विख्यात गायक एसपी बालासुब्रमण्यमको निधन

विख्यात गायक एसपी बालासुब्रमण्यमको निधन


दक्षिण भारतीय र हिन्दी फिल्मका प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालसुब्रमण्यम कोरोना भाइरसबाट संक्रमित थिए । लामो समयदेखि संक्रमणसँग जुधिरहेका लोकप्रिय गायक बालासुब्रमण्यमले अन्ततः चेन्नईको अस्पतालमा अन्तिम सास फेरे ।

बालासुब्रमण्यमलाई ‘सलमान खान’को आवाज भनेर पनि चिन्ने गरिन्छ । हिन्दी फिल्ममा सलमानको प्रवेशसँगै खानका साथ बालासुब्रमण्यमको लोकप्रियता पनि निकै बढेर गएको थियो ।

‘मैंने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कौन’ जस्ता सलमानका सुपरहिट फिल्ममा बालासुब्रमण्यमको आवाजले सुनमा सुगन्धको काम गरेको थियो ।

दक्षिण भारतमा विशेष पहिचान बनाएका एसपी बालासुब्रामण्यमले सन् १९६६ देखि फिल्मी गायन शुरु गरे पनि हिन्दी फिल्ममा उनको प्रवेश भने सन् १९८१ मा रिलिज भएको फिल्म ‘एक दूजे के लिए’बाट भएको थियो । अभिनेता कमल हसनको लागि ‘एक दूजे के लिए’मा गीत गाएका उनलाई उक्त फिल्मबाट राष्ट्रिय पुरस्कार हासिल भएको थियो ।

साठीकै दशकदेखि गीत गाउन शुरु गरेका उनले ७४ वर्ष उमेरसम्म लगातार सक्रियता देखाए । लगभग ४० हजार गीत गाएका बालासुब्रामण्यमले सबभन्दा धेरै गीत गाउने गायकको रुपमा गिनिज बुकमा नाम दर्ज गराएका छन् ।