात्र रहिन् ।

करिब आधा घन्टापछि त्यसले मुख मोड्यो र जङ्गलको बाटो सोझ्यायो । निराकार पनि घरभित्र पसिन् र भावी बुहारीको कल्पना गर्दै सुतिन् । उनले यो घटना अभ्यस्तलाई बताइनन् । बरू उनी कतिबेला रात पर्ला र फेरि कल्पनाको भावी बुहारीलाई देख्न पाइएला भनी हतार गर्न थालिन् ।

दोस्रो रात सदाझैँ तर निकै उत्साहका साथ उनी बाहिर निस्किन् । एकै घन्टाजतिको प्रतीक्षापछि जनावर आँगनमा देखापऱ्यो । एकैछिन यताउता टहलिए जस्तो ग¥यो र बीचआँगनमा उभिएर हिजोजस्तै घरतिर एकोहोरो हेरिरह्यो त्यसले । केहीबेरको यो क्रियापछि अघिल्लो दिनको झैँ त्यो फरक्क फर्कियो र जङ्गलको बाटो समात्यो । निराकार निकै खुसी भइन् ।

‘यसरी नै हरेक रात त्यो आइदिए हुन्थ्यो नि’, खुसीले दङ्ग परेकी निराकारको ओठबाट वाक्य फुस्कियो । भित्र सुतिरहेको अभ्यस्त निद्रामुक्त भएको समय परेछ । उसले आमाको आवाज भित्रसम्म सुन्यो र ‘के भयो आमा’ भन्दै बाहिर निस्कियो । सुत्नका लागि ओछ्यानतर्फ जान लागेकी निराकारले सम्हालिँदै भनिन्, ‘केही होइन छोरा ।’

‘हरेक रात त्यो आइदिए हुन्थ्यो नि’ भन्नुभएको मैले सुनिसकेको छु, यो के भन्नुभएको हो आमा, मलाई छल्ने कोसिस नगर्नुहोस् ।’

वास्तवमा छोरासँग लुकाउनुपर्ने कारण पनि थिएन । निराकारले दुवै रातका घटना अभ्यस्तलाई सुनाइन्, ऊ पनि निकै रोमाञ्चित भयो । भोलिपल्टदेखि झोपडीको भित्रपट्टिबाट दुवैले आँगनमा चियाउने सहमतिका साथ दुवै आ–आफ्ना ओछ्यानतिर लागे ।

भोलिपल्टको दिन बित्न महिनौँ लागेझैँ भयो उनीहरूलाई । रातिको भोजन सकिनेबित्तिकै उनीहरू झोपडीभित्रको एउटा कुनामा बसेर बाहिर आँगनमा चियाउन थाले ।

आधा घन्टा पनि प्रतीक्षा नगर्दै त्यो जनावर टुप्लुक्क देखापऱ्यो । आँगनमा यताउता गरेर केहीबेर बिताएपछि झोपडीको पिँढीतिर आयो त्यो । रात नै त्यहीँ बिताउने हो कि भनेझैँ गरी पिँढीमा निर्धक्क बस्यो, अभ्यस्त र निराकार सास रोकेर त्यसलाई हेर्न थाले । परेला झिम्कँदा कुनै आवाज आउला र फेरि त्यो तर्सेला भन्ने त्रास उनीहरूमा थियो । त्यस रात जनावरले घन्टौँ त्यहाँ बितायो र बिहानी हुनु केहीअघि मात्र झोपडी छोड्यो । अभ्यस्त र निराकारमा खुसीको सीमा रहेन, उनीहरूले साक्षात् परमेश्वरले आफ्नो घरमा आश्रय लिएको महसुस गरे ।

रातभर जाग्राम बसेको हुँदा आज बिहान उनीहरू अलिक ढिला उठे । नित्यकर्मपछि खानपिनको व्यवस्था गरेर घरअगाडिको रूखको फेदमा स्याउला ओछ्याएर दुवैजना बसे । संवादको थालनी गर्दै अभ्यस्तले भन्यो, ‘आमा अब के गर्ने ?’

‘म पनि त्यही सोच्दै छु छोरा’, निराकारले प्रश्नमा सहमति जनाइन् ।

‘त्यो जनावरलाई हाम्रो वशमा पार्ने केही उपाय गरौँ न आमा ।’

‘हुन्छ, तर कसरी ?’

‘हुन्छ मात्र भन्नुहोस् न उपाय त निस्किहाल्छ नि ।’

‘हुन त अवश्य हुन्छ बाबु, तर त्यसको पनि जोडी होला, दुई वटैलाई एकैपटक वशमा पार्ने व्यवस्था गर्नु उचित होला ।’

‘होइन आमा, हामीले यसलाई जतिपटक देख्यौँ, एक्लै देख्यौँ । त्यसैले यो एक्लै नै बाँचिरहेको पनि हुन सक्छ ।’

अभ्यस्तको अनुमान सही जस्तो लाग्यो निराकारलाई । उनले छोराको अनुमानमा सहमति जनाउँदै भनिन्, ‘ठीक छ बाबु, अब त्यसलाई पक्रने योजना बनाऊँ ।’

‘कसरी ?’ अभ्यस्तले जिज्ञासा पोख्यो ।

‘जङ्गलमा भएका लहरा र ठुल्ठूला पातहरू सङ्ग्रह गरौँ, त्यसबाट यो आँगनभरिको जाल बनाऊँ र घरभित्रै बसेर दुई जनाले दुईतिरबाट तान्दा त्यो स्वतः कब्जामा पर्ने व्यवस्था मिलाऊँ’, निराकारले आफ्नो योजना बताइन् । अभ्यस्तले सहर्ष त्यस योजनालाई स्वीकार ग¥यो । त्यस दिनदेखि उनीहरूको दैनिकी जङ्गलको लहरा र ठुल्ठूला पातहरू सङ्ग्रह गर्नु हुन थाल्यो । दिनभरि लहरा र पात सङ्ग्रह गर्ने, अनि रातभरि जनावरको प्रतीक्षा गर्नु नै उनीहरूको चर्या बन्यो ।

चार दिनपछि उनीहरूले जाल बुन्ने कार्य सुरू गरे । सुरूवालका इँजारजस्तो सबैतिर डोरी घुसाउन मिल्ने गरी जाल तयार भयो । सात दिनमा यस प्रकारको जाल बनेपछि आठौँ दिन आगनमा त्यसलाई उनीहरूले ओछ्याए । लामो लहरालाई जालको छेउबाट इँजारझैँ घुसाए र लहराको एउटा छेउ निराकार र अर्को छेउ अभ्यस्तले समातेर घरभित्र बसी उनीहरूले त्यसको परीक्षण गरे ।

परीक्षण सफल भयो । सोही रात जाल थाप्ने निर्णय उनीहरूले गरे । जालमाथि हल्का माटो र झारपात छरेर आँगनको पूर्ववतः रूप देखाउने कोसिस भयो ।

साँझ हुनुअगावै रातिको खाना खाएर उनीहरू जालको डोरी हातमा लिई झोपडीभित्र बसे । रात छिप्पिँदै गयो, मध्यरात पार हुनै लाग्दा बतास चल्यो, आकाश गर्जियो, पानीका ठुल्ठूला थोपाहरू खस्न थाले, जनावर आएन । उज्यालो भयो, हातैमा लगाम लिएर उनीहरू बसेकै स्थानमा निदाएछन् ।

ब्युँझिँदा झलमल्ल घाम लागिरहेको थियो । दुवैको मुहार मलीन थियो । अज्ञात भयले उनीहरू त्रस्त थिए ।

अब फेरि त्यो जनावर कहिल्यै नआउने हो कि भनी उनीहरू चिन्तित भए । भोलिपल्ट पनि साँझ पर्नुअगावै अघिल्लो रातमा झैँ लगाम समाएर बसे उनीहरू ।

आज मध्यरात हुनुअघि नै जनावर आँगनमा देखापऱ्यो । उसका पाइलाहरूले अलिक भिन्न महसुस गऱ्यो या के हो, त्यसले भुइँतिर घोप्टिएर सुँ–सुँ गर्दै सुँघेझैँ गर्न थाल्यो । यसलाई उनीहरूले सुनौलो अवसर ठाने । दुवैले ढोकाको दुई पाटो पछाडिपट्टिको भित्तालाई आड बनाएर डोरी ताने । जाल चुमुर्किएर थैलीझैँ भएको थाहा पाउँदा त्यो बिचरो भित्रपट्टि कैदमा परिसकेको थियो । अभ्यस्त र निराकारको खुसीको सीमा रहेन । उनीहरूले कैदमा परेको त्यस जनावरलाई तुरून्त आफ्नो कब्जामा लिएर घरभित्र लगी बलियोसँग ढोका थुने । जाल बिस्तारै खुकुलो गरी उनीहरूले जनावरको घाँटीमा बलियो डोरी तर खुकुलोसँग बाँधे । उम्कनका लागि केहीबेर जोडदार कोसिस गरे पनि एकैछिनपछि चुपचाप बसिरहेको जनावरको चार गोडामध्ये दुई–दुईवटालाई बाँधेर त्यसलाई उनीहरूले जालमुक्त गरे । त्यो रात उनीहरू सुतेनन् । बडो रोमाञ्चित हुँदै उनीहरूले बिहानीको प्रतीक्षा गरे ।

लामो धैर्यपश्चात् सूर्यले पहाडको क्षितिजतिर किरण तेर्स्याउन थाल्यो । उनीहरूले त्यो जनावरलाई बोकेर बाहिर उज्यालोमा ल्याए । छर्लङ्ग उज्यालोमा त्यसलाई राखेर धित मरूञ्जेल हेरे । शरीरको अङ्ग–अङ्गमा ध्यान दिएर हेरिरहेकी निराकार भने फेरि एकपटक निराश भइन् । त्यो जनावरमा स्त्रीलिङ्गको कुनै चिनो थिएन न पुलिङ्गको नै । प्राकृतिक क्रियाको निम्ति एउटा सानो द्वारसिवाय त्योसँग अरू कुनै अङ्ग थिएन । यो प्राणी जे भए पनि एउटा नपुङ्सक हो भनी बुझ्न निराकारलाई क्षणभर लागेन । यसरी निराकारको ‘बुहारी’ प्राप्त गर्ने कैयन दिनदेखिको सपना चकनाचुर भयो । तर अभ्यस्त भने एउटा नयाँ साथी भेटिएकोमा दङ्ग पऱ्यो । निराकार निराश भइन् उनको मनमा उदाएको एउटा उज्यालो मध्याह्न नहुँदै अस्तायो । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
मानव समाजको जग पुनः बसाउने आशा